तनहुँको शुक्लागण्डकी-३, बन्केवामा २१ महिने बालिका चितुवाको आक्रमणमा परेको भोलिपल्टै पोखराको मुख्य नगर क्षेत्रमा चितुवा पसेको छ।
पोखरा-१३, मियाँपाटनमा बिहीबार बिहान ७:०४ बजे घरको बाथरुममा छिरेको चितुवाले आक्रमण गर्दा एक सशस्त्र प्रहरी हवल्दारसहित ३ जना घाइते भएका छन्। स्थानीय फगिन्द्रबहादुर गुरुङकाे घरमा छिरेको चितुवा नियन्त्रणको लागि पुगेको टोलिमाथि नै चितुवाले झम्टेको थियो।
आक्रमणबाट गोरखा घर भई पोखराको औद्योगिक क्षेत्र बस्ने ३० वर्षीय श्याम थापा, शशस्त्र प्रहरी हवल्दार ३६ वर्षका फटिक मगर र वन कार्यालयका प्रमुख रामजी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए। घाइतेको अवस्था सामान्य छ।
उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ। चितुवालाई नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यसअघि गएको माघ २२ गते पोखरा -३२, तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा पनि चितुवा पसेको थियो। तनहुँमा चितुवाको आक्रमणबाट ९ बालबालिकाको मृत्यु भैसकेको छ। डिभिजन वन कार्यालयले हालसम्म ७ वटा चितुवा नियन्त्रणमा लिइसकेपनि चितुवा आतंक रोकिएको छैन।
तनहुँको भानुमा त देवी रिसाएको भन्दै चितुवा नियन्त्रणको लागि पंचबली नै दिइएको थियो।
प्रतिक्रिया