नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको जिल्ला सभापतिहरुसँग सभापति शेरबहादुर देउवाले छलफल गर्ने भएका छन्।
तीन दिनसम्म पार्टी केन्द्रीय मुख्यालयमा जारी पौडेल समूहका सभापतिहरुको भेला बुधबार सम्पन्न भएको छ। पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमै सभापतिहरुको भेला राखेपछि सभापति देउवा दबाबमा परेका थिए।
पौडेल समूहले तल्लोतहसम्म पार्टीको अन्तरविरोध पुर्याएर सांगठनिक रुपमै विरोध र प्रतिकार गर्ने योजना बनाएपछि सभापति समस्या समधानका लागि पौडेल पक्षधर सभापतिसँग छलफल गर्ने भएका छन्। त्यसका लागि बिहीबार बिहान सभापति देउवाले भेलामा आएका जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाएका छन्।
सभापति देउवाले बिहीबार बिहान १० बजे देउवानिवास बुढानिलकण्ठमा छलफलका लागि बोलाएको जानकारी आएको रोल्पाका सभापति अमरसिंह पुनले बताए। ‘सभापति ज्युले हामीलाई १० बजे बोलाउनुभएको छ’, जिल्ला सभापति पुनले नेपालखबरसँग भने, ‘हामी जान्छौं र हाम्रा कुरा राख्छौं।’
देउवा समूहले १४ औं महाधिवेशनको कार्यतालिका एकलौटी रुपमा तोकेको, विधान निलम्बन गरेको, विधान मिचेर विभागको संख्या थप गरी ४७ पु¥याएको, भ्रातृसंस्था तरुण दल र नेविसंघको कार्यकाल ६ महिना थप गरेको भन्दै पौडेल समूहले विरोध गर्दै आएको छ।
संस्थापन पक्ष पेलेरै जाने ‘मुड’मा देखिएपछि पौडेल समूहले थप दबाब दिन पार्टी कार्यालयमै आफूपक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको थियो। पार्टी प्रतिपक्षमा रहेको र सभापति देउवाले सशक्त प्रतिपक्षी नेताको भूमिका निर्वाह गर्न नसेकेको आरेप खेपिरहेका बेला पौडेल समूहले सभापतिको भेला गरेर थप दबाब दिएको हो। परामर्श बैठक नाम दिइएको उक्त भेलाको लिखित निर्णयलाई सभापति देउवासमक्ष पेश गर्ने तयारी भएको रोल्पा सभापति पुनले बताए।
उनका अनुसार पार्टीलाई नीति र विधिअनुसार चलाउन आग्रह गरिने, पार्टीको संरचनाबाटै पार्टी सदस्यता प्राप्ति र वितरण गर्नुपर्ने, आजसम्म भएका विवादित निर्णयहरुलाई फिर्ता गरेर अब पार्टीको पूर्ण बैठकबाट ती विषयको निर्णय गराउन माग गरिएको लिखित सुझाव पेश गरिने उनले जानकारी दिए।
प्रतिक्रिया