ad ad

समाज


‘पूजाका लागि’ भन्दै उचाइ नापेर भारत लैजाँदै गरिएका दुई युवतीको यसरी भयो उद्धार

‘पूजाका लागि’ भन्दै उचाइ नापेर भारत लैजाँदै गरिएका दुई युवतीको यसरी भयो उद्धार

उजिर कार्की
असोज १५, २०७७ बिहिबार १७:५,

रोजगारीको बहानामा नेपाली युवा भारततर्फ लैजाने घटना नौला हैनन्। दिनदिनै हजारौंको संख्यामा भारतमै काम गर्न जानु वा भारत हुँदै तेस्रो मुलुक जानुलाई सामान्य नै मानिन्छ।

तर पछिल्ला दुई घटनाले भने नयाँ आशंका जन्माएको छ। भारतीय बाबाजीले नेपाली युवती किन लैजान्छन्। बुधबार सुनसरी प्रहरीले यसरी युवती लैजाँदै गर्दा सिमानामा दुई जनालाई पक्राउ गर्‍यो।

उनीहरुले दुई जना नेपाली युवती भारततर्फ लैजाँदै थिए। सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले उद्धार गरेको छ।

सप्तरीको कृष्ण सवरन गाउँपालिका ४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिराहको लाहान नगरपालिका १९ कटाहका २९ वर्षीय जिवछकुमार साह पक्राउ परेका छन्।

उनीहरुले पूजाका लागि भारतमा युवती पुर्‍याउन लागेको बताएका छन्। भारतीय बाबाजीले युवती मागेको र आफूहरुलाई पनि पैसा आउने भएकाले पठाइदिन लागेको प्रहरीलाई प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्।

उनीहरुले १९ र २२ वर्षकी युवती लैजाँदै थिए। भारतका बाबाजीले अविवाहित र ५ फिट ५ इन्च उचाइ भएको युवती माग गरेको बताएका छन्। अविवाहित युवती त्यसमा पनि उचाइ नै तोकेर भारतीय बाबाजीले किन नेपाली युवती लगिरहेका छन्? यो नयाँ प्रश्न उब्जिएको छ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्की भन्छन्, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौं।’

डीएसपी कार्कीले नेपाली युवतीलाई बलि दिनैका लागि लगिएको भन्ने प्रष्ट भइनसकेको भएपनि प्रहरीले त्यसबारे पनि गम्भीर आशंका र गहिरो अनुसन्धान गरिरहेको बताए।

पक्राउ परेका व्यक्तिले एक किशोरी नाताले आफ्नै साली पर्ने बताएका छन्। उनले पूजामा युवती लैजाँदा आफूलाई पनि पैसा आउने र सालीको सुरक्षाका लागि आफैं गएको बताएका छन्।

‘हामीले सीमा कटाएर बाबाजीको जिम्मा लगाउने हो र पैसा लिने हो, त्यसपछि उनीहरुले बाबाजीसँग पूजामा काम गर्नुपर्ने भनेका छन्, यस वापत हामीलाई पनि र उनीहरु (युवती) लाई पनि पैसा दिने भनेका छन्,’ पक्राउ परेका व्यक्तिको वयान छ।

भारतीय बजार भीमनगरसम्म पुर्‍याउन हिडेको र त्यहाँ बाबाको मन्दिर रहेकाले पुजारीसँग बस्नुपर्ने बताएका छन्। युवतीलाई लैजाने बेलामा पूजामा बसेबापत पारिश्रमिक दिने र कुनै दुख बिमार भए आफ्नो पनि ठिक हुने बताएका थिए।

त्यसपछि कहाँ कहाँ लगिन्छ भन्ने उनीहरुले पनि थाहा नभएको बताएका छन्। पूजा समाप्त भएपछि २ लाख रुपैयाँ दिएर फर्काउने प्रलोभन देखाएर उनीहरुलाई लगिएको थियो।

तर पक्राउ परेका व्यक्तिले भनेजस्तै घटना नभएको प्रहरीको आशंका छ।

‘यो पत्याउन सकिने कुरा छैन, ती युवतीहरु सोझा र आफन्तै भएकाले पत्याएर पुगेका हुन्। त्यति धेरै रकम खर्चिएर मन्दिरमा राख्न नेपाली युवती किन लगिन्थ्यो र?’

सुनसरीका एक प्रहरी अधिकारीले भने, ‘घटना रहस्यमय नै छ, तर बलि दिनै हो भन्ने पुष्टि भने भइसकेको छैन।’

यसअघि असोजकै पहिलो साता मोरङमा पनि एक किशोरीलाई सीमा कटाउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। उनलाई पनि मन्दिरमा बस्नुपर्ने र पूजामा सघाउने भनिएको थियो।

तर उनलाई किन लगिएको थियो भन्ने वास्तविकता अझै पत्ता लाग्न नसकेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

उनले भने, ‘हामी भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं, ढिलै भएपनि घटनाको जरो पत्ता लगाउँछौं तर अहिलेसम्म किशोरीलाई किन लगिएको थियो भन्ने पत्ता लागि सकेको छैन।’

त्यतिबेला सुनसरीकी १७ वर्षकी किशोरीलाई भारततर्फ लैजाँदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

मोरङको रानी भन्सारमा पक्राउ पर्नेमा मोरङकै लेटाङ ३ घर भई सुनसरीको रामधुनी नगरपालिका ५ बस्ने २२ वर्षीया मोनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाठी कैलाठीका २० वर्षीय प्रदीपकुमार मण्डल रहेका छन्।

युवतीलाई मोनिकाले भारतमा मोवाइल किनिदिने र मन्दिरमा काम लगाइदिने भन्दै फकाएको बताइएको छ।

भारतीय सीमाना कटाए पनि पारी पुगेपछि भारतबाट लिन आउँछु भनेका दलाल नआएपछि उनीहरु अलपत्र परेका थिए।

त्यसपछि नेपालतर्फ नै फर्किएका उनीहरुलाई प्रहरीले सीमानामा पक्राउ गरेको थियो। उक्त घटनाको अनुसन्धान टुङ्गोमा नपुग्दै छिमेकी जिल्ला सुनसरीमा उही प्रकारको घटना बाहिरिएको छ।

यसले भारततर्फ नेपाली किशोरीहरुको किन तस्करी भइरहेको छ भन्ने प्रश्न उब्जाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .