ad ad

खेल


विभागीय टोलीद्वारा विपक्षीमाथि गोलको वर्षा

विभागीय टोलीद्वारा विपक्षीमाथि गोलको वर्षा

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १८:५४, काठमाडौँ

विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपीएफले शुक्रवार एन्फा महिला फुटबल लिगमा विपक्षी टोलीमाथि हाबी हुँदै गोल वर्षा गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा एपीएफले कोशी प्रदेशमाथि ८–० र दोस्रो खेलमा आर्मीले चन्द्रपुरमाथि १०–० को गोल वर्षा गरेको हो।

त्रिभुवन आर्मीले जितसँगै सात खेलबाट १६ अंक जोडेको छ। यो जितपछि आर्मी दोस्रो स्थानमा यथावत छ। पराजित चन्द्रपुर समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।

यो हारपछि चन्द्रपुरलाई लिगको शिर्ष पांचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कठिन भएको छ। आर्मीको जितमा चन्द्रा भण्डारी र अमिशा कार्की दुवैसे ह्याट्रिक पूरा गरे।

यसैगरी हिमा चौधरी, दीपा शाही, अञ्जना रानामगर र शर्मिला थापामगरले समान एक गोल थपे। त्यस्तै  रश्मिकुमारी घिसिङ एक्लैले पाँच गोल गरेपछि एपीएफले शुक्रबार एन्फा महिला लिगमा फराकिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा एपीएफले कोसीमाथि ८–० को गोलवर्षा गरेको हो। यससँगै लिगको शीर्ष स्थानमा रहेको एपीएफले आफ्नो अपराजित यात्रा सातौं खेलसम्म कायम राखेको छ। एपीएफले सात खेलबाट १९ अंक जोडेको छ।

यो नतिजापछि एपीएफले शीर्षमा स्थानमा रहेर सुपर लिग खेल्ने पक्का गरिसकेको छ। कोसीको भने यो हारपछि शीर्ष पाँचमा रहँदै सुपर लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ। समान खेलबाट कोशी १० अंक साथ पाँचौं स्थानमा छ। समालिन नसक्दा कोसीले शीर्ष पाँचका लागि दाबेदारी बलियो बनाउने अवसर गुमाएको हो।

एपीएफ कोसीविरुद्ध पूर्ण हाबी भयो  एपिएफकी रश्मिकुमारीले पाँच गोल गर्दा अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपे। एपीएफले खेलको पाँचौं मिनेटमै अनिता केसीको गोलबाट अग्रता लियो।

लामो पास नियन्त्रणमा लिँदै रश्मिकुमारीले पेनाल्टी बक्सको राइट साइडबाट उपलब्ध गराएको बललाई अनिताले वन टच गोल गरिन्। १९औं मिनेटमा अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन्।

उनले करिब २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार कोशीकी गोलकिपर सुशीलाकुमारी चौधरीले भेट्टाउन नै सकिनन्। तर यसपछि पहिलो हाफमा थप थोल हुन सकेन।

एपिएफ २–० ले अगाडि रह्यो। तर दोस्रो हाफमा भने कोसी समालिन नै सकेन। यस क्रममा एपीएफले ६ गोल गर्यो। ५६औं मिनेटमा रश्मिकुमारीले गोलको खाता खोलिन्। अनिता बस्नेतले राइट साइडबाट दिएको क्रस बललाई उनले हेडरमार्फत जाली चुमाएकी हुन्।

यसपछि करिब २५ मिनेटसम्म कोसीले रोक्यो। तर अन्तिम १० मिनेट भने कोसी समालिएन। यस क्रममा कोसीले पाँच गो सामना गर्यो। ८०औं मिनेटमा कोशीकी नेहाकुमारी चौधरीले एपीएफकी सविता रानामगरलाई लडाएपछि रातो कार्ड सामना गर्दै बाहिरिन्। त्यसपछि कोशीले एकपछि अर्को गोल व्यहोर्यो।

८१ औं मिनेटमा मिनेटमा पनि अनिता बस्नेतले अर्को उत्कृष्ट फ्रिकिकमार्फत गोल गरिन्। करिव २२ यार्डबाट अनिताले गरेको फ्रिकिक माथिल्लो बारमा ठोकिएर गोल हुन पुग्यो। एक मिनेट नबित्दै रश्मिकुमारीले गोल गर्दै एपिएफको अग्रता ५–० ले अगाडि बढाइन्।

अनिता बस्नेतकै कट ब्याक पासलाई उनले वान टचमार्पmत गोल गरेकी हुन्। ८५ औं मिनेटमा रश्मिकुमारीले ह्याट्रिक पूरा गरिन्। सरु लिम्बुको थ्रु पासमा उनले कोसीकी गोलकिपर सुशीलाकुमारीसँग वान भर्सेस वानमा गोल गरेकी हुन्। रश्मिकुमारीको लय त्यतिमा सीमित रहेन।

तीन मिनेटपछि नै रश्मिकुमारीले व्यक्तिगत चौथो गोल गरिन्। फेरि अनिता बस्नेतकै कट ब्याक पासमा रश्मिकुमारीले पेनाल्टी बक्सबाट सहज गोल गरेकी हुन्। ८९ औं मिनेटमा रश्मिकुमारीले पाँचौं गोल पूरा गरेपछि एपिएफ ८–० ले अगाडि रह्यो।

अनिता केसीको थ्रु पास सदुपयोग गर्दै रश्मिकुमारीले व्यक्तिगत पाँच गोल गरेकी हुन्। यससँगै उनी जारी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन्।

रश्मिकुमारीको सात खेलबाट ९ गोल पूरा गर्दा दोस्रो स्थानकी वालिङकी ज्याकलिन नसालीले पाँच खेललबाट सात गोल गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .