स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।
सोमबार मध्यान्ह १२ बजे थाइ एयरवेजको बिमानबाट प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
१० दिन सिंगापुरमा स्वास्थ्य उपचारपछि फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सेनाको सलामी ग्रहण गरेनन् भने पत्रकार सम्मेलन पनि गरेनन्। पत्रकारले आग्रह गर्दा पनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे केही बताएनन्। उनले आफ्नो स्वास्थ्यबारे केही दिनमै थाहा हुने प्रतिक्रिया दिए।
प्रधानमन्त्री ओलीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली विमानस्थाल पुगको थियो।
प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको छ।
Shares
प्रतिक्रिया