ad ad

राजनीति


जसपाका नेता भन्छन्ः ओलीले खेलेर हाम्रो पार्टीमा विवाद जन्माए

जसपाका नेता भन्छन्ः ओलीले खेलेर हाम्रो पार्टीमा विवाद जन्माए

सागर न्यौपाने
चैत ५, २०७७ बिहिबार १४:१२,

जनता समाजवादी पार्टी (जसपा) भित्र केपी ओलीसँग मिल्ने कि उनको विदाईका लागि नयाँ समीकरण बनाउने भन्ने विषयमा चर्को विवाद देखिएको छ।

सोही विषयमा सहमति जुटाउन शीर्ष पाँच नेताबीच पटकपटक बैठक बसिरहेको छ। तर, सहमति जुट्न नसक्दा बिहीबार बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै नबसी स्थगित भएको छ।

जसपाको एउटा समूह माग पुरा गराउन ओलीलाई समर्थन गरेर अघि बढ्नुपर्ने पक्षमा छ। अर्को पक्ष भने कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छ।

ओली र भारतले खेलेर जसपामा यस्तो विवाद उत्पन्न गरिदिएको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवनिकट एक नेताले दाबी गरे।

‘केपी ओलीको कुटिल आश्वासन र दिल्लीको निर्देशनमा जसपाभित्र विवाद ल्याउने प्रयत्न भइरहेको छ,’ ती नेताले भने, ‘निर्णायक शक्तिलाई गोलचक्करमा राखेर अनिर्णयको बन्दी बनाएइको छ।’

राजनीतिक संकटलाई थप जटिल बनाउँदै संघीयता, गणतन्त्र, समानुपातिक तथा समावेशी व्यवस्था लगायतका प्राप्त उपलब्धिलाई समेत उल्ट्याउने षडयन्त्र भइरहेको बताए।

‘अहिले प्राप्त सबै उपलब्धि उल्ट्याउन जसपा, कांग्रेसभित्र खेल्ने काम भइरहेको छ,’ नेताले थपे।

तर, जसपाले अन्ततः व्यवस्था जोगाउने पक्षमा निर्णय गर्ने उनको दाबी छ।

‘कसैले यो गर् भनेको आधारमा पार्टी चल्दैन। कसलाई सहज/असहज भन्ने सरोकार होइन, गणतन्त्र जोगाउन जसपाले निर्णय गर्छ,’ उनले भने।

जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरुले ओलीलाई समर्थन गरेर जानुपर्ने प्रस्ताव राखेका छन्।

माग पुरा गर्न प्रधानमन्त्री ओली धेरै सकारात्मक भएको जसपाका नेता लक्ष्मणलाल कर्णले बताए।

‘संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दाहरुलाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ कर्णले भने।

तर, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माग सम्बोधन गर्ने नाममा प्रतिगमनकारीसँग मिल्न नसक्ने अडान लिएका छन्।

‘व्यवस्था नै विघटन गराउने ओलीको कदमविरुद्ध सबैभन्दा पहिला आन्दोलन गरेको हाम्रो पार्टी कसरी ओलीसँगै मिल्न सक्छ?’ डा. भट्टराईनिकट अर्का कार्याकारिणी सदस्यले प्रश्न गरे, ‘पहिले ओलीको विदाई त्यसका लागि नयाँ सत्ता समीकरण भन्ने पार्टीको बटमलाइन हो।’

ती नेताका अनुसार ओलीले यसअघि पनि माग सम्बोधन गर्छु भनेर कामै नगरेकोले बहुमत सदस्य ओलीसँग मिल्न नहुने पक्षमा छन्।

जसपाले निर्णय लिन नसकेकै कारण कांग्रेस पनि डराएको ती नेताले बताए।

‘हामीले निर्णय गर्न नसक्दा कांग्रेस जसपासँग डरायो। कांग्रेसले नेतृत्व गरेर साहस गर्न सकेन भनेर कांग्रेससँग जसपा डरायो,’ ती नेताले भने।

कांग्रेस र जसपाबीच देखिएको विश्वासकै संकटले ओली सरकारको आयु बढाएको उनले टिप्पणी गरे।

‘जति लम्बिन्छ, त्यति नै विभिन्न तत्वले खेल्छ,’ ती नेताले थपे, ‘जसले ओलीको आयु लम्बियो।’

पछिल्लो समय जसपाभित्र अर्काे पनि धार जन्मेको छ। जसले सरकारको नेतृत्व आफैँले लिनुपर्ने प्रस्ताव अघि सारेको छ।

‘जसपालाई सरकारको नेतृत्व लिन सुझाव आएका छन्, तर त्यसका लागि हामीसँग संख्या छैन, यो अल्मल्याउने कुरा मात्रै हुन्छ,’ महतोले नेपालखबरसँग भने।

तर, अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने जसपा अनिर्णयको बन्दी नहुने र एकदुई दिनमै निर्णय गर्ने बताए।

‘फागुन २३ पछि उत्पन्न राजनीतिक संकट समाधानको लागि जसपा अनिर्णयको बन्दी बन्न सक्तैन, कार्यकारिणी सदस्य गंगानारयाण श्रेष्ठले नेपालखबरसँग भने, ‘केही दिनमै निर्णय गर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .