ad ad

समाज


कोरोना नियन्त्रणमा लिएर जो ‘चिनियाँ हिरो’ कहलिए

कोरोना नियन्त्रणमा लिएर जो ‘चिनियाँ हिरो’ कहलिए

चेतनाथ आचार्य
भदौ २९, २०७७ सोमबार ४:२३,

सेप्टेम्बर ८ तारिख मंगलबार बिहान बेइजिङमा अलि बेग्लै दृश्य देखियो। बेइजिङ सहरको बीचभागबाट पूर्वपश्चिम फैलिएको सडक सुनसान थियो। सडकमा एउटा बस गुडिरहेको थियो। त्यो बसलाई अगाडिपछाडि र दायाँबायाँबाट सुरक्षाकर्मीका २१ वटा सेता मोटरसाइकलले घेरेका थिए।

सडकमा अन्य सवारी साधन गुड्न दिइएको थिएन। सडकको किनारामा उभिएका चिनियाँ जनमुक्ति सेनाले बस छेउमा आइपुगेपछि सलाम गर्दै सम्मान गरेको दृश्यले त्यो बसभित्र निकै सम्मानित व्यक्ति छन् भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो।

बसभित्र यसअघि चिनिएका राजनीतिक भीआईपी थिएनन्। बसको अघिल्लो सिटमा थिए, चोङनान शान र, त्यसपछि छन वई, चाङ तिङयु र चाङ पोली। उनीहरु चढेको बस सोझै जनबृहत सभाभवनमा प्रवेश गर्यो। सभाभवनको मुख्य सभाकक्षमा चीनका राष्ट्रपति सी चिनफिङले उनीहरूलाई सम्मान गर्दै पदक प्रदान गरे। जुन दृष्य चीनको राष्ट्रिय टेलिभिजन सीसीटीभीले प्रत्यक्ष प्रसारण गर्यो।

Chinese Hero2

राष्ट्रपतिबाट सम्मान पाउने यी चारजना चिनियाँ चिकित्सा क्षेत्रका त्यस्ता नामी व्यक्ति हुन्, जसले कोरोना नियन्त्रणमा आफ्नो ठाउँबाट ठूलो योगदान दिए र चीनलाई महामारीको सम्भावित ठूलो संकटबाट जोगाए।

कोभिड १९ नियन्त्रणमा यी चिकित्साकर्मीको योगदान चीनका लागि मात्र होइन विश्वकै लागि अतुलनीय रहेको बेइजिङका सञ्चार माध्यमले विश्लेषण गरेका छन्। चारजना चिनियाँ ‘राष्ट्रिय हिरो’ मध्ये पनि चोङ नान शानलाई सर्वोच्च ‘राष्ट्रिय पदक’ प्रदान गरिएको थियो। यो पदक सन् २०१५ मा चिनियाँ राष्ट्रिय जनकंग्रेसले पारित गरेपछि वितरण सुरु भएको हो। बाँकी तीन जनालाई ‘जनताका हिरो’ पदकले सम्मान गरिएको हो।

Chinese Hero4

संक्रमण नियन्त्रणमा चोङ बने केन्द्र बिन्दु
सन् १९३६ अक्टोबर २० तारिखका दिन चीनको नानचिङमा जन्मिएका चोङ नान सान चीनका प्रख्यात श्वासप्रश्वास विशेषज्ञ हुन्। सन् २००३ मा चीनमा फैलिएको सार्सको भाइरस पत्ता लगाउन सफल भएपछि उनको प्रख्याति विश्वभर फैलिन थालेको थियो। उनले सार्सको भाइरस किटान गरेसँगै संक्रमित व्यक्तिलाई भेन्टिलेटरको माध्यमबाट अक्सिजन दिएर उपचार गर्ने पद्धत्ति सुरु गरेका थिए।

सार्स संक्रमितलाई उपचार गर्ने सिलसिलामा उनी स्वयं सार्सबाट संक्रमित भएका थिए। विशेषज्ञ चिकित्सकलाई नै सार्स संक्रमण भएको कुरा सर्वसाधारणले थाहा पाउँदा भय र त्रास फैलिने हुनाले उनी चुपचाप घर बसेर स्वउपचारमा लागे। एक सातासम्म घरमा बसेर आफ्नो उपचार आफैँ गरेपछि उनी ठीक भएर सार्सका विरामीको उपचारमा जुटे। त्यतिबेला उनले विकास गरेको उपचार पद्धतिलाई विश्व स्वास्थ्य संगठनले आफ्नो प्रोटोकलमा राखेर विश्वभर प्रयोग गर्न आह्वान गरेको थियो।

चीनको दक्षिणमा रहेको क्वाङतोङ प्रान्तमा रहेको क्वाङचौ मेडिकल युनिभर्सिटीको श्वासप्रश्वास रोग केन्द्रका निर्देशक हुन् चोङ नान सान। ८३ वर्षको बुढो शरीर लिएर उनी चीनमा कोभिड १९ संक्रमणको इपिसेन्टर मानिएको हुपेइ प्रान्तको वुहान गएका थिए। सरकारले तत्काल गठन गरेको संकट व्यवस्थापन समितिको सल्लाहकार भएर उनले काम सुरु गरे।

चार दशकभन्दा लामो समयदेखि अनवरत रुपमा चिकित्सा क्षेत्रमा काम गरिरहेका चोङ त्यस्ता व्यक्ति हुन् जसले उत्पादन गरेका विद्यार्थीहरु यतिबेला चीनमा नामी डाक्टरहरु छन्। चीनमा रहेका अधिकांश श्वासप्रश्वास रोग विशेषज्ञ तथा फोक्सो विशेषज्ञहरु कुनै बेला चोङकै विद्यार्थी थिए। उनको ख्याति चीनमा मात्र नभएर अमेरिका तथा बेलायतमा पनि उत्तिकै रहेको छ। उनले बेलायतमा पनि अध्ययन गरेका थिए भने अमेरिकाका विश्वविद्यालयहरूले उनलाई मानार्थ सम्मानहरु बग्रेल्ती प्रदान गरेका छन्।

गत जनवरी २० मा वुहान पुगेर चोङले नयाँ भाइरस यसभन्दा अगाडिका भाइरसको तुलनामा अत्यन्त संक्रमित रहेको र धेरै मान्छेमा फैलिन सक्ने भन्दै केन्द्रीय सरकारलाई लेखेर पठाए। हुपेइ प्रान्त र वुहान सहरले यसलाई उति गम्भीर रुपमा नलिएको जानकारी पनि उनले गराएका थिए। उनकै सुझावमा चीनले हुपेइ प्रान्त र आसपासका क्षेत्रलाई लकडाउन गरी संक्रमितलाई आइसोलेसनमा राखेर उपचार सुरु गरेको थियो।

चोङले नै संक्रमितलाई दस दिनदेखि दुईसातासम्म क्वारेन्टिनमा राख्नुपर्ने सुझाव दिएका हुन्। उनले फेब्रुअरीको मध्यमा चिनियाँ टेलिभिजनलाई अन्तर्वार्ता दिँदै चोङले अप्रिलको मध्यसम्ममा चीनमा कोभिड १९ नियन्त्रण हुने बताएका थिए। उनको प्रक्षेपण अनुसार नै चीनमा कोरोना नियन्त्रणमा आयो र हुपेइ तथा वुहानमाथि लगाइएको लकडाउन ७६ दिनपछि अप्रिल ८ तारिखबाट खुल्यो। त्यसपछिका दिनमा पनि चीनमा फाट्टफुट्ट कोरोना संक्रमित देखिइरहेका छन्, जो अधिकांश बाहिरी देशबाट आएका हुन्।

विशिष्ट ज्ञान भएकै कारण उनले स्वास्थ्य सम्बन्धी थुप्रै संस्थाको नेतृत्व गरिसकेका छन्। सन् २००५ देखि २००९ सम्म चिनियाँ मेडिकल संघको अध्यक्ष रहँदा उनले चिनियाँ चिकित्सा क्षेत्रमा थुप्रै सुधारका काम गरेका थिए। सन् २०१० मै चीनका उत्कृष्ट १० वैज्ञानिकमा परेका चोङ सन् २००८ देखि २०१८ सम्म चिनियाँ राष्ट्रिय जनकंग्रेसका सदस्य थिए।

चोङ सन् १९५० को दशकमा पेकिङ विश्वविद्यालयका प्रख्यात धावक थिए। तर राम्रो चिकित्सक बन्ने सपना बोकेका चोङ खेलकूद क्षेत्रबाट बिदा लिएर चिकित्सा क्षेत्रमा दत्तचित्तले लागे। खेलकूद क्षेत्रले नै जुराएको एउटा सुखद संयोग चाहिँ उनको जीवनमा अध्यापि कायम छ। धावक भएकै बेला उनको परिचय बास्केटबल खेलाडी ली शाओफनसँग भयो। खेलकूदमा एकअर्कालाई हुटिङ्ग गर्दै समर्थन गर्ने चोङ र लीले १३ वर्षको मित्रतालाई सन् १९६३ मा बैबाहिक सम्बन्धमा परिणत गरे। चिकित्सक बाबु र खेलाडी आमाका दुई सन्तानमा पनि उनीहरुको गुण आधा आधा बाँडिएको छ। अर्थात उनीहरुका छोरा चोङ वेइत डाक्टर छन् भने छोरी चोङ वेईयुए पौडीबाज छिन्।

