भारतका रक्षामन्त्री राजनाथ सिंहले पुल उद्घाटन गर्दै सीमा क्षेत्रमा पाकिस्तान र चीनले विवाद निम्त्याउन खोजेकाले पुलहरु बनाइएको बताएका थिए।
ती पुलहरु लद्दाख, जम्मु–कस्मिर, अरुणाचल प्रदेश, सिक्किम, हिमाचल प्रदेश, उत्तराखण्ड र पन्जाबमा बनाइएका छन्।
भारतको बोर्डर रोड अर्गनाइजेसनले उक्त पुल बनाउनुको उद्देश्य भारतीय सेनाको गतिविधिलाई सहज बनाउनु भएको जनाएको छ।
भारतले सोमबार पुलको उद्घाटन गरेसँगै चीनले मंगलबार नै भारतकै कारण हालको सीमा विवाद निम्तिएको आरोप लगाएको थियो।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले विवादित सीमा क्षेत्रमा भारतले संरचना निर्माण गरेर सैन्य विवादलाई बढावा दिएको आरोप लगाएका थिए।
चीनले पूर्वाधार निर्माणको विषय उठाउँदै भारतको आलोचना गरेपछि भारतले पनि जवाफमा भनेको छ,‘हाम्रो सिमानामा पूर्वाधार निर्माण हुनु तिम्रो चासोको विषय होइन।’
मंगलबार झाओ लिजियानले तथाकथित केन्द्र शासित लद्दाख अवैधानिक रुपमा खडा गरिएकाले त्यसलाई मान्यता नदिने बताउँदै अरुणाचल प्रदेशलाई पनि मान्यता नदिने बताएका थिए।
यस विषयमा भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार लद्दाख, अरुणाचल प्रदेश भारतकै अभिन्न अंग भएको बताए। उनले चीनले भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने जनाएका थिए। एजेन्सी
प्रतिक्रिया