अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभर बिहीबार नेपाल आए। दुई दिनसहित तीन रातको नेपाल बसाईमा उनले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षा सचिव रेश्मीराज पाण्डे र प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेग्लाबेग्लै भेटघाट र छलफल गरे।
उनले महत्वपूर्ण द्विपक्षीय भेटघाटमा एउटै एजेण्डालाई छलफलको बिषय बनाए। उनले उठाएको एजेण्डा थियो– नेपाली सेनासँग प्रतिरक्षा सहकार्य। जसअन्तर्गत सेनाको प्रतिरक्षा विश्वविद्यालय, मानवीय तथा प्रकोप व्यवस्थापन, द्विपक्षीय सैन्य अभ्यास र तालिम तथा प्रतिआतंकबाद बिषय समेटिएको थियो।
स्रोतहरुका अनुसार नेपाल भ्रमणमा रहेका स्क्राइभरले अमेरिकी रणनीति अन्र्तगतको मुख्य बिषय इन्डो प्यासिफिक कमाण्ड अन्र्तगत नेपाललाई समावेश गर्ने मुख्य विषयमा भन्दा त्यसअन्तर्गतका ‘कम्पोनेन्ट’ हरूबारे बढि संलग्न रहे।
अमेरिकी राजदूत निवासमा शुक्रबार संचारकर्मीहरुसँगको भेटमा उनले यो रणनीतिमा नेपाल समावेश हुने नहुने बिषय नेपालका नागरिकमैं निर्भर गर्ने टिप्पणी गरेका थिए।
स्क्राइभरले अमेरिका विश्व आतंकबाद, विकास र प्राकृतिक प्रकोपबाट उन्मुक्तिका लागि सहकार्यको माध्यम इन्डो-प्यासिफिक कमाण्डलाई बनाउन चाहेको स्पष्ट पारेका थिए।
नेपाली सेनासँग संयुक्त सैन्य तालिमसहित सैनिक सहकार्य र सहयोग जस्ता ६ बिषयमा काम गरिरहेको इन्डोप्यासिफिक कमाण्डले भौतिक तथा सैन्य सहयोग बढाउदै लगेको छ। सहायक रक्षामन्त्री स्क्राइभर नेपालमै रहेका बेला आईतबार दुई वटा स्काइ ट्रक नेपाल आईपुगे।
पहिलो खेपमा संयुक्त राज्य अमेरिकाको इन्डो-प्यासिफिक कमाण्डले पोल्याण्डमा निर्मित २ वटा पिजेडएल एम–२८ स्काई ट्रक नेपाललाई दिएको हो। अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तान्तरण गरिन लागेका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका हुन्। अमेरिकाले दोस्रो खेपमा थप २ जहाज प्रदान गर्नेछ।
अमेरिकी सेनाले २०७२ को महाभूकम्पलगत्तै ४ वटा स्काइ ट्रक पठाउने तयारी गरेको थियो। ती केही पुराना थिए। अहिले नेपाल आईपुगेका स्काइ ट्रक ब्रान्ड न्यू हुन्।
नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले भूकम्पछि गरेको अमेरिकाको औपचारिक भ्रमणमा यससम्बन्धी सहमति भएको हो।
अमेरिकी सेनाले सरकारको सहमतिमा वार्षिक रुपमा आफु निकट देशका सेनालाई फरेन मिलिट्री फन्ड अन्र्तगत सैन्य सामाग्री सहयोग गर्दै आएको छ।
यस्तै स्क्राइभर आफै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा पुगेर १९ लाख अमेरिकी डलरको लागतमा निर्माण भएको लुम्बिनी हाउस पनि शुक्रबार हस्तानान्तरण गरे।
भुकम्पमा भत्किएको संरचनामा सेनाले अमेरिकी सहयोगमा बहुउपयोगी भवन निर्माण गरेको हो। नेपाली कलात्मक भवन नेपाली सेनाले विश्व शान्तिमा पुर्याएको अविस्मरणीय योगदानको कदर भएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको टिप्पणी थियो।
अमेरिकी सेनाको गुप्तचर पृष्ठभुमीबाट आएका स्क्राइभर चीनस्थित अमेरिकी दुतावासमा काम गरेका ताईवान मामिला विज्ञ हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०७५ पुष २४ मा सहायक रक्षामन्त्री नियुक्त गरेका उनलाई इन्डो प्यासिफिक रणनीति सफल बनाउने मुख्य जिम्मेबारी तोकिएको छ।
अमेरिकी रक्षा मन्त्रालयले बनाएका ६ वटा सैन्य संरचनामध्ये सबैभन्दा ठुलो इन्डो प्यासिफिक कमाण्डको नेतृत्वकर्ता स्क्राइभरको नेपाल भ्रमण विश्वलाई भूगोलका आधारमा एकीकृत सुरक्षा रणनीतिमा सहकार्य गर्ने अमेरिकी गुरुयोजनाको वातावरण बनाउनु थियो।
हिन्द र प्रशान्त महासागर क्षेत्रका ३६ देश रहेको यो कमाण्डमा अमेरिकी सेनाका सबै विभागहरु सम्मिलित छन्। यही कमाण्ड अन्र्तगत विश्वको आधाआधी जनसंख्या समेत अटाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले नेपालसँग शान्ति प्रयास सहकार्य, रक्षा व्यावसायीकरण, स्थल फौजको क्षमता अभिवृद्धि, प्रकोप व्यवस्थापन र प्रतिआतंकवाद जस्ता क्षेत्रमा सहकार्य गर्ने भन्दै इन्डो–प्यासिफिक रणनीति सार्वजनिक गरेको छ।
प्रतिक्रिया