जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई विजयी भएका छन्।
शनिबार भएको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चपाईले २० मत ल्याएर विजयी भएका हुन्।
नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याए। उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोवी १६ मत ल्याएर विजयी भएका छन्। एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन्।
सदस्यहरूमा कांग्रेसबाट विष्णुमाया सुवेदी जयसवाल, राजमन प्रसाद हरिजन, अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल विजयी भएका छन्।
त्यस्तै लोसपाका मुकेश कुमार पाण्डे, बधनी चमार, र माओवादी केन्द्रकी मन्जु परियार, विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१६ स्थानीय तह रहेको रुपन्देहीमा ३२ मतभार रहेको छ। जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा लोसपा,माओवादी केन्द्र र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबीच सहकार्य भएको थियो। एमाले एक्लै चुनावमा होमिएको थियो।
तीन मत भएको लोसपालाई कांग्रेसले उपप्रमुख र २ सदस्य दिएको थियो। जनता प्रगतिशील पार्टी र माओवादी केन्द्रलाई एक एक सदस्य दिइएको थियो।
जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। मर्चवारीमै कार्यपालिका सदस्य निर्वाचित भएका रामजनम प्रसाद हरिजन कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए।
Shares
प्रतिक्रिया