सेप्टेम्बर ८ तारिख मंगलबार बिहान बेइजिङको तेस्रो चक्रपथको पश्चिमपट्टिको भागमा रहेको त्याउयुथाइ राज्य गेष्टहाउसबाट बसमा राखेर उनलाई जनबृहत सभाभवनमा लगिएको थियो। त्यतिबेला सो क्षेत्रमा सडक पूरै खाली गरिएको थियो। चोङ सवार बसलाई चिनियाँ जनमुक्ति सेनाका २१ वटा मोटरसाइकले कारगेट गरी सुरक्षा र सम्मान प्रदान गरेका थिए। गेष्टहाउसदेखि जनबृहत सभाभवनको दुरी लगभग ७ किलोमिटर रहेको छ। खुला सडकमा ७ किलोमिटरको दुरी पार गर्न उक्त मोटरयात्रालाई लगभग १० मिनेट लागेको थियो।

६ दशक अगाडि भए सायद चोङले ७ किलोमिटरको दुरी दौडिएर १० मिनेटमा पार गरेर स्वर्ण पदक प्राप्त गर्ने थिए। यतिबेला उनले सो दुरी पैदल नहिँडीकन पार गरे र राज्यकै सबैभन्दा ठूलो पदक प्राप्त गरे।

Chinese Hero3

छन वई : बीस वर्षदेखि खोप बनाइरहेकी जर्नेल
जनताको हिरो अर्थात् ‘जनबहादुर’ बाट डा छन वई सम्मानित भइन्। ५४ वर्षीय डा छन वई चिनियाँ जनमुक्ति सेनाकी जर्नेल हुन् जसले सन् २०१७ मा अफ्रिकी मुलुक सियारालियोन पुगेर इबोला विरुद्धको खोप बनाउन सफल भएकी थिइन्। उनी चीनकी प्रख्यात वैज्ञानिक हुन्।

चीनको कोभिड १९ खोप बनाउने पहिलो समूहमा उनी पनि सहभागी छन्। मुख्य गरी खोप विकासमा उनको महत्वपूर्ण र नेतृत्वदायी भूमिका भएकाले चीनले उनलाई यो सम्मान दिएको हो। छन वईलाई बीस वर्षदेखि सार्स, इबोला हुँदै कोरोना भाइरस विरुद्ध लड्ने लडाकु वैज्ञानिक मानिन्छ।

चाङ तिङयु : जो आफ्नै मृत्यु पर्खंदै संक्रमितको उपचारमा जुटे
मृत्यु पर्खिरहेका ५७ वर्षीय डा चाङ तिङयु पनि ‘जनबहादुर’ सम्मानबाट विभूषित भए। चिनियाँ संचारमाध्यमलाई अन्तर्वार्ताका क्रममा उनले आफू बढीमा दस वर्ष मात्र बाँच्न सक्ने बताएर सबैलाई भावुक बनाएका छन्। सन् २०१८ को अक्टोबरमा उनलाई मोटर न्युरोन रोग देखियो। यो थोरै मान्छेमा लाग्ने तर उपचार नहुने रोग हो।

डा चाङ तिङयुले भन्ने गरेका छन्, ‘मसँग जीवनमा धेरै समय बाँकी छैन। मेरा खुट्टाहरुमा अट्रोफी सुरु भएको छ र म बिस्तारै शरीरबाट चेतनालाई गुमाउँदैछु।’

शारीरिक पीडालाई थाती राखेर उनी कोरोना संक्रमितको उपचारमा रातदिन खटिरहे। वुहानको चिनयिनथान अस्पताल सरुवा रोग नियन्त्रण गर्ने नामी अस्पताल हो। यही अस्पतालका प्रमुख हुन् चाङ। उनकी श्रीमती पनि चिकित्सक नै हुन् र कोरोना संक्रमित भएकी थिइन्। भाग्यवस उनले कोरोनालाई जितिन्।

चाङ पोली : जसले कोरोनाका विरामीलाई परम्परागत चिनियाँ औषधि दिए
थियानचिन विश्वविद्यालयका कूलपति चाङ पोली ७२ वर्षका भइसके। उनले परम्परागत चिनियाँ औषधिलाई व्यापक बनाउने विषयमा आफ्नो जीवन बिताएका छन्। अनि कोरोना संक्रमित व्यक्तिको रोग प्रतिरोधी क्षमता बढाउन परम्परागत चिनियाँ औषधि कामयावी हुने कुरालाई उनले प्रमाणित गरेका छन्।

चीनमा कोरोना संक्रमित प्रायलाई परम्परागत चिनियाँ औषधि दिइएको थियो। आइसोलेसनमा राखिएका संक्रमितहरुले परम्परागत चिनियाँ औषधि प्रभावकारी हुन्छ भनेर उनले पहल गरेका थिए। प्रयोगशालाका विभिन्न परीक्षणबाट पुष्टि गर्दै यसले प्रभावकारी काम गर्ने भनेपछि चीन सरकारले सोही अनुसार परम्परागत चिनियाँ औषधिको प्रयोगलाई प्रोत्साहन गरेको थियो। उनको विशिष्ट योगदानलाई कदर गर्दै राष्ट्रपति सीले उनलाई सम्मान गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .