भारतको असम राज्यमा एक लाख भन्दा धेरै नेपाली भाषीलाई ‘अनागरिक’ बनाइएको भन्दै दिल्लीमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा भारतस्थित नेपालीहरुको संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज लगायत भाईचारा संगठनहरु सामेल भएका छन्।
सोमबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन भएको हो। ‘एनआरसी एवं फासीवाद विरोधी जनमोर्चा’ले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकुर खनालले शताब्दियौँदेखि बसोबार गर्दै आएका लाखौं नेपाली भाषी नागरिकहरुलाई भारतीय ‘अनागरिक’ बनाएर भारतबाट लखेट्न खोजेको बताए। सचिव खनालले प्रवासमा रहेका नेपालीको समस्याप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोश समेत व्यक्त गरे।
प्रदर्शनमा मूलप्रवाहसहित भाइचारा संगठनहरु भाकपा (माले) रेडस्टार, न्यु डेमोक्रेटिक पार्टी अफ इन्डिया, बहुजन कम्युनिष्ट पार्टी, आल इन्डिया मिल्ली काउन्सिल, सर्वहारा लोकपक्ष, सीपीआई (एम एल) न्यु प्रोलेटारिन, लोक समिति, लोकपक्ष, सिटीजन फर डेमोक्रेसी, डेमोक्रेटिक पिपुल लायर्स एशोसिएशन, आल इन्डिया पिस मिसन, भगत सिंह मञ्च, आल इन्डिया क्रिश्चियन माइनारिटी फ्रन्टलगायत सहभागी थिए।
आसाममा हालै गरिएको राष्ट्रिय नागरिक पञ्जिकरण ‘एनआरसी’बाट एक लाख भन्दा बढी नेपाली भाषी भारतको नागरिकताबाट वञ्चित हुने अवस्था आएपछि उनीहरु चिन्तित देखिएका छन्। उनीहरु कैयौं पुस्तादेखि भारतमा बसोबास गर्दै आएका नागरिक हुन्।
प्रतिक्रिया