ad ad

राजनीति


प्रधानमन्त्री ओली हिटलरको बाटोमा: देउवा

प्रधानमन्त्री ओली हिटलरको बाटोमा: देउवा

वाशुदेव मिश्र
साउन २१, २०७६ मंगलबार ९:५६,

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले जर्मनीका तत्कालीन चान्सलर एडोल्फ हिटलरको शैलीमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित एवं प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे परिवारद्वारा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट पोखराका पत्रकार रवीन्द्र बास्तोलालाई सम्मान गर्दै मंगलबार देउवाले भने, ‘जसरी तत्कालीन जर्मनी शासक हिटलरले प्रजातान्त्रिक पद्धति अनुसार निर्वाचित भई संसद कब्जागरी निरंकुश बनेका थिए, त्यसरी नै नेपालका प्रधानमन्त्री ओली संसद कब्जागरी निरंकुश बन्न खोज्दै छन्।’

निरंकुश प्रधानमन्त्री केपी ओलीले चाल्ने प्रजातन्त्र बिरोधी कदमका बिरुद्व नेपाली कांगेसले सदन र सडक तताउने बताउँदै देउवाले आन्दोलन भने शान्तिपूर्ण नै हुने बताए। उनले आन्दोलनमार्फत नै कांग्रेसले जनताको मन जित्ने समेत जिकिर गरे। उनले यो सरकारको गतिविधिलाई डेढ वर्षसम्म हेरेर बसेको र अब कांग्रेस चुप लागेर नबस्ने समेत बताए।

‘सरकारले लोकतन्त्रलाई नै समाप्त गर्नेगरी प्रेस काउन्सिल विधेयक ल्याएर पत्रकारितालाई अंकुश लगाउन खोज्दैछन्’, उनले भने,‘ मानव अधिकार आयोगका अधिकार खुम्च्याउने, सुरक्षा परिषद्को अधिकार आफ्नो हातमा लिने काम ओलीले गदैछन्।’ उनले नेपाली कांग्रेस सधै लोकतन्त्र, स्वतन्त्र पत्रकारिता, मानव अधिकार, व्यक्ति स्वतन्त्रता र स्वतन्त्र न्यायलयको पक्षमा उभिने र ती कुरामा कसैसँगै सम्झौता नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

स्वतन्त्र प्रेसलाई नै अंकुश लगाउनेगरी ल्याइएको प्रेस काउन्सिल विधेयकलाई नेपाली कांग्रेसले कुनै पनि हातलमा संसदबाट पास हुन नदिने प्रतिवद्धता पनि उनको थियो। ‘हरेक संवैधानिक आयोगमाथि आक्रमण गर्ने काम वर्तमान सरकारले गरेको छ यसले लोकतन्त्रलाई राम्रो गर्दैन’, देउवाले भने,‘अब प्रतिपक्षी पार्टी भूमिका निर्वाह गर्छौँ।’

सरकारका राम्रा कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्दै कांग्रेस गाउँ र वडासम्म पुग्ने र अब कांग्रेस सुतरे नबस्ने पनि देउवाले उद्घोष गरे। कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्ने कार्य अगाडि बढेको जानकारी दिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पुरस्कृत व्यत्तित्व रवीन्द्र बास्तोला, अग्रज पत्रकार नारायण कार्की, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्ना भनाई राखेका थिए।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम पालिखे परिवारबाट सुनयना पालिखेले आफ्ना भनाई राखेकी थिइन्। उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ। पुरस्कृत व्यक्तित्व रवीन्द्र बास्तोला पोखराबाट प्रकाशित हिमदूत दैनिकका सम्पादक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .