कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहमाथि सोमबार राजधानीको संवाद डबलीमा परिचर्चा गरिएको छ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कला, साहित्य तथा संस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे। थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरुलाई खवरदारी भएको बताए।
तिमिले जितेको युद्ध नायकहरु धेरै टिक्नेवाला छैन भनेर कविले कवितामा लेखेको कुरा साँचो हुन थालेको भन्दै प्राडा माधवप्रसाद पोखरेलले परम्परागत रुपमा जकडिएको हैकमवादविरुद्ध लड्न युद्ध मैदानमा उत्रेकी कवियात्रीले नेपाली समाजको रुपान्तरणमा योगदान दिए पनि अझै धेरै कुरा बाँकी रहेको धारणा राखे।
डा. नवराज लम्सालले आफू बाँचेको समयमा टेकेर कविले बास्तविकता र भोगाईमा इमान्दार भएर रचिएको कविताले नै देवकी तिमल्सिना एक महान कवि बन्ने सम्भावना रहेको उल्लेख गरे।
समालोचक डा बिन्दु शर्माले अभिव्यक्तिलाई मौलिक भाषा र विम्वहरुलाई प्रयोग जनयुद्धमा लडेका योद्धाहरुको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको संग्रह यो कविता भएको बताइन्।
कार्यक्रममा रमेश शुभेच्छुकले भने, ‘कवि तिमल्सिना क्रान्ति चेतनाको कवि हो उहाँका प्रत्येक कविता जिवन्त छन्।’
कवि देवकी तिमल्सिनाले आगामी दिनमा पनि यस्तै भोगाईमा रहेर साहित्य लेख्ने प्रयत्न गर्ने बताईन।
Shares
प्रतिक्रिया