ad ad

समाज


पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलन : ‘झ्यालबाट छिर्ने अनि करार माग्ने ?’

पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलन : ‘झ्यालबाट छिर्ने अनि करार माग्ने ?’

वाशुदेव मिश्र
माघ २०, २०७६ सोमबार ८:२१,

२०७० सालतिर पृथ्वीनारायण क्याम्पसका म्यानेजमेण्टतर्फका सहायक क्याम्पस प्रमुखले थप प्राध्यापकको माग गरे। सेक्सनहरु थपिएपछि शिक्षक माग्नु नाजायज थिएन। तर एक जना प्राध्यापक ‘ज्यालादारी(श्रेणीविहीन)’मा राख्ने भनिएकोमा १६ जना भर्ना गरियो।

विभिन्न राजनीतिक पार्टीको सिफारिस, सहायक क्याम्पस प्रमुख र विद्यार्थी संगठनहरुको सहमतिमा उनीहरु देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको प्राध्यापक बने। उनीहरुको ‘फुली’ बढ्यो। पृथ्वीनारायण क्याम्पसमा पढाउने प्राध्यापक भएको भन्दै उनीहरुले अन्य प्राइभेट कलेजहरुमा जाँदा आफ्नो भाउ बढाउन पाए। अर्को एक दुई जना प्राध्यापक मागिएकोमा ८ जना भर्ना गरियो। किनकि, छैठौँ नम्बरमा नाम निकाल्ने क्याम्पसकी हर्ताकर्ताकी बुहारी थिइन्।

ज्यालादारी शिक्षकले लान्छन् वार्षिक ४ कराेड
यी त उदाहरण मात्रै हुन्, आवश्यकताभन्दा पनि भागबण्डामा यसरी ज्यालादारीमा राखिएका शिक्षकहरुलाई क्याम्पसले वार्षिक झण्डै ४ करोड रुपैयाँ तिर्छ। उनीहरुले एक पिरियड पढाएबापत ३ सय रुपैयाँ पाउँछन्। क्याम्पसमा अहिले २ सय १८ जना श्रेणीविहीन प्राध्यापक छन्। उनीहरु यतिबेला आफ्नो श्रमशोषण भएको भन्दै आन्दोलन गरिरहेका छन्।

उनीहरुको आन्दोलनकै कारण क्याम्पसको पठनपाठन ठप्प छ। क्याम्पसमा करारसहितका ३ सय २० जना स्थायी प्राध्यापक छन्। नियमानुसार प्राध्यापकहरुले स्नातकको हप्तामा १५ र स्नातकोत्तरको हप्तामा १२ वटा कक्षा लिनुपर्छ।

तर, पृथ्वीनारायण क्याम्पस स्रोत भन्छ,‘आफूमाथि भारबहनको त कुरै छाडौँ, नेता प्राध्यापकहरु त एउटा कक्षा पनि लिँदैनन्, उनीहरु विभिन्न बहानामा बाहिरै बस्छन्।’ अझ कतिसम्म भने आफ्नो मान्छेलाई आंशिकमा कक्षा दिनकै लागि पनि उनीहरु विभिन्न बहाना बनाउँछन्।

‘क्याम्पसको दिउँसो कक्षामा लोड राख्ने घाम ताप्नेहरु गनिसाध्य छैन’, स्रोतले भन्यो, ‘डेमा बीए र बीबीएसको तेस्रो र चौथो वर्षको क्लास खासै चल्दैनन्। ग्रामीण विकास, आमसञ्चार,बीबीए र विएमा केही टिचर चाहिने हो। तर भएकाले नै लोड लिने हो भने केही चाहिँदैन।’

क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा. गेहेन्द्रेश्वर कोइराला पनि यो भनाइमा सहमत छन्। उनका अनुसार क्याम्पसमा पहिले आइए, बीएको मात्रै क्लास हुन्थ्यो। कमर्स आएकै थिएन। त्यो बेलाको पढाइ त्यस्तै हुँदा मानविकीका प्राध्यापक बढी थिए। ७५ प्रतिशतसम्म दरबन्दी मानविकीको नै हुन्थ्यो। अहिले मानविकीमा विद्यार्थी घटेका छन्। कल्चरमा घट्यो। मानविकीका विद्यार्थी अन्यत्र गए। मानविकीमा दरबन्दी भएकाहरु दिउँसोको दरबन्दीबाट टसमस हुन मानेनन्।

‘१४ वर्षसम्म मानविकीको क्लास नै भएन, टिचरको दरबन्दी दिउँसो नै थियो’, उनले भने, ‘त्यही दरबन्दी बिहान प्रयोग गर्न सकिन्थ्यो। रिभ्यु नै गरिएन।’

उनले आंशिक शिक्षक राख्नु नै नीतिगत रुपले भयंकर गलत भएको जिकिर गरे। उनका अनुसार त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयहरुको क्लास स्वीकृत गर्दा नै ‘आर्थिक दायित्व नलिने गरी स्वीकृत गरिएको छ’ भन्ने वाक्यांश राखेर आफू दायित्वबाट पर भागेको जिकिर गरे।

‘पृथ्वीनारायण क्याम्पस आंगिक क्याम्पस हैन र ?’, उनले प्रश्न गरे,‘कुनै पनि कुराको गैरजिम्मेवार कुरो गर्न पाइँदैन। यसमा टीयू र आंशिक प्राध्यापकको पनि गल्ती हो।’ उनका अनुसार आंशिक प्राध्यापकहरुलाई आंशिककै रुपमा नियुक्ति दिएको हो।

उनीहरुले हस्ताक्षर नै त्यही कामको लागि भनेर गरेका छन्। आंशिकमा आएकाले नैतिक रुपमा मलाई करार बनाऊ भन्दै बोल्ने ठाउँ छैन। ‘तर, त्यसरी व्याख्या गर्नुहुँदैन। उसको क्याम्पस छिरेपछि केही पाइएला भन्ने आश हो। उसको विवशता होला’, उनले भने,‘कमजोरीको फाइदा कसैले लिनुहुँदैन। आफूले काममा लगाएका शिक्षकको भलाइको कुरा गरिएन।’ टीयूले नै आंशिक शिक्षकहरु लिएर कलेज चलाउँछु भन्नु नै गलत भएको उनले जिकिर गरे।

पुराना कुरा सम्झँदै उनले भने, ‘पीचएडी गर्न जाँदा अर्को मान्छेको व्यवस्था गरेर पीएचडी गर्न पठाइन्थ्यो। अहिले आफ्ना मान्छे भयो भने जे भयो भयाे भन्ने कुरो आयो। आफ्नो मान्छे आएपछि जसरी पनि भर्ना गरिनु गलत हो।’

अहिले क्याम्पसमा झण्डै १० हजार विद्यार्थी पढ्दै छन्। कलेजले विभिन्न १९ वटा विषयमा डिग्रीको क्लास चलाउँछ। तर, स्रोत भन्छ,‘जस्केलाबाट छिरेकाहरुको आन्दोलन व्यवस्थापन पनि नगर्ने अनि आफूसँग भएका प्राध्यापकहरुले जिम्मेवारी पूरा नगर्दा कारबाही पनि गर्न नसकी रुञ्चे स्वरले कुरा गर्दा नै समस्या बल्झिएको हो।’

दोष विश्वविद्यालयको पनि
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बेलाबेलामा प्राध्यापकहरु माग गर्छ। केही समयअघिसम्म विश्वविद्यालयले कयौँ वर्षसम्म पनि प्राध्यापकको माग नै गरेन। नियमानुसार प्रत्येक ६–६ महिनामा आयोगले शिक्षक माग गर्नुपर्छ। तर, बेथितिले गाँजेको विश्वविद्यालय त्यो आवश्यकता महशुस गरेन। ३–४ वर्षमा मात्रै विज्ञापन निकाल्दा धेरै प्राध्यापकहरुले सेवा आयोग जानै पाएनन्। पछिल्लो समय भने केही सुधार भएको छ। वर्षको एकपटकजसो विश्वविद्यालयले विज्ञापन निकाल्न थालेको छ ।

‘प्राध्यापक हुन लोकसेवा उत्तीर्ण हुनैपर्छ। तर, आयोग नै नखुल्दा प्राध्यापक हुनेहरुले लोकसेवा लड्नै पाएनन्। विश्वविद्यालयले कति प्राध्यापक आवश्यक छन् भन्ने नहेरेर सीमित सिटमा मात्रै विज्ञापन निकाल्नाले पनि धेरैको प्राध्यापक हुने रहर पूरा भएन।

‘टीयूको विज्ञापन अलि ढिला हुन्छ र आवश्यकता नहेरेर थोरै मात्र मान्छे मागिन्छ’, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्दबहादुर थापाले भने,‘हिजो दुई वर्षको कोर्ष थियो, अहिले ४ वर्षे भएको छ तर पनि उस्तै छ।’ अर्कोतर्फ, विश्वविद्यालयले आंशिक र करारमा रहेकाहरुले मात्रै परीक्षा दिन पाउने गरी पनि विज्ञापन निकाल्यो। कानुनतः विज्ञापन निकाल्दा एउटा वर्गको मात्रै हित हेर्न मिल्दैन। तर, गरियो। सर्वोच्च अदालतमा यो विषयलाई लिएर मुद्दा नै पर्यो। तरै पनि जस्केलाबाट प्राध्यापक बनाउन छाडिएन।

अहिले आंशिकमा झुण्डिएका कतिले प्राध्यापक बन्न परीक्षा दिए थाहा छैन। परीक्षा दिएर आफूलाई अब्बल सावित गर्नसके उनीहरु स्थायी नै बन्थे। तर, उनीहरु अहिले पनि ज्यालादारीमा पढाउँछन्।

‘अहिले आंशिक रहेकाहरुले कि त अवसर नपाएको भन्नुपर्यो, हैन भने परीक्षा उत्तीर्ण हुन नसकेर आंशिकमा झुण्डिएको पनि स्वीकार्न पर्यो नि’, क्याम्पस प्रशासनका एक कर्मचारीले भने, ‘आफूलाई अब्बल सावित गर्नेहरु सबै स्थायी नै भएका छन्।’ उनले खुल्ला परीक्षा हुने हो र अहिले भएका प्राध्यापकहरुलाई पनि परीक्षा दिन लगाउने हो भने यीमध्ये कति पास होलान ? भन्ने प्रश्न पनि गरे ।

क्याम्पस प्रशासनले यो समस्या समाधानको लागि विश्वविद्यालय गुहारेको छ। समस्याबारे बुझ्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको प्रतिनिधित्व गर्दै ३ सदस्यीय टोली पोखरा आएको छ। विश्वविद्यालयबाट आएका ओम बराल, कृष्ण आचार्य र बाबुराम दाहालले समस्या के हो भन्नेबारे सबै विभागीय प्रमुखहरुसँग बुझेका छन्।

क्याम्पस प्रमुख थापाका अनुसार तत्काल के गर्न सकिन्छ, पछि के गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ। विश्वविद्यालयले यो समस्या समाधान गर्न छुट्टै टास्कफोर्स बनाउने तयारी पनि थालेको छ। तर, समस्याको जरो बुझ्न आएको प्रतिनिधिमण्डसँग आन्दोलनरत आंशिक प्राध्यापकले भने वार्तामा बस्न अस्वीकार गरेका छन्। कार्यदलको कामप्रति असन्तुष्टि जनाउँदै वार्तामा नबस्ने अडान लिएको आशिंक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .