नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्ता गठबन्धनले गरेको टिकट वितरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सुनसरी–१ सत्ता साझेदार नेकपा माओवादी केन्द्रको भागमा परेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन वञ्चित भएपछि विश्वकर्माले टिकट वितरण प्रक्रियालाई ‘चामल दिएर पिठो साट्ने’ को संज्ञा दिएका छन्।
‘टिकट वितरण गर्दा अधिकांश क्षेत्रमा बर्बर राज्यकालमा ‘अन्धेर नगरि चौपट राजा, टक्की शेर भाजी टक्की शेर खाजा’ र कतिपय क्षेत्रमा ‘चामल दिएर पिठो साट्ने’ भने जस्तै भएकोले अपेक्षित परिणामका लागि गम्भीर भएर लाग्नु पर्ने देखिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
विश्वकर्माले गुनासोलाई थाँती राखेर सफल परिणामका लागि सबै जुट्नु आवश्यक रहेको पनि उल्लेख गरेका छन्।
उनले प्रयास गर्दागर्दै पनि आफूले टिकट नपाएको प्रष्टीकरण पनि दिएका छन्।
‘मैले प्रत्यक्षमा टिकट नलिएको होइन, आफ्नो क्षेत्रबाट प्राथमिकता साथ १ नम्बरमा राखेर सिफारिस भएको तर हर प्रयत्न गर्दा पनि विभिन्न बहानामा नपाएको सत्य हो,’ विश्वकर्माले भनेका छन्, ‘आँट गरेन, हिम्मत गरेन, लिन मानेन भनेर कसैले भ्रम फिँजाएको भए त्यो शतप्रतिशत झुट हो।’
सत्ता गठबन्धनले सुनसरी–१ मा माओवादीका मुक्साहाङ मेन्याङ्बो, २ बाट कांग्रेसका सीताराम मेहता, ३ बाट कांग्रेसकै विजयकुमार गच्छदार र ४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ।
Shares
प्रतिक्रिया