ad ad

समाज


वृद्धभत्ता वितरण गर्दै सामुदायिक वन

वृद्धभत्ता वितरण गर्दै सामुदायिक वन

नेपालखबर
साउन २०, २०७६ सोमबार ९:८,

चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ। सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो।

वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप मासिक रु २०० उपलब्ध गराउँदै आएको सो सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले बताए। विसं २०६७ देखि नै यहाँका ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप वनले सो रकम उपलब्ध गराउँदै आएको उनले बताए।

यसैगरी सो वनले एकल महिला र पुरुषलाई पनि मासिक रु २०० भत्ता रकम वितरण गर्दै आएको छ। अध्यक्ष मगरका अनुसार २०७५/७६ मा ३६ जना ज्येष्ठ नागरिक, एकल महिला र पुरुषलाई भत्ता रकम वितरण गरेको छ।

त्यस्तै रानीखोला सामुदायिक वन उपभोक्ता समितिले सुत्केरी भत्ता पनि उपलब्ध गराउँदै आएको छ। दुई बच्चा जन्माउनसम्मका लागि रु एक हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ। दुईभन्दा बढी बच्चा जन्माउनेलाई भने भत्ता दिने गरेको छैन।

समितिले समूहमा आवद्धको जीविकोपार्जनदेखि वन र वन्यजन्तु संरक्षणको काम पनि गरिरहेको छ। जिल्लाको वरण्डाभार क्षेत्रका वनमा साझा संस्थामा रहेको १७ वन समूहमध्ये रानीखोला सामुदायिक वन समूह पनि एक हो।

वन संरक्षणमा लागेवापत समितिलाई ४३ वटा भैँसी अनुदान प्राप्त भएको थियो। वरण्डाभार संरक्षित वन परिषद् कोषबाट प्राप्त भैँसी जीविकोपार्जनका लागि वन समूहका सदस्यलाई वितरण गरिएको अध्यक्ष मगरले बताए।

विसं २०५८ मा स्थापना भएको रानीखोला सामुदायिक वन उपभोक्ता समिति विसं २०६७ मा समुदायलाई हस्तान्तरण गरिएको हो। हाल समितिमा १५८ घरधुरी आवद्ध छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .