ad ad

राजनीति


केन्द्रको राजनीतिक उथलपुथलले प्रदेश २ सरकारमा हलचल

केन्द्रको राजनीतिक उथलपुथलले प्रदेश २ सरकारमा हलचल

शैलेन्द्र महतो
जेठ ८, २०७८ शनिबार ६:६,

केन्द्रमा भइरहेको राजनीतिक उथलपुथलको सीधा असर प्रदेश २ को सरकारमा पर्ने देखिएको छ।

केन्द्रमा नयाँ सरकार गठन असफल तथा संसद् विघटनसँगै प्रदेश २ मा सरकार परिवर्तन हुने सम्भावना बढेको होे।

प्रदेश २ मा अहिले जनता समाजावदी पार्टी (जसपा) को नेतृत्वमा बहुमतको सरकार छ। पूर्वसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को साझेदारीमा सरकार बनेको थियो। एक वर्षअघि दुई पार्टीबीच एकता  भएपछि जसपा बनेको हो।

तर पार्टी समायोजन नहुँदा हालसम्म प्रदेश सभामा दुवै दल पूर्ववत् अवस्थामै छन्। विकसित पछिल्लो राजनीतिक घटनाक्रमले जसपा फुटको संघारमा पुगेको छ। जसका कारण प्रदेश २ मा सत्ता साझेदार पूर्वराजपालाई अलग गरेर नयाँ सरकार बनाउने तयारी भइरहेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वैकल्पिक सरकार गठनका लागि आह्वान गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई समूहका १२ सांसदले हस्ताक्षर गरेका थिए भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका २० सांसद भने ओलीकै पक्षमा उभिएका थिए।

ठाकुर–महतो पक्षले देउवाको समर्थन गरेका जसपाका १२ सांसदलाई पार्टीको विधानविपरीत गएको भन्दै कारबाहीका लागि राष्ट्रपतिलाई पत्र पठाएका थिए। र, त्यो संख्या विपक्षी गठबन्धनमा गणना नगर्न अनुरोध गरेका थिए।

अन्ततः राष्ट्रपति भण्डारीले मध्यराति देउवा र ओली दुवैका दाबी नपुगेको निर्णय सुनाइन्। साथै त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार संसदसमेत विघटन गराइन्।

यो पनिः राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा भंग, मध्यावधि चुनाव घोषणा

यसपछि जसपाभित्रको विवाद झन् उग्र बनेको हो। जसपा अब औपचारिक रूपमा अलग हुन मात्र बाँकी रहेको जसपाकै नेताहरू बताउँछन्।

ठाकुर–महतो पक्ष प्रतिगमनका पक्षमा लागेर पुनः प्रतिनिधि सभा विघटनको साक्षी बसेको आरोप उपेन्द्र यादव पक्षको छ। त्यसैले अब एक ठाउँमा रहने सम्भावना कम रहेको यादव पक्षका सांसद डा. सुरेन्द्र यादव बताउँछन्।

‘हिजोको घटनाक्रमले अब पार्टी एक रहने अवस्था छैन। भोलि/पर्सीसम्ममा पार्टी विधिवत् अलग हुने सम्भावना छ। पार्टीभित्र अहिले यही विषयमा छलफल भइरहेको छ,’ उनले नेपालखबरसँग भने।

अगामी चुनावसम्मका लागि गठबन्धन बनाएर जाने तयारी भएको उनले बताए।

जसपा विधिवत् रूपमा विभाजन भए प्रदेश २ मा जसपा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकार बन्ने सम्भावना छ। जसमा एमालेको नेपाल पक्ष क्लियर भएर आए उनीहरूलाई पनि नयाँ सरकारमा सहभागी गराइने दलका नेताहरूले बताएका छन्।

‘पार्टी विभाजनपश्चात् प्रदेश २ मा हाम्रो पक्ष, कांग्रेस र माओवादी गठबन्धनको सरकार बन्छ। तीन दल मिल्दा प्रदेश २ मा स्पष्ट बहुमतको सरकार बन्छ,’ यादवले भने।

हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका पूर्वसंघीय समाजवादी फोरमका ३० र पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन्। यसअघि प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिकसहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो। तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरिसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ।

यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तीमा ५३ सांसद चाहिन्छ। यस विषयमा छलफल भइरहेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन्।

कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेशमा नयाँ सत्ता समीकरणबारे पार्टीको केन्द्रीय तहमा छलफल भइरहेको बताए।

‘प्रदेश २ मा कांग्रेसलगायतको नयाँ सत्ता समीकरण बन्छ। तर पहिले जसपा विधिवत् अलग हुनुपर्यो,’ दलका नेता यादवले नेपालखबरसँग भने, ‘यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको छ।’

बन्ने नयाँ सत्ता समीकरणमा एमालेको माधव नेपाल पक्ष पनि सहभागी हुने सम्भावना रहेको नेताहरूले बताएका छन्। तर यसका लागि केन्द्रमा एमालेको नेपाल पक्षको कित्ता क्लियर हुनुपर्ने उनीहरूको भनाइ छ।

माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले सत्ता समीकरणबारे छलफल भइरहेको जानकारी दिँदै जसपाको औपचारिक विभाजनको पर्खाइमा रहेको बताए।

‘सत्ता समीकरण मात्र होइन, आगामी चुनावका लागि पनि कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्षबीच एलाइन्स (गठबन्धन) भएर अघि बढ्ने विषयमा छलफल भइरहेको छ,’ नेपालखबसँग उनले भने, ‘तर त्यसका लागि एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र पक्ष क्लियर भएर आउनुपर्छ।’

उनका अनुसार प्रदेश २ मा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकारका लागि स्पष्ट बहुमत छ।

प्रदेश सभामा कायम सदस्य संख्या १०४ मध्ये अहिले जसपाको यादव पक्षका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ जोड्दा विपक्षीतर्फ सांसदको संख्या ५७ पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .