ad ad

राजनीति


संसदलाई प्रभावकारी बनाउन नेम्वाङको नेतृत्वमा ‘सुझाव समिति’ गठन

संसदलाई प्रभावकारी बनाउन नेम्वाङको नेतृत्वमा ‘सुझाव समिति’ गठन

नेपालखबर
साउन २०, २०७६ सोमबार ९:३४,

संसदलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठनसँगै लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसदको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ। 

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि असार २४ गते देखि अवरुद्ध संसद सञ्चालनको बाटो खुलेको हो। छलफलमा संसदमा फेरि पनि यस्तै गतिरोध देखा नपरोस् भनी सुझाव दिनका लागि ७ सदस्यीय अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति भए अनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमाली २०७५ को नियम १ सय ७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहने सदस्यहरुको नामाबली पढेर सुनाएका थिए।

नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङको संयोजकत्वमा गठित समितिमा नेकपाका तर्फबाट देव गुरुङ्ग र विन्दा पाण्डे, नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम, मिनेन्द्र प्रसाद रिजाल, राजपाबाट लक्षमणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य छन्। समितिले सभामुखको निर्देशनमा रही काम गर्ने छ। समितिलाई १ महिनाको समय दिईएको छ।

यसअघि बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दा उठाएका मानवअधिकार र लोकतन्त्र संग जोडिएका विषयवस्तु सम्बोधन गर्नका लागि संसदबाटै सम्बोधन गरेर जनताले सुन्न पाउने व्यवस्था मिलाउन सभामुखको प्रभावकारी नेतृत्व र भुमिकाको अपेक्षा आफुहरुले गरेको बताइन्।

उनले कांग्रेस कुनै पनि हत्या हिंसाको पक्षमा नरहेको र शान्तिपुर्ण रुपमा समाधान खोज्नुपर्छ भन्नेमा दृढ रहेको र लोकतन्त्रका आधारभुत मुल्य मान्यता र मानवअधिकार, विधिको शासन, शुसासनको विषयमा वकालत गर्न आफ्ना दृष्टिकोण राख्दै आएको स्मरण गराउदै विधिको शासन र मानवअधिकारको रक्षाका लागि सरकारलाई जिम्मेवार बनाउने सवालमा सभामुखको प्रभावकारी भुमिका खेल्नेमा आफुहरु विश्वस्त रहेको बताइन्।

राजपाका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवादको सुरुवात भएको भन्दै सभामुखको पहल कदमीको प्रशंसा गरे। गिशिचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक र सर्लाहीका घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्दै आफुहरुले संसद अवरुद्ध गर्दै आएको उल्लेख गर्दे उनले सभामुखको पहलकदमीबाट सार्थक निष्कर्षमा पुग्ने काम भएकोमा सबै प्रति आभार व्यक्त गरे।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव प्रकाश गुरुङ्गले संसदको गतिरोध अन्त्य गर्दे सुझाव समिति गठन गर्ने विषयमा भएको सहमतिको स्वागत गरे। उनले छलफल मार्फत समस्याको समाधानमा पुग्ने सन्र्दभमा भएको सहमति सकारात्मक पक्ष भएको धारणा राखे।

यस अघि साउन १६ गते विहिबारको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको थियो। संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आव्हान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि थप छलफल आवश्यक रहेको भन्दै बैठक ४ दिन पछाडि सारिएको थियो। आज सोमबार ११ बजेका लागि बोलाईएको बैठकपनि सर्वदलीय छलफल चलिरहेको भन्दै सुचना टाँसेर १ बजे सम्मका लागि स्थगित गरिएको थियो। यसबीचमा सभामुखले संसदीय दलका उपनेता तथा प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।

सर्लाहीमा प्रहरीकाे गाेली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेता कुमार पाैडेल प्रकरणमा स‌सदीय छानबिन समिति बनाउने अडानबाट प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पछि हटेकाे छ। सर्लाहीमै आफ्ना कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनकाे माग गर्दै आएकाे राजपाले पनि साे हडान छाेडेकाे छ।

स‌ंसदीय छानबिन समिति गठनकाे माग गर्दै लामाे समयदेखि संसद अवरुद्ध गर्दै आएका यी दुई दल संसद बैठक प्रभावकारी बनाउन सुझाव समिति गठन गर्ने सर्वदलीय निर्णयसँगै संसदकाे अवराेध खाेल्न सहमत भएका छन्। संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका थिए।

लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएको थियो। त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .