ad ad

राजनीति


भट्टराईको दस्तावेज : नेकपा उठ्नै नसक्ने गरी पतन हुन्छ

भट्टराईको दस्तावेज : नेकपा उठ्नै नसक्ने गरी पतन हुन्छ

सागर न्यौपाने
कात्तिक २८, २०७६ बिहिबार ९:१८,

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केही वर्षमा समाप्त हुने दाबी गरेका छन्। नेकपा विचारमा स्खलित भइसकेको बताउँदै उनले सो पार्टी फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाने दाबी गरे।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेकपा विपक्षी दल कांग्रेसकै कित्तामा रहेको उल्लेख गरेका छन्।

‘आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ। शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन,’ दस्तावेजमा उल्लेख छ, ‘नेकपा ‘कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण’को नाममा नेपाली कांग्रेसजस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको छ।’

संविधान जारी भएपछि तत्कालीन माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण गरेका भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग २०७६ वैशाख २१ गते एकता गरेर समाजवादी पार्टी गठन गरेका थिए। एकतापछि पहिलो पटक बिहीबारदेखि परिषद् बैठक बसिरहेको छ। मधेस आन्दोलन र ११ प्रदेशको संघीयता कार्यान्वयन गर्न नसक्नुमा नेकपा दोषी रहेको उनको दाबी छ।

‘संविधान जारी गर्दाका बखत कांग्रेससँग मिलेर मधेसी, जनजाति/आदिवासी, थारु, मुस्लिम, खस, शिल्पी/दलित, महिला आदि आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन उद्यत हुने, टीकापुर थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, १०+१ को मोडेलमा प्रदेश सीमाङ्कन हुन नदिने कार्यमा नेकपाको प्रत्यक्ष हात छ,’ प्रतिवेदनमा भनिएको छ।

कांग्रेसको विश्लेषण गर्दै डा.भट्टराईले उत्पीडित जनसमुदायको मुक्ति, पहिचान र अधिकारको विपक्षमा सो पार्टी रहेको बताएका छन्। संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो हात रहेको उनको जिकिर छ। कमल थापा नेतृत्वको राप्रपा ‘महेन्द्रीय राष्ट्रवाद’ बाट निर्देशित रहेको उनको भनाइ छ।

मसाल, नेकपा (वैद्य), नेकपा (विप्लव), नेमकिपा, माले शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त रहेको र तिनले सत्तारुढ नेकपाकै उपग्रही विचार बोकेको टिप्पणी डा.भट्टराईले गरेका छन्। विप्लवले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरेको उनको विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .