ad ad

ग्लोबल


ताइवानको स्पष्टीकरण- विस्फोट भएका पेजर हाम्रो देशमा बनाइएका होइनन्

ताइवानको स्पष्टीकरण- विस्फोट भएका पेजर हाम्रो देशमा बनाइएका होइनन्

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १४:२, काठमाडौँ

ताइवानले लेबनानमा हिजबुल्लाहका पेजरमा भएका विस्फोटबारे स्पष्टीकरण दिएको छ।

ताइवानको सरकारले सशस्त्र समूह हिजबुल्लाहले प्रयोग गरेका हजारौँ पेजरका पार्ट्स आफ्नो देशमा नबनाइएको बताएको छ।

यो स्पष्टीकरण ताइवानी कम्पनी गोल्ड अपोलोको बयानपछि आएको हो, जसमा उसले यो हमलामा प्रयोग गरिएका उपकरण आफूले नबनाएको बताएको थियो।

लेबनानी सरकारले मंगलबार भएका हजारौँ पेजर विस्फोटमा दुई बालबालिकासहित १२ जनाको मृत्यु तथा कम्तीमा ३,००० व्यक्ति घाइते भएको बताएको छ।

पेजरका साथै वाकी-टकी पनि विस्फोट भएको र यसमा इजरायललाई आरोप लागेपछि दुई पक्षबीच तनाव बढेको छ।

शुक्रबार ताइवानका अर्थमन्त्री कुओ जि-हुईले पत्रकारहरूलाई भने, ‘हिजबुल्लाहका पेजर हाम्रो देशमा बनाइएको थिएन।’

यस विषयमा न्यायिक छानबिन सुरु भइसकेको पनि उनको भनाइ छ। 

उनले भने, ‘म सत्य उजागर गर्न चाहन्छु, किनभने ताइवानले त्यो मोडलको पेजर कहिल्यै निर्यात गरेको छैन।’

यसअघि गोल्ड अपोलोका प्रमुख सु चिङ-कुआङले यी दुर्घटना र आफ्ना उपकरणबीच कुनै सम्बन्ध नभएको बताएका थिए।

हुइका अनुसार हङ्गेरियन कम्पनी बीएसी कन्सल्टिङलाई गोल्ड अपोलो ब्रान्ड नाम प्रयोग गर्न अनुमति दिइएको थियो।

यद्यपि, बीएसीको सीईओ क्रिस्टियाना बार्सोनी-असिडियाकोनोले अमेरिकी समाचार प्लेटफर्म एनबीसीसँग यी पेजर आफ्नो कम्पनीले नबनाएको दाबी गरेकी थिइन्। 

हंगेरी सरकारले भनेको छ, 'देशमा बीएसीका कुनै उत्पादन वा कारखाना छैनन्।'

तर न्युयोर्क टाइम्सले आफ्नो एउटा रिपोर्टमा इजरायली गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै बीएसी एउटा शेल कम्पनी भएकाे र यसले इजरायलका लागि काम गरेको बताइएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .