ad ad

समाज


पहिलो अप्रेसनमै खतरनाक अपराधीको इन्काउन्टर गरेका सागर बने ‘साहसिक प्रहरी’

पहिलो अप्रेसनमै खतरनाक अपराधीको इन्काउन्टर गरेका सागर बने ‘साहसिक प्रहरी’

उजिर कार्की
कात्तिक ४, २०७७ मंगलबार १४:१९,

त्यसबेला मधेसमा ज्वाला समूहको जगजगी थियो। पर्सामा ज्वाला समूहकै मोतीराम कालीचरणले दुई शिक्षकको हत्या गरेका थिए। कालीचरण धम्क्याएर स्थानीय व्यापारीबाट चन्दा असुल्थे। उनीहरु त्रसित थिए।

सागर शमशेर जबरा त्यसबेला प्रहरी सहायक निरीक्षक थिए। उनको भर्खर जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको थियो। पर्सामा उनले पहिलो अप्रेसनमै कालीचरणको इन्काउन्टर गरे।

govindabk

उनको हातबाट चलेको पहिलो गोली नै त्यही थियो। भूमिगत समूहका नाइके सागरको निसानामा परेपछि उनीमाथि पनि सुरक्षा खतरा हुन थाल्यो। उनी भूमिगत समूहबाट जोगिन बिहान अफिस गएकै बाटो घर फर्किंदैनथे। भोलिपल्ट अर्कै बाटो हिँड्थे।

त्यसयता धेरैजसो समय पर्सामै बिताएका र अनेकौँ अप्रेसनमा सहभागी भएका उनै प्रहरी अधिकृत सागर शमशेरलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यसपटक ‘साहसिक प्रहरी’ रुपमा पुरस्कृत गरेका छन्।

२०६३ साल साउन १ गते नेपाल प्रहरीको असईमा भर्ती भएका सागरको ११ महिने तालिमपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पोस्टिङ भयो। त्यहाँबाट कालिमाटी वृत्तमा पुगे। १० महिना वृत्तमा काम गरेपछि उनी गृहजिल्ला पर्सा सरुवा भए।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत हुँदा उनले अपराधीलाई तारो बनाए। जसका कारण उनी पनि अपराधीको तारो बने।

त्यसबेला पर्सा प्रहरी प्रमुख थिए राजेन्द्रमान श्रेष्ठ। उनीपछि आए एसपी रमेश खरेल। खरेलको खरो स्वभावका कारण प्रहरी झनै आक्रामक बन्यो। कालीचरणको मृत्युपछि अमन कुसवाह पक्राउ परे। कुसवाहलाई पक्राउ गर्दादेखि अदालतम पेस गरुन्जेल सागरले नै प्रकरण सम्हाले। थुनछेक बहसमा कुसवाहले प्रभु साहको नाम लिए। यो घटना निकै विवादित भयो तर सरकारी वकिल कार्यालयले साहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

सागरको २०६९ सालमा पर्साबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मासरुवा भयो। सीआईबीमा छँदा उनले प्राविधिक अनुसन्धान सिके। फिल्डमा अब्बल सागरले अनुसन्धानमा पनि निखारिने मौका पाए।

१५ महिना सीआईबीमा काम गरेपछि उनलाई अञ्चल प्रहरी कार्यालय बारा सरुवा गरियो। अञ्चल प्रहरी कार्यालयको प्रमुख थिए एसएसपी सर्वेन्द्र खनाल। सर्वेन्द्र खनालले पनि उनलाई मन पराउँथे। सर्वेन्द्रले उनलाई आफ्नै कार्यालयमा ताने।

त्यतिबेला सर्वत्र खोजीमा रहेका बब्लु दुबेलाई अञ्चल प्रहरीको टोलीले पक्राउ गर्‍यो। दुबेलाई पक्राउ गर्नका लागि सागर नै आएका थिए काठमाडौं। सीतापाइलामा माछा काट्दै गरेका दुबेलाई उनले त्यहीँ हतकडी लगाए। सागरले यताबाट दुबेलाई लिएर गए। सिस्नेरीसम्म सर्वेन्द्र खनाल आफैं आए।

अञ्चलबाट सर्वेन्द्रको सरुवा भएसँगै उनको पनि कार्यस्थल परिवर्तन भयो। पर्साको प्रहरी प्रमुखका रुपमा पुगे दिवेश लोहनी। लोहनीले उनलाई जिल्ला प्रहरी कार्यालय लगे।

त्यतिबेला पर्साका व्यापारीलाई २५ लाखका दरले भारतीय अपराधीले चन्दा मागिरहेका थिए। प्रहरीले फोन लोकेसन हेर्‍यो। अपराधीको लोकेसन भारतको कारागारमा देखिन्थ्यो। लोहनीको पालामा पर्सामा केही भारतीय गुण्डा इन्काउन्टरमा मारिए। त्यसपछि पर्साका व्यापारीमाथिको धम्की बन्द भयो। लोहनीले त्यसै वर्ष पूर्ण शान्ति पुरस्कार पाए।

उनको दरबन्दी मकवानपुरको रातमाटे गणमा भएपनि उनी पर्सामा कार्यरत थिए। लोहनीको सरुवापछि सागरले पनि पर्सा छाडे। त्यसपछि एसपी राजुबाबु श्रेष्ठ पर्सा पुगे।

तत्कालीन डीआईजी देवेन्द्रराज सुवेदीले फोन गरेरै उनलाई पर्सा पठाए। त्यतिबेला पर्सामा व्यापारी सुरेश केडिया अपहरणमा परे। दिलसाद भन्ने अपहरणकारी दोहोरो मुठभेडमा मारिए।

राजुबाबु श्रेष्ठकै कार्यकालमा पर्सामा हुण्डीका ठूला कारोबारीमाथि कारबाही भयो। रअको एजेन्ट भन्दै एक करोड माग्ने व्यक्ति पनि पक्राउ परे।

त्यसपछि बाराको जीतपुर हुँदै विशेष ब्युरोमा सरुवा भएका सागरले त्यहाँ वर्तमान एआईजी हरि पालसँग काम गरे। पाल डीआईजी थिए। डीआईजी पाल प्रदेश २ को प्रहरी प्रमुख भएर जनकपुर पुगे। सागरको पनि उहीँ सरुवा भयो।

जनकपुर प्रदेश प्रहरी कार्यालयमा हुँदा सप्तरीमा हवल्दारको गोली हानि हत्या गर्ने व्यक्तिमाथि उनको टोलीले कारबाही गर्‍यो।

सप्तरीको रुपनीमा उनीहरु चेकिङमा थिए। त्यस क्रममा प्रहरीका हत्याराले फाइरिङ गरे। हवल्दारको हत्यामा संलग्न दीपेन्द्र चौधरी त्यहाँ मारिए।

यी बाहेक थुप्रै हत्या, अपहरणका अभियुक्त सागरको फन्दामा परेका छन्।

प्रहरी सेवा उनको रहरको विषय थियो। पढाइमा त्यति राम्रो गर्न सकेनन्। बुबाले पनि प्रहरी बन्न हौसला दिए। पहिलो पटकमै प्रहरी सहायक निरीक्षकमा भर्ती भए सागर।

प्रहरी सेवाका १४ वर्षमा उनीसँग खासै गुनासा छैनन्। बरु घुस खान्छन् भन्ने आरोप सुन्दा उनको मन अमिलो हुन्छ। उनी आफैँले घुस दिन आएकालाई दुई पटक अख्तियारको जिम्मा लगाएका छन्।

‘संगठनले पहिलो पटक पुरस्कृत गर्‍यो,’ उनी भन्छन्, ‘तर मलाई सेवाग्राहीले पटक पटक पुरस्कृत गरेका छन्। मैले अपराधीलाई कारबाही गरेपछि भेट्न आउने पीडितका शब्दभन्दा ठूलो पुरस्कार के हुन्छ र!’

२०७१ मा सईमा बढुवा भएका सागरको धेरैजसो कार्यकाल तराई त्यसमा पनि बारा, पर्सामै बितेको छ।

‘तराईका प्रहरीलाई हेर्ने नजर राम्रो छैन। त्यसलाई बदल्न सबैले मेहनत गर्न आवश्यक छ,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .