ad ad

राजनीति


नेपालीलाई पनि क्यानेडियन विद्यार्थी बराबरको सहुलियत दिन शिक्षामन्त्रीको आग्रह

नेपालीलाई पनि क्यानेडियन विद्यार्थी बराबरको सहुलियत दिन शिक्षामन्त्रीको आग्रह

नेपालखबर
माघ २९, २०७६ बुधबार ८:३३,

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले क्यानडामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई थप सहुलियत दिन माग गरेका छन्।

बुधबार क्यानडाको सिनेटका सभामुख महामहिम फुर्रेसँग शिक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री पोखरेलले नेपाली विद्यार्थीहरुलाई क्यानेडीयन विद्यार्थीले पाउने बराबरको सेवा सुविधा दिन माग गरेका हुन्।

भेटमा मन्त्री पोखरेलले क्यानडाले प्राविधिक शिक्षालाई राम्रोसँग विस्तार गरेको बताउँदै नेपालका टेक्निकल इन्स्टिच्युटको विकासमा सहयोग गर्न आग्रह गरे। त्यस्तै उच्च खालको जनशक्ति उत्पादनका लागि विश्वविद्यालय लेवलमा प्रोफेसर र विद्यार्थी समेत एक्सचेन्ज गरेर अनुभव आदान–प्रदान गर्न समेत मन्त्री पोखरेलले आग्रह गरेको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले बताए।

‘क्यानडामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई त्यहाँका उच्च शिक्षा प्रदायक संस्थाहरुबाट क्यानेडीयन विद्यार्थी बराबर सुहुलियत दिलाइदिन मन्त्रीज्युले माग गर्नुभएको छ’, केसीले नेपालखबरसँग भने, ‘प्राविधिक शिक्षामा सहयोग गर्न र उच्च खालका जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय स्तरको शिक्षामा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।’

उक्त विषयमा सहकार्य र सहयोग आदान प्रदानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालका लागि क्यानडाका राजदूतावासबीच थप छलफल गरी अगाडि बढ्ने विषयमा सहमति भएको केसीले बताए।

शिष्टाचार भेटघाट कार्यक्रममा क्यानडाको सिनेटका प्रतिपक्षी दलका नेता, सिनेटर, लगायत नेपालका लागि क्यानडाका राजदूत समेतको उपस्थिति रहेको थियो। सभामुख मुर्रेले आफू शिक्षकबाट राजनीतिमा आएर सभामुख बनेको हुँदा जुन देशमा जाँदा पनि शिक्षामन्त्रीलाई भेट्ने र त्यहाँको शैक्षिक अवस्थामा जानकारी लिने गरेको बताएका थिए। ‘म शिक्षकबाट आएर सभामुख बनेको हुँदा आफू गएका देशको शिक्षामन्त्रीलाई भेट्ने र त्यहाँको शैक्षिक अवस्थाबारे जानकारी लिने गरेको छु’, सभामुख मुर्रेको भनाइ उल्लेख गर्दै केसीले भने।

उक्त भेटघाटमा शैक्षिक अनुभव आदान प्रदानका साथै दुई देशबीच शैक्षिक क्षेत्रमा विशेष गरी उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम एवम् विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाका बारेमा छलफल भएको केसीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .