ad ad

राजनीति


अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच छलफल, स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोगको आग्रह

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच छलफल, स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोगको आग्रह

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ११:२,

अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच शुक्रबार छलफल भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवम् थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरु बारे भिडियो कन्फरेन्स मार्फत छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।

सो क्रममा अर्थमन्त्री खतिवडाले विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गरे। नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताए।

अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे। उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्ब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए।

उनले बिषम परिस्थितिमा पनि विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। वित्तीय दबाबका बावजुद नेपालले विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको बताए।

विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा ब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको र सो अभियानमा अर्थमन्त्रीको सहयोगको लागि समेत अनुरोध गरे।

उनले दुवै पक्षबाट तयारी पूरा भएका थप चार आयोजनाहरु वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भैरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि बढाउन विश्व बैंक तयार रहेको बताए। नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने बित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे।

छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .