ad ad

राजनीति


नेकपाभित्र माओवादी एकीकृत, एमालेमा बिग्रह

नेकपाभित्र माओवादी एकीकृत, एमालेमा बिग्रह

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ५:१४,

सात प्रदेशका प्रमुखहरूको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्वएमाले समूहमा विवाद देखिए पनि पूर्वमाओवादी पक्षलाई भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्तुष्ट बनाएका छन्।

यसअघिका कतिपय राजनीतिक नियुक्तिहरूमा चर्को आलोचना खेप्ने गरेका अध्यक्ष दाहालले यसपटक पार्टीभित्रको सम्भावित समीकरणलाई ख्याल गर्दै आफ्नो समूहका नेताहरुलाई सन्तुष्ट बनाएका हुन्।

पूर्वमाओवादीको भागमा परेका तीन प्रदेश प्रमुखहरूमा आफ्नो समूहभित्र रहेका तीनै पक्षलाई अध्यक्ष दाहालले समेटेका छन्। नारायणकाजी श्रेष्ठ निकट अमिक शेरचन, रामबहादुर थापा निकट तिलक परियार र आफू निकट शर्मिला त्रिपाठीलाई नियुक्त गरेर उनले समावेशी र एकीकृत कदमको सन्देश दिन खोजेका छन्।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य र पूर्वएमाले समूहभित्रको आन्तरिक किचलोलाई ध्यानमा राखेर अध्यक्ष दाहालले आफ्नो पंक्तिलाई एकीकृत राख्ने रणनीति अन्तर्गत यस्तो निर्णय गरेको उनी निकट नेताहरूबीच चर्चा हुने गरेको छ।

‘अध्यक्ष दाहालले प्रदेश प्रमुखमा दलित, जनजाति र महिलालाई अवसर दिएर सबै क्षेत्रलाई समेटेर समावेशी प्रतिनिधित्व गराउँदा पार्टीभित्र र सार्वजनिक रुपमा पनि प्रशंसा भएको छ’, नेकपाका एक जना सचिवालय सदस्यले भने।

अध्यक्ष दाहालको यो कदम रणनीतिक छ भन्ने संकेत उनी आफैंले नेपालगञ्ज पुगेर दिएका छन्। पूर्वएमाले समूहमा परेका चारै कोटामा अध्यक्ष ओलीले एकलौटी गरेपछि चिढिएका बरिष्ठ नेता माधव नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। ‘आफूले भनेका मान्छे नपरेपछि फरक मत राखिएको’ भनेर दाहालले सार्वजनिक रुपमै पूर्वएमाले समूहमा विवाद रहेको संकेत दिएका थिए।

‘पूर्वमाओवादी समूहको आफू सर्वसम्मत नेता हुँ तर पूर्वएमाले समूहमा विवाद छ’ भन्ने सन्देश दिन दाहालको त्यो अभिव्यक्ति आएको पूर्वएमाले समूहमा चर्चा छ।

गृहमन्त्री रहेका पूर्वमाओवादी नेता रामबहादुर थापालाई केही समयअघि प्रधानमन्त्री ओलीले आफूतिर तान्न लागेको थाहा पाएर सशंकित भएका दाहालले त्यसयता आफ्नो समूहका नेताहरूलाई नचिढ्याउने नीति लिएको देखिन्छ।

‘पूर्वएमाले समूह ठूलो रहेपनि विवादले गर्दा सर्वसम्मत नेता नभएको अवस्थामा दाहालले आफूलाई निर्विवाद रुपमा उभ्याउन कोसिस गरिरहेको देखिन्छ’, नेकपाका एक जना स्थायी कमिटी सदस्यले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .