ad ad

राजनीति


कांग्रेस महाधिवेशन : ५० हजार जरिवाना तिर्ने कि लकडाउनलाई शून्य समय मान्ने?

संकट टार्न यसरी बनाइँदैछ योजना
कांग्रेस महाधिवेशन : ५० हजार जरिवाना तिर्ने कि लकडाउनलाई शून्य समय मान्ने?

केशव सावद
साउन १७, २०७८ आइतबार १३:९, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार नहुने निश्चितप्रायः भएको छ। कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन सुरु हुन अब मात्र ३२ दिन मात्रै बाँकी छ।

तर, कांग्रेस केन्द्रीय निर्वाचन समितिले चुनावी प्रक्रिया सुरु गरेको १९ औं दिनमा मात्रै वडा तहको अधिवेशन सुरु गर्न सकिने भएको छ। निर्वाचन समितिले केही समयअघि पार्टीलाई बुझाएको निर्वाचनको प्रारम्भिक खाकामा प्रक्रिया सुरु गरेको १९ औं दिनमा वडा तहमा अधिवेशन गर्न सकिने उल्लेख छ। 

समितिले निर्वाचन निर्देशिका छाप्न पाँच दिन र निर्देशिका, विधान, नियमावली, प्रमाणपत्र प्याकिङलाई तीन दिन लाग्ने जनाएको छ। यी सामाग्री जिल्ला पु¥याउन चार दिन, जिल्लामा छलफल गर्न दुई दिन, जिल्लाबाट वडामा पुर्‍याउन पाँच दिन लाग्ने पनि प्रारम्भिक खाकामा उल्लेख गरिएको छ।

निर्वाचन समितिलाई प्रक्रिया पूरा गरेर वडा तहको अधिवेशन सुरु गर्न १९ दिन लाग्ने भएका कारण बाँकी १३ दिनमा समितिले अन्य ६ तहको निर्वाचन असम्भव देखिन्छ। 

यद्यपि, निर्वाचन समिति संयोजक महादेव यादवले भदौ १६–१९ मै महाधिवेशन सम्भव रहेको जिकिर गरे। ‘वर्षा–बाढी, कोरोना छ । कति सम्भव, कति असम्भव भन्न सहज छैन,’ भदौमै महाधिवेशन सम्भव छ ? भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘हामी महाधिवेशन सम्पन्न गर्ने तयारीमै छौँ।’

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पनि पूर्वनिर्धारित मितिमै महाधिवेशन उद्घाटन हुने अभिव्यक्ति दिँदै आएका छन्। उनले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकहरूमा पटक–पटक महाधिवेशन मिति यथावत राखेर तल्लो तहका अधिवेशन कार्यतालिका हेरफेर गर्न निर्देशन दिएका थिए। 

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। उक्त कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते भनिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो।

तर, साउन ९ गते देउवा निवास बूढानीलकण्ठको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने भनिएको गाउँ-नगर वडा अधिवेशन स्थगित गरेको थियो। क्रियाशील सदस्यता विवाद नसुल्झिएकाले साउन १२ मा हुने भनिएको गाउँ-नगर वडा अधिवेशन स्थगित भएसँगै महाधिवेशन अन्योलमा परेको छ। 

गाउँ-नगर वडा अधिवेशन स्थगित भएपछि अन्योलमा परेको महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्न कांग्रेसमा विकल्प खोजी भइरहेको छ। आगामी भदौ १९ सम्म महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता कांग्रेसलाई छ।

विधान अनुसार कांग्रेसका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहमा विभाजित गरिएको छ। विधानअनुसार पार्टीको सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर-गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति छन्। 

संविधानअनुसार हरेक साढे पाँच वर्षभित्र सबै राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । कांग्रेसको विधानले चार वर्षको कार्यकाल तोकेको छ । चार वर्षभित्र हुन नसके एक वर्ष थप्न सकिने प्रावधान छ । 

संविधानले पाँच वर्षभित्र गर्न नसके कारण खुलाएर थप ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । भदौ १९ बाट संविधानले दिएको थप ६ महिनाको समय सकिँदै छ । महाधिवेशन गर्न कांग्रेस नेतृत्व पटकपटक असफल भएको छ। पाँचौँ प्रयासमा पनि महाधिवेशन गर्न असफल भएको कांग्रेसले छैटौँ पटक महाधिवेशन कार्यतालिका संशोधन तयारी गरिरहेको छ।

‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ,’ संविधानको धारा २६९ को उपधारा ४ को (ख) मा भनिएको छ। यस्तै सोही धाराको उपधारा (ग) मा ‘तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भनिएको छ। 

२०७२ फागुन २३ मा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए। संविधानको धारा २६९ को उपधारा ४ को (ख) को व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिको अवधि २०७७ फागुनमै पूरा भएको हो। 

तर, सोही धाराको सोही उपधाराको (ख) को व्यवस्थाअनुसार ६ महिना पदावधि थप गर्दै कांग्रेसले भदौ २३ गतेसम्म वैधानिक बन्ने बाटो तय गरेको छ। यसपछि पनि महाधिवेशन नगरे कांग्रेसलाई वैधानिक संकट आइपर्ने छ। यसर्थ भदौ २३ भित्रै महाधिवेशन सक्नुपर्ने बाध्यात्मक चुनौती छ। 

वैधानिक संकट आए के हुन्छ ?

संविधानतः कांग्रेसको महाधिवेशन भदौभित्र भइसक्नुपर्ने छ। भदौभित्र महाधिवेशन गर्न नसके कांग्रेसले ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्नेछ। संविधानअनुसार महाधिवेशन हुन नसके ५० हजार रुपैयाँ जरिवाना तिरेर अवधि बढाउन पाइन्छ। 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १६ को उपदफा २ मा ‘विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा त्यस्ता पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसक्ने भएमा विधानमा व्यवस्था भए बमोजिम आयोगलाई जानकारी गराई त्यस्तो अवधि पूरा भएको मितिले ६ महिनाभित्र त्यस्ता पदाधिकारीको निर्वाचन गर्नुपर्नेछ’, भन्ने उल्लेख छ। 

महाधिवेशन सार्ने सम्भावित कदम

क) कांग्रेसले संवैधानिक अड्चन सुल्झाएर पार्टीको वैधानिकतामा प्रश्न नउठ्ने गरी महाधिवेशन मिति सार्न सक्छ। सभापति देउवानिकट एक नेताले नेपालखबरलाई कानुनी छिद्रमा टेकेर महाधिवेशन सार्ने तयारी भइरहेको जानकारी दिए। उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार ५० हजार जरिवाना तिरेर महाधिवेशन सार्न सकिने बताए।

ऐनको दफा ५४ को उपदफा १ को (ख)को व्यवस्थालाई आधार मानेर महाधिवेशन सार्ने तयारी भइरहेको ती नेता बताउँछन्। दफा ५४ को उपदफा १ को (ख) मा पाँच वर्षमा केन्द्रीय र प्रदेश समिति निर्वाचन नगरेमा ५० हजार सजाय हुने व्यवस्था छ। ‘दफा १६ को उपदफा 

(१) बमोजिम केन्द्रीय समिति र प्रदेश समिति निर्वाचन नगरेमा’ सजाय हुने दफा ५४ को उपदफा १ को (ख)मा व्यवस्था गरिएको छ।

ख) कांग्रेसले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको बन्दाबन्दी 

(लकडाउन) अवधिलाई शून्य समय मानेर महाधिवेशन सार्न सक्छ। सभापति देउवानिकट ती नेताका अनुसार लकडाउनलाई शून्य समय मानेर महाधिवेशन सार्न सकिने विकल्प कांग्रेससँग छ। 

सर्वोच्च अदालतले २०७७ साल जेठ १५ गते ‘लकडाउन’को अवधिलाई शून्य अवधि मानेको थियो। त्यसकै जगमा महाधिवेशनका लागि थप समय प्राप्त हुने ती नेताको दावी छ। 

ग) संवैधानिक अड्चन सुल्झाएर पार्टीको वैधानिकतामा प्रश्न नउठ्ने गरी र लकडाउनलाई शून्य समय मानेर महाधिवेशन सार्ने विषयमा पार्टीभित्र सहमति जुट्न नसके भदौ १६ भित्रै प्रक्रिया सुरु गर्ने सम्भावना पनि देखिएको छ।

दसैं–तिहारपछि महाधिवेशन !

कांग्रेस उच्च स्रोतले विकल्पहरूमा सहमति नजुटे भदौ १६ भित्रै वडा अधिवेशन सुरु गर्ने गरी नयाँ कार्यतालिका आउने दाबी गरेका छन्। ‘नयाँ कार्यतालिका कस्तो बनाउने भन्नेबारे छलफल जारी छ। विकल्प बाँकी नै छन्,’ ती नेताले भने, ‘भदौ १६ भित्र वडा अधिवेशन सुरु गरेपछि हामी महाधिवेशनको चरणमै रहेको भनेर अगाडि बढ्न पनि सक्छौं।’ 

स्रोतका अनुसार महाधिवेशनको नयाँ कार्यतालिकामा वडा तहका अधिवेशन भदौ १६ भित्रै, आगामी असोजमा जिल्ला अधिवेशन र दसैं–तिहारपछि केन्द्रीय महाधिवेशन कार्यतालिका ल्याउने तयारी भइरहेको छ। 

‘भदौ १६ भित्रै वडा अधिवेशन सुरु गरेर असोजमा जिल्ला अधिवेशन गर्न सकिन्छ। दसैं–तिहारपछि केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ,’ कांग्रेस उच्च स्रोतले भन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .