ad ad

राजनीति


राष्ट्रको रक्षा गर्न नागरिकको साथ अपरिहार्य: रक्षामन्त्री पोखरेल

राष्ट्रको रक्षा गर्न नागरिकको साथ अपरिहार्य: रक्षामन्त्री पोखरेल

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १०:७,

 उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताएका छन्।

बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्र रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताए।

उनले राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्ने जनाए। त्यसका लागि अनुसन्धानमा आधरित लेखहरुले एकीकृत दृष्टिकोण बनाउन ठूलो मद्दत पु¥याउने उनले बताए। राज्य शक्तिका सबै संयन्त्रहरु एकीकृत भई परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौती रहने उनले बताए।

सबै चुनौतीहरुको पहिचान गरी उपयुक्त रणनीति तयार गर्न अनुसन्धानात्मक प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युनिटी जर्नल पनि राष्ट्रिय सुरक्षाको विषयमा महत्वपूर्ण रहने बताए।

राष्ट्रिय सुरक्षाका चुनौती र राष्ट्रिय एकताका अवसरहरु पहिचान गरी नेपालको भू—राजनीति र भू—रणनीतिका विभिन्न पक्षहरुको अनुसन्धान र अध्ययनको आवश्यकता रहेको उनले जनाए।

राष्ट्रिय सुरक्षाका विषयमा योग्य जनशक्ति निर्माण गर्ने उद्देश्यले सरकारले नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाको कामलाई अगाडि बढाएको उनले जनाए। कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने र त्यसको आधार निर्माणमा जोड दिए। राष्ट्रिय एकताको महत्व स्थापित गर्न युनिटी जर्नल कोषेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे।

प्रधान सेनापति थापाले भू—राजनीति र भू—रणनैतिक अवस्थितिले राष्ट्रको सुरक्षामा प्रत्यक्ष प्रभाव परेको बताए। उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा विकास हुँदै गएको परिस्थितिले नेपालको भूराजनीतिक र रणनीतिक महत्व पनि बढ्दै गएको उल्लेख गरे। उनले युनिटी जर्नल सबै नेपालीमा राष्ट्रिय एकताको सोच र विचार विकास गर्नका लागि र राष्ट्रिय सुरक्षाको रणनीतिक विकासका लागि सहयोगी हुने विश्वास समेत व्यक्त गरे।

नेपाली सेनाले सेना दिवसको अवशरमा राष्ट्रिय सुरक्षा र एकतासम्बन्धि विषयहरु समावेश गरी युनिटी जर्नल प्रकाशन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .