ad ad

खेल


राफेल नाडाललाई युएस ओपनको उपाधि

राफेल नाडाललाई युएस ओपनको उपाधि

नेपालखबर
भदौ २३, २०७६ सोमबार ७:२८,

न्युयोर्क यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन्। यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो ।

नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए। नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए।

तेत्तीस वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का स्टार खेलाडी रोजर फेडेररसँगै ग्रान्डस्लामको उपाधि होडमा थिए। फेडररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन्। केन रोजवालले १९७० मा ३५ वर्षको उमेरमा अमेरिकी ओपनको उपाधि जितेका थिए।

विजय भएपछि नाडालले आफ्नो टेनिस करिअरमा यो सर्वाधिक भावपूर्ण क्षण रहेको सुनाए। विजयपछि उनको आँखाबाट आँशु झरेको भिडियो फुटेज सार्वजनिक भएको थियो।

विश्व बरियतामा नम्बर २ मा रहेका नाडालले ३८ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए। उनले यसअघि अमेरिकी ओपनको उपाधि सन् २०१०, २०१३ र २०१७ मा जितेका थिए।

आफूले ३० वर्षको उमेर पार गरेपछि नाडालले पाँच वटा ग्रान्डस्लाम उपाधि जितेका छन्।

आइतबार राति खेलिएको यो प्रतियोगिता झण्डै ४ घण्टा ५० मिनेट चलेको थियो।

त्यसैगरी, महिला एकलतर्फ क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी थिइन्। बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रहेको थियो।

सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितेकी थिइन्। बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो।

क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो। सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो। सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन। सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .