आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले खेल्ने दुई अवे सिरिज स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जनाएको छ।
कोरोना भाइरसका कारण आईसीसीले आगामी जुन ३० भन्दा अगाडिका लागि तय भएका सबै प्रतियोगिता स्थगित गरेसँगै नेपालका २ सिरिज पनि पछि धकेलिएको हो।
नेपालले २० अप्रिलदेखि २७ सम्म नामिबियामा हुने त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्ने तालिका थियो।
त्यस्तै, जुन दोस्रो सातामा पपुवा न्युगिनीमा संयुक्त अरब इमिरेट्स युएईसँग खेल्ने त्रिकोणात्मक सिरिज पनि सरेको छ।
आईसीