काठमाडौंबाहिर कस्तो छ, त्यो त भन्न सकिन्न तर केन्द्रीय राजधानीमा बेलाबेला तरंग ल्याउन केही न केही प्रश्न छन्; जुन या त महिला र उनका लैंगिक पहिचान वा तिनका यौनिकतासँग जोडिएका हुन्छन्। उसो त बेलाबेला सीमान्तकृत समुदाय र तिनका पहिचानका कुराले पनि तरंग ल्याउँछ। सायद विविध आडम्बर र साँघुरो सोचका पर्खालभित्र खुम्चिएको र जबर्जस्ती चुपचाप हिँड्ने बानी परेको समाज भएर हो कि सानातिना/सामान्य कुराले पनि तरंगित हुने गर्छ!
धेरै टाढा नगई १–२ वर्षकै घटना स्मरण गर्ने हो भने पनि ती प्रायः यौनिकता र लैंगिकतासँगै सम्बन्धित छन्; महिलाका ढाड या पेटका कुरा!
आखिर किन? ढाड र पेट शरीरका अंग न हुन्, चाहे ती जुनसुकै लिंगका मानिस हुन्। तरंगित समाज प्रश्न उठाउन जति हतार गर्छ र उठाउँछ, त्यसको समयसुहाउँदो जवाफ दिन त चाहन्न नै; जवाफ सुन्न/मनन गर्न पनि चाहँदैन। किनकि ती तरंगसँग जोडिएका आयाम ती समुदायसँग लगेर जोडिन्छ, जो सामाजिक संरचनाको छिद्रमा दबाइएका हुन्छन्। दबाउन प्रयोग गरिने हतियारमध्ये सबैभन्दा बलियो र विषालु हतियार हो– यौनिकता।
त्यसो त यो हतियार हाम्रो जस्तो साँघुरो समाजमा मात्र होइन, संसारका विकसित र उन्नत भनिएका देश र समाजमा पनि प्रयोग गरिन्छ। तरिका र मात्रा मात्र फरक हो।
महत्त्वपूर्ण र विषालु हतियार भएर होला, यौनिकता र लैंगिकता– समाज विज्ञानका महिलावादी (महिला–पुरुष) अनुसन्धानकर्ता र प्राज्ञको विषयको केन्द्रमा सधैं रहन्छन। तर यौनिकता र लैंगिकतालाई समाजको धरातलीय परिवेशमा विश्लेषण तथा यसको अन्तरसम्बन्धको व्याख्या कसरी गर्ने भन्ने विषयमा फरकफरक धारणा पाइन्छन्। एउटा कुरामा सबै खाले महिलावादी (पुरुष–महिला) सहमत देखिन्छन्; लैंगिकता वा यौनिकता– दुवैका बहस/विश्लेषण/व्याख्यामा ‘यौन’लाई केन्द्रमा राख्छन्।
यो आलेखमा लैंगिकता र यौनिकताको शाब्दिक परिभाषा गर्न खोजिएको होइन, बरु ती शब्दको अवधारणालाई हाम्रोजस्तो साँघुरो सोचको समाजमा कसरी बुझिन्छ र प्रयोग गरी एउटा निश्चित लैंगिक पहिचानका मानिसविरुद्ध जेहाद छेडिन्छ भन्ने सन्दर्भ उठाउने प्रयास मात्र गरिएको हो।
केही वर्षयताका परिघटना मात्र सम्झने हो भने पनि त्यस्ता थुप्रै जेहाद छेडिएका छन्, जसले पुरुषबाहेक अन्य लैंगिक पहिचानका मानिसलाई प्रहार गरेका छन् र त्यसको केन्द्रमा यौनिकता छ। महिलाका ढाडका कुरा हुन् वा गर्भावस्था व्यक्त गर्ने सन्दर्भ अथवा छोटा लुगा लगाउनुलाई नै बलात्कारको कारक ठान्नेजस्ता लञ्छना। अझ बढी प्रहार त तिनलाई गरिन्छ, जो महिला–पुरुष दुवैभन्दा फरक लैंगिक पहिचान कायम गर्न चाहन्छन्। अन्य समाजमा जस्तै हाम्रो सामाजमा पनि यौनिकताको अवधारणा वा मर्म बुझ्न साँघुरो समाजको परिवेश खोतलेर मात्र पुग्दैन, हामीले अपनाएको उदार–पुँजीवादी राजनीतिक प्रणाली, जसले बजारलाई सर्वेसर्वा ठान्छ र मानवीय मूल्य–मान्यता, जीवनशैली, जीविकालगायत पक्षलाई निर्देश गर्न बिना रोकतोक छाडिदिन्छ, लाई विश्लेषण गर्नुपर्ने हुन्छ।
यसरी मनपरी गर्ने छुट राजनीतिक प्रणालीले नै सुनिश्चित गरिदिएपछि बजार जो स्वभावैले नाफामुखी हुन्छ, ले आफ्ना नाफाकेन्द्रित रणनीति तय गरी समाजका पुराना, धमिरा लागिसकेका, ढल्न बाँकी रहेका वैचारिक र संरचनागत सामन्ती व्यवहार, सोच र प्रक्रिया आधुनिकीकरण गर्ने नाममा भत्काउने प्रयास त गर्छ, तर सांस्कृतिक रूपान्तरण र प्रगतिशील संरचना परिकल्पना गर्न सक्दैन। त्यसैगरी राजनीतिक प्रणालीको खाकाभित्र नाफाका लागि मनलाग्दी गर्ने बजारका मूल्य–मान्यता र अपेक्षालाई हाम्रा अन्य सामाजिक संरचना– मूल रूपमा परिवार, समुदाय, छरछिमेक, सञ्चारमाध्यम र राज्यका कतिपय अंग–निकायले आत्मसात् गर्ने मात्र नभएर प्रवर्द्धनसमेत गर्ने गर्दा हाम्रा सामाजिक सम्बन्ध पनि बजारीकरणतिर रूपान्तरण हुन्छन्।
समाजवादी महिलावादी चिन्तकका अध्ययनाई आधार मान्ने हो भने बजारको प्रभाव यसरी क्रमशः हावी हुँदै जाँदा पुराना मूल्य-मान्यता बजारकै सर्त-स्वार्थ फेरिँदा सामाजिक-सांस्कृतिक रूपान्तरण प्रक्रियाले बाटो बिराउने मात्र होइन, सामाजिक सम्बन्धका व्याख्या र बुझाइ सामाजिक न्याय नहुने जोखिम बढ्दै जान्छ र हाम्रा दिनचर्या, अन्तरक्रिया र मानवीय सम्बन्ध विभेदकारी, पक्षपाती र दोषी हुन जान्छन् र यौनिकताका आधारमा गरिने विभेद झन् जटिल हुँदै जान्छ। विभेद त बजारले अन्य विविध माध्यमबाट पनि गरिरहेकै हुन्छ, तर यहाँ उठाइएको सन्दर्भ यौनिकता भएका कारण यही पक्षलाई जोड दिन खोजिएको हो; लौगिंकतासँग अन्तरसम्बन्ध खोतल्ने प्रयास गरिएको हो, यो ठीक कि बेठीक भनी विश्लेषण गर्ने चेष्टा गरिएको होइन।
हिजो धर्मका आडमा बनाइएको विभेदकारी/पक्षपाती संस्कृति, जसलाई समाजिक मूल्य–मान्यता भनेर जबर्जस्ती थोपरियो र लैंगिकताका आधारमा व्यक्तित्व निर्माणका मापदण्ड निर्धारण गरिए; अनि जन्मिनासाथ ती कुरा लिंगका आधारमा लादिए। यसका लागि इज्जतको डण्डा चलाइयो। समाजले तोकेका मापदण्ड पालना नगरे घरपरिवार, समाज र कतिपय सन्दर्भमा देशकै इज्जत फालेको भनेर विभिन्न लाञ्छना लगाउन थालियो। छोरीले जन्मघरको, बुहारीले जन्मघर–कर्मघर दुवैको तथा महिलाले समाज–देशको इज्जत राख्नुपर्ने दायित्व तोकियो। त्यस्ता विभेदकारी मूल्य–मान्यतालाई सामाजिक संस्कार ठानेर संरक्षण गर्ने सोच नै वास्तवमा संक्रमणकालीन समाजको समस्याको जरो हो।
एकातिर हामीलाई राजनीतिक प्रणालीले तय गरेको बेलगाम बजार पनि चाहिएको छ, किनकि त्यसले हामीलाई आधुनिक बनाउँछ भन्ने सोच छ, अर्कातिर आधुनिकताका नाममा त्यो बजार यौनिकतालाई प्रयोगका क्रममा कस्ता संस्कार प्रवर्द्धन गर्ने, कस्ता लुगा र अन्य सामग्री उत्पादन गर्ने र कसलाई कसरी प्रयोग गरी कति नाफा कमाउने भन्ने रणनीति बनाउन व्यस्त छ। अनि हामीलाई चाहिए पनि नचाहिए पनि बजारले उत्पादन/आयात गरेका लुगा तथा अन्य सामग्री प्रयोग गर्नुको विकल्प छैन। उता आधुनिकताका सूत्र पस्किन माहिर हाम्रा सञ्चारमाध्यम र तिनका संरचना जो नाफामुखी बजारका प्रमुख अंग हुन्, ले भित्र्याएका नयाँ–नयाँ संस्कृति र ढर्रा पनि अपनाउन हामी अभिशप्त छौं। किनकि मानवशास्त्रीय अध्ययनले भनेझैं हामी हिजोका सामन्ती संरचनाका आज्ञाकारी दास होइन, आधुनिक समाजका सचेत, स्वतन्त्र, सार्वभौम नागरिक भएर बाँच्न चाहन्छौं। यथार्थमा भन्दा हिजोको सामन्ती संरचनाको दासत्वबाट त हामी मुक्त भएका छैनौं नै– लैंगिकता र यौनिकताका बहानामा लादिएका विषालु सर्त, मापदण्डले हामीलाई बाँधिरहेकै छन्; त्यसमाथि उदारवादी बजारले ती पुराना मूल्य–मान्यतालाई परिमार्जित रूपमा थप जटिल बनाएर झन् कसिलो बनाएको छ। हामी आधुनिक र पुरातन मापदण्डको कहिले नफुत्कने बन्धनमा परेका छौं भन्दा फरक नपर्ला।
यो सांस्कृतिक संक्रमणको जालोमा बेरिएका हामी आज प्रश्न गरिरहेका छौं– तिमी घर, समाज र देशको इज्जत राख्ने छोरी–बुहारी भएर किन छोटा लुगा लगाएर हिड्छौं? किन ढाड देखाउने चोली लगाउँछौं? अनि खिसिटिउरी गर्छौं– फलानाले त गर्भ भएको पेट देखाइन्! तर हामी नवउदारवादका नाममा हाम्रा जीवनशैली, संस्कृति र आवश्यकतामा मनलागी गर्ने नाफाखोर बजारलाई कहिले प्रश्न गर्छाैं? गर्दैनौं। किनकि लैंगिक र यौनिकताको पहिचानलाई लिलाम गरी आधुनिकताको अनन्त यात्रा गर्नुछ।
त्यसो त नाफाखोर बजार र उसका स्वार्थलाई विज्ञापन गरी समाजलाई प्रभाव पार्ने सञ्चार–संरचना मात्र होइन, लैंगिक र यौनिकता–केन्द्रित पहिचानलाई बेलगाम बजारमा छरपस्ट पार्ने हामी उपभोक्तामा पनि उत्तिकै जिम्मेवार छौं। जीवनशैली, लैंगिक पहिचान र यौनिकताविरुद्ध धावा बोल्नुमा हामी आफैंले रोजेको राजनीतिक प्रणालीले बजारलाई यति बेलगाम छाड्ला भन्ने सायद हामीले अपेक्षा गरेका थिएनौं; बजार र उसका प्रवद्र्धनमा मेहनत गर्ने सञ्चार–संरचनाले यतिविघ्न लैंगिक विभेदकारी र यौनिकतालाई गलत ढंगले प्रस्तुत गर्नेछन् भन्ने पनि सायदै सोचिएको थियो।
यहाँ एक–दुई थान बजारिया र सञ्चार–संरचनालाई औंला ठड्याउनुभन्दा पनि हामी– हाम्रो प्रणालीले सहज बनाएको वातावरणमा आफ्नो अधिकार प्रयोग गर्दा कतै नयाँ संस्करणमा, नयाँ रङमा वा नयाँ ढंगमा पुरानै साँघुरा र करिब–करिब मक्किइसकेका/फेर्नुपर्ने विभेदकारी र पक्षपाती संस्कारमै बेरिइरहन चाहेका त छैनौं भन्ने प्रश्न उठाउन जरुरी छ। किन भने प्रचलन र संस्कारका नाममा वैज्ञानिक आधार नभएका र कुनै पनि दृष्टिकोणबाट अधिकारमुखी खाकाभित्र नपर्ने कैयौं यस्ता प्रचलन प्रोत्साहन गरी अनुसरण गर्न मात्र होइन, संस्थागत गर्नमा समेत हामीले अहम भूमिका खेलिरहेका छौं।
एउटा धरातलीय उदाहरण हो– साउनमा हरियो चुरा/लुगा लगाउने प्रचलन। यसको वैज्ञानिक आधार के? यो रहरले कसलाई नाफा भएको छ? यसले महिलोको लैंगिक विकास, सशक्तीकरण वा स्वतन्त्रतामा के योगदान गरेको छ वा गर्नेवाला छ? अथवा, यौनिकता बुझ्ने/व्याख्या गर्ने त्रुटिपूर्ण सामाजिक–सांस्कृतिक मनोविज्ञानलाई सकारात्मक बाटोतर्फ मोड्न के मद्दत गरेको छ? अझ हरिया चिज लगाउने साउनभन्दा घातक र विषालु छ– महिलाले ‘पाप पखाल्ने’ महिना भदौ। तीजको व्रत र पञ्चमी नुहाइधुवाइ महिलाको स्वास्थ्यसँग सम्बन्धित हुन् कि यौनिकताप्रतिको गलत बुझाइ र सांस्कृतिक भ्रम! अनि यो सब गर्नुपर्ने सांस्कृतिक दायित्व हिजो महिलालाई मात्र किन/कसले थोपर्यो? र, आज आधुनिकताका नाममा यी भ्रमको नयाँ संस्करणबाट कसले नाफा कमाइरहेको छ?
आखिर कुरा त फेरि पनि निर्णयमा हावी को छ र इमान्दार नियम पालनकर्ता को हो भन्नेसँग जोडिन्छ। हाम्रो धरातलीय परिवेशमा समाजका सबै निकाय, चाहे त्यो परिवार–छरछिमेक हुन् वा समुदाय, वा नाफामुखी बजार, सांस्कृतिक मूल्य–मान्यता प्रवर्द्धन गर्ने सञ्चार–संरचना हुन् अथवा राज्य–संरचना– कुन लैंगिक पहिचानवालाको निर्णयमा चल्छन् भन्ने कुरा त भनिरहनु नपर्ला। के कस्ता नीति बनाउने, राजनीतिक पद्धति निर्माण र सञ्चालन कसरी गर्ने, नाफामुखी बजारको हालीमुहाली नागरिकका निजी र सार्वजनिक जीवनमा कति हदसम्म बेलगाम छाडिदिने, आधुनिकताका नाममा रूढि र विषालु परम्परालाई रूपान्तरण गर्ने भन्दा झन् जटिल संस्करणमार्फत निश्चित वर्ग र लैंगिक पहिचान भएकामा थोपर्ने भन्ने त हिजोको सामन्ती पितृसत्ताको आधुनिक रूप पुँजीवादी पितृसत्ता नै हो भन्नेमा दुविधा छैन।
त्यही पितृसत्ता जसले हिजो टाउकादेखि पैतालासम्म ढाकिएर हिँड, नत्र तिमीहरूको यौनिकतामा धावा बोलिन्छ भनेर उर्दी जारी गर्थ्याे, आज त्यही पितृसत्ताले आधुनिक संस्करणमार्फत विपरीत लिंगीलाई ढाड देखाएर हिँड, छोटा लुगा लगाऊ, पेट देखाऊ, छाती प्रदर्शन गर भनेर फर्मान जारी गर्छ। हिजो विभेदकारी र विषालु संस्कारमार्फत सामाजिक–सांस्कृतिक शक्ति आर्जन गरी परिवार, समाज र राज्य–संरचनामा हैकम जमाउनु थियो, आज आधुनिकताका बहानामा परिवार, समाज, राज्य–संरचना, सांस्कृतिक, राजनीतिक र आर्थिक शक्ति झन् सुदृढ पार्नुछ। अनि त उसले लैंगिक पहिचान र यौनिकताका आधारमा नाफाको व्यापार वृद्धि गर्न महिलालाई प्रयोग गर्छ।
उदेक लाग्दो त के छ भने हामी महिला– बजारका इमान्दार उपभोक्ता भई गर्व गर्छौं; संस्कृति–परम्परा आधुनिक भए भनेर सिंगारिन्छौं, नांगिन्छौं, भावनात्मक रूपमा बेचिन्छौं र ठान्छौं– हामी आधुनिक जीवनशैली बाँचिरहेका छौं! तर हामी आफ्नो यौनिकता र लैंगिक पहिचानमा भइरहेको व्यापारको भेउ पाउँदैनौं। हुन त बजारिया आधुनिकीकरणको दौडधुप ठूला सहरहरूमा बढी पाइएका छन्, जहाँ घरानियाँ व्यापारी र उस्तै तप्काका उपभोक्ता हुन्छन्। तर भूमण्डलीकरणको यो युगमा यसका अनेक रूप समाजका कुना काप्चासम्मै पुगेकाले थोरबहुत सबै खालै वर्ग र समुदाय प्रभावित नहुने कुरै भएन।
अहम् प्रश्न के हो भने बजारको गतिसँगै नयाँ–नयाँ संस्करणमा गरिने यौनिकताको व्यापारमा हामी कहिलेसम्म प्रयोग भइरहने? सामाजिक चेतद्वारा बजारलाई कहिले प्रश्न गर्ने र सकारात्मक रूपान्तरणमा सघाउ पुर्याउने?
Shares
प्रतिक्रिया