प्रहरीले चिनियाँ अधिकारीहरुको सहयोगमा पुस ७ गते नियन्त्रणमा लिएका १ सय २२ जनामध्ये अधिकांश ४० वर्षभन्दा कम उमेर समूहका युवायुवती भएको खुलेको छ।
चीनको फुजियान तथा हङकङ, थाइल्यान्ड र ताइवानबाट चिनियाँ माफियाहरुको प्रलोभनमा नेपाल आएका उनीहरुलाई बुधबार चीन फिर्ता पठाइएको छ।
चीन फिर्ता गरिएका १ सय २२ जनाकै नामावली नेपालखबरलाई प्राप्त भएको छ। यो नामावलीमा १ सय २ जनाको जन्ममिति र राहदानी नम्बर समेत खुलाइएको छ।
ती युवायुवतीहरु केही हजार चिनियाँ युआन र आईफोनको प्रलोभन तथा मोजमस्तीका लागि नेपाल आई साइबर अपराधमा सक्रिय थिए।
चिनियाँ माफियाहरुले नेपालका उच्च अधिकारीहरुसँगको सम्पर्क र पहुँचका आधारमा यसरी आउने युवायुवतीकै नाममा सफ्टवेयर कम्पनी, रेस्टुरेन्ट र होटल दर्ता गराएका थिए। तिनै व्यवसायको आवरणमा उनीहरु अपराधकर्म गरिरहेका थिए। उनीहरुले चीनका ठूला बैंकबाट तानेको रकम हुन्डीमार्फत चीन, थाइल्यान्ड, फिलिपिन्स र सिंगापुरमा पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
‘नेपालबाट बुधबार चीन लगिएका युवायुवतीहरुलाई त्यहाँ हिरासतमा राखेर थप अनुसन्धान हुन्छ,’ उच्च स्रोतले नेपालखबरसँग भन्यो ‘दोषी देखिए कारबाही हुन्छ।’
अध्यागमन विभागले तीमध्ये ३४ जनालाई जनही २ हजार र ८८ जनालाई १ हजारका दरले जरिवाना तथा ४ वर्ष प्रवेश निषेधको निर्णय गरेर फिर्ता पठाएको हो।
नेपालस्थित चिनियाँ दूतावासले अध्यागमन विभागलाई नेपालमा पक्राउ परेकाहरुको इन्ट्री परमिटका आधारमा फिर्ता लैजाने प्रबन्ध मिलाइदिन अनुरोध गरेको थियो।
चीनले १ सय २२ जना आफ्ना नागरिकलाई बुधबार दुई चार्टर्ड विमानमा फिर्ता लगेको छ। चाइना साउदर्नको उडान नम्बर सीजेड ३००२ मा ४२ र चाइना इस्टर्नको उडान नम्बर ७१७६ मा ८० जनालाई फिर्ता लगिएको विभागले जानकारी दिएको छ।
उनीहरुलाई लिन चार्टर्ड फ्लाइटमा सानो संख्यामा चिनियाँ सुरक्षाकर्मी समेत आएका थिए। तर उनीहरु विमानबाट बाहिर निस्किएनन्।
केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले पुस ७ मा बिहानदेखि काठमाडौंका ९ घरमा छापा मारेर ती सबैलाई पक्राउ गरेको थियो।
चीनले नेपालमा कारबाही थाल्नुअघि यु आइहाइ, झाङ झाङ्मु र चु चिङलाई खोजीदिन आग्रह गरेको थियो। नेपालमा बिजनेस भिसामा आउजाउ गरिरहेका उनीहरु शंकाको पहिलो घेरामा थिए। यसबाहे याङ डोङ, जिआव चाव, चेन सितियान र वु रोङफेङ समेत चीनको खोजीमा थिए। तर उनीहरु सबै कारबाही सुरु हुनुअघि नै र सुरु भएपछि नेपालबाट भाग्न सफल भएका थिए। जसका कारण चीनले गृह मन्त्रालयका उच्च अधिकारीसँग आपत्ति समेत जनाएका थिए।
गृहमन्त्रालयका उच्च अधिकारीहरुसँगको भेटमा चीनियाँ गृह मन्त्रालयका निर्देशक वाङवाङ हो नेतृत्वको टोलीले नेपालमा चीनको फुजियान प्रान्तका एकहजार भन्दा बढी अपराधी सक्रिय रहेको बताएका थिए। पहिलो चरणमा ३ सयजतिलाई पक्रिएर देश निकाला गर्न उनले आग्रह गरेका थिए।
तर, प्रहरीले १ सय २२ जनालाई मात्र समात्न सक्यो। मुख्य आरोपी भागेपछि अप्रेसन असफल भएको निष्कर्षमा चिनियाँ टोली पुगेको थियो।
वाङवाङको टोलीले नेपाली अधिकारीहरुलाई फुजियान प्रान्तबाट बारम्बार नेपाल आउजाउ गर्ने व्यक्तिका विषयमा समेत सतर्क रहन आग्रह गरेको छ। योसँगै अध्यागमन विभागले फुजियानबाट नेपाल आएका चिनियाँ नागरिकका विषयमा विस्तृत सूचना जुटाउनुका साथै नेपाल प्रवेशकै क्रममा सोधपुछ पनि थालेको छ।
चिनियाँ विशिष्ट सुरक्षा टोलीले गृहका अधिकारीहरुसँग यो समूहले चिनियाँ युवाहरुलाई कामदारका रुपमा नेपाल ल्याउने र अपराधमा संलग्न गराउने गरेको जानकारी दिएको थियो। उनीहरुका अनुसार यो समूहले चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लील सामाग्री देखाएर रकम लिने गरेको थियो।
प्रहरीले काठमाडौं र ललितपुरका ७० भन्दा बढी घरमा छापा मार्ने योजना बनाएपनि अन्ततः ९ वटा घरमा मात्र छापा मारिएको थियो। ४ अर्ब लगानीमा २१ वटाभन्दा बढी बैधानिक रुपमा खुलेका सफ्टवेयर कम्पनीमार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धरासायी बनाउन साईबर अपराध गरिरहेको जानकारी प्रहरीलाई भएपनि उसले त्यो सूचनालाई बेवास्ता गरेको थियो।
पक्राउ परेका चिनियाँका नामावली :
प्रतिक्रिया