ad ad

समाज


सुनकाण्डका अभियुक्तको बयानः सुन्धाराको आकासे पुलमा सुन लिएपछि प्रहरीले भाग्न इसारा गरे

सुनकाण्डका अभियुक्तको बयानः सुन्धाराको आकासे पुलमा सुन लिएपछि प्रहरीले भाग्न इसारा गरे

उजिर कार्की
साउन १८, २०७७ आइतबार १६:४३,

गत मंगलबार दरबारमार्ग वृत्तले गरेको सुन अप्रेसन विवादित बन्यो। तस्करसँग मिलेमतो गरेको आरोपमा प्रहरी पनि मुछिएका छन्।

यस घटनाको अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंले आइतबार दरबारमार्ग वृत्तका प्रहरी जवान बहादुरसिं कठायत र प्रशन्न श्रेष्ठको म्याद थप गरेको छ।

तस्करीको सुन भनेर आएको सूचनामा साढे १४ केजी चाँदी र आधा केजीमात्रै सुन फेला पर्‍यो। घटनाका अभियुक्त र गाडी नै फरार भएपछि प्रहरीको यो अप्रेसन सुरुदेखिनै शंकाको घेरामा तानिएको थियो।

शुक्रबार अप्रेसमा संलग्न प्रहरीले नै १ केजी सुन लुकाएको पत्ता लाग्यो। तर त्यो पनि सुनको जलप लगाएको चाँदी मात्रै भएपछि हाकिमलाई छल्न खोज्ने प्रहरी आफैँ जिल्लिए।

पक्राउ परेका २ प्रहरीसहित ९ जनासँग प्रहरी परिसर काठमाडौंले बयान लिइरहेको छ। प्रविधिको प्रयोगबाट पनि बयानलाई पुष्टि गर्ने काम सुरु भएको छ।

बयानको क्रममा अभियुक्त र प्रहरीको सेटिङ सुरुमै नदेखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन्। पक्राउ परेका निलेश सकिया मात्रै हुन् जो सुनका मालिक भनिएकाहरुसँगै गाडीमा थिए। उनैले प्रहरीलाई सुन बुझाएका हुन्।

तर बयानका क्रममा उनले आफू सुन्धारामा गाडीबाट सुन र हतियार बुझाउनका लागि नझरेको बताएका छन्।

उनको बयानअनुसार थापाथली र त्रिपुरेश्वरको बीचमा सुन र हतियार बोकेको स्कार्पियोलाई प्रहरीले रोक्यो र भन्यो, ‘के के छ झिक्।’

त्यसपछि सकर्पियो ब्याक गरेर प्रहरीको मोटरसाइकललाई क्रस गर्दै अगाडि बढ्यो। त्यसबीचमा सुनका मालिक राजु भण्डारी भनिने इल्ताफ हुसेन र सन्जय पटेलले सल्लाह गरे– ‘अब निलेश झरेर सार्वजनिक गाडीमा भाग, तिमी जहाँ पुग्छौ हामी लिन आउँछौं।’

त्यसपछि गाडी फेरि फर्किएर सुन्धारा पुगेको थियो। त्यसबीचमा उनीहरुले सुन र हतियारको झोला निलेशलाई जिम्मा लगाए। सुन्धारामा गाडी लागिरहेको थियो। निलेश स्कर्पियोबाट झरेर सार्वजनिक बस चढ्न लागेका थिए।

तर प्रहरी जवान कठायत त्यहीँ पुगे। निलेशले प्रहरीलाई चिनिसकेका थिए। थापाथली र त्रिपुरेश्वरको बीचमा गाडी रोक्ने पनि यिनै थिए। निलेशले हातमा झुण्ड्याएको झोला प्रहरीलाई त्यहीँ दिन खोजे। जवान कठायतले पुलतिर देखाएर त्यहाँ जान भने। त्यसपछि उनीहरु सुन्धाराका आकासे पुलमा पुगे। त्यहाँ कठायतले सुन र हतियार देखेपछि निलेशलाई भाग्न इशारा गरे र सुन लुकाए।

उनीहरुले सुन आफैं लुकाउन इन्चार्जलाई समेत सही सूचना नदिएको र अभियुक्तलाई भगाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। प्रहरीले सुन लुकाउनकै लागि सुन्धारामा गाडीबाट झरेर हतियार र सुन बुझाएका भारतीय नागरिक निलेश सकियालाई तत्कालै पक्राउ नगरेको पाइएको छ।

कठायतले १ केजी नक्कली सुन लुकाएको पनि उमेश श्रेष्ठको कोठाबाट शुक्रबार फेला परिसकेको छ। कठायत र श्रेष्ट केही वर्षदेखिका साथी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .