नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा भएको खर्च कति व्यहोर्ने भन्ने निर्णय मन्त्रिपरिषदबाट हुने भएको छ।
सी भ्रमणका बेला कति खर्च भयो भन्ने एकीन विवरण आइसकेको छैन। तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विगतको अनुभवका आधारमा भएको खर्चको आधिकारिक तथ्यांक आएपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारले भ्रमण खर्च व्यहोर्ने भएको हो।
राष्ट्रपति सीको भ्रमणको तयारीस्वरुप सरकारले उपत्यकामा सडक रंगरोगन गर्नेदेखि मर्मतसम्भार गर्नेसम्मका कामहरु गरेको थियो। यद्यपि आधिकारिक खर्च कति भयो भन्ने एकमुष्ट विवरण सरकारले तयार पारिसकेको छैन। तर पनि सडक मर्मतको लागि सडक विभागले करिब सात करोड रुपैयाँसम्म खर्च गरेको जानकारी दिएको छ। त्यस्तै काठमाडौं महानगरपालिकाले भने पाँच करोड रुपैयाँ हाराहारीमा खर्च गरेको जनाएको छ।
महानगरका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीका अनुसार महानगरपालिकाले फूलहरु सजावट गर्ने, सडक रंगरोगन गर्ने, स्वागतद्वारहरु निर्माण गर्ने, बिजुलीका पोलहरुमा रहेको तारको व्यवस्थापन गर्ने जस्ता कामहरु गरेको थियो। उक्त कामको पनि एकीन तथ्यांक आइसकेको छैन तर कार्कीले भने करिब पाँच करोड रुपैयाँ हाराहारीमा खर्च भएको नेपालखबरलाई जानकारी दिए।
चिनियाँ राष्ट्रपति सी ९० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार काठमाडौं आएका थिए। उनी सोल्टी होटलमा बसेका थिए। त्यसको लागि उक्त होटलका स्वीटसहित सबै रुम र क्यासिनो समेत चिनियाँ पक्षले नै ‘बुक’ गरेको थियो। तीन दिनका लागि गरेको ‘बुकिङ’ खर्च समेत सार्वजनिक भएको छैन। उक्त खर्चमध्ये नेपालले व्यहोर्ने खर्चबारे सरकार छलफलमा रहेको परराष्ट्र स्रोतले बताएको छ।
राष्ट्रपति सोल्टी होटलमा बसेपछि नेपालीले ठाउँ लिनको लागि समेत चिनियाँ पक्षसँग नै अनुमति लिनुपरेको थियो। त्यस्तै राजकीय रात्रिभोजमा भएको खर्चको एकीन तथ्यांकको विवरण समेत होटल सोल्टीले सरकारलाई जानकारी गराएको छैन।
परराष्ट्रका ती अधिकारीका अनुसार सी भ्रमणमा आउनुअघि नेपाली पक्षबाट विदेशमा राजकीय भ्रमण हुँदा विदेशमा के कति खर्च व्यहोर्ने प्रचलन थियो, त्यहीअनुसारको खर्च व्यहोर्ने भन्ने निर्णय भएको थियो। स्रोतले नेपालखबरसँग भन्यो, ‘तर चिनियाँ पक्ष आफैँले होटल बुकिङ गरेको र त्यहाँ भएको खर्चको आधारमा नेपालले कति खर्च गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने हुन्छ।’
त्यहीअनुसार खर्चको विवरण आउने उनले जानकारी दिए। गत शुक्रबार, शनिबार र आइतबार उक्त होटलको ‘फुल–बुकिङ’ भएको हो। सो क्रममा होटलपरिसरमा रहेका पसलहरु समेत बन्द गराइएको थियो।
रात्रिभोजको पैसा भने सबै परराष्ट्र मन्त्रालयले नै व्यहोर्नेछ। त्यसबाहेक मन्त्रिपरिषदले होटलमा भएको खर्च कति व्यहोर्ने भन्ने निर्णय गर्छ, सोहीअनुसार परराष्ट्र मन्त्रालयले नै व्यहोर्ने ती अधिकारीको भनाइ छ।
प्रतिक्रिया