ad ad

कारोबार


१ सय ३२ केभी क्षमताको काबेली करिडोर प्रसारणलाइन सञ्चालनमा

१ सय ३२ केभी क्षमताको काबेली करिडोर प्रसारणलाइन सञ्चालनमा

नेपालखबर
साउन २१, २०७६ मंगलबार ९:५७,

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ। तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञ्चालनमा (चार्ज)आएको हो।

आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यस अघि नै सञ्चालनमा आइसकेको थियो। लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा थिए। ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो , राइट अफ वेको समस्या सुल्झाउन व्यत्तिगत रुपमा प्रभावितको घरघरमासमेत गयौं’ उनले भने। ‘स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ।’

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन सुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको उनले उल्लेख गरे। ‘अब प्रवद्र्धकहरुले पनि आयोजनाको निर्माण छिट्टौ सम्पन्न गरी विद्युत जोड्नु पर्छ’, घिसिङले भने। राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए। कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए।

आर्थिक वर्ष २०६३/६४मा सुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एण्ड एष्टर जेभी २३ भदौ २०६८ (९ सेप्टेम्बर २०११)मा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता १४ पुन २०६८ (२९ डिसेम्बर २०११)मा कार्यान्वयनमा आएको थियो। ३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।

ड्रोनको प्रयोग
तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए। ‘त्यहाँ चार सयको हाराहारीमा रुख काट्नु पर्ने थियो, यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देख्यौं त्यसैले ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तान्यौ’, उनले भने।

प्रवर्द्धकलाई जानकारी
प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवर्द्धकलाई दिएको छ। यस खण्डस्थित अमरपुर सबस्टेसनमा विद्युत जोडिने २५ मेगावाटको काबेली बी १को प्रर्वद्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लाइन चार्ज भएको मंगलबार जानकारी दिएको हो। ‘आयोजनाहरुबाट उत्पादित विद्युत् अरपुर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिड प्रणालीमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौं’, आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले भने। ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत पनि यही सबस्टेसनमा जोडिने छ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन्। पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत यसअघि नै जोडिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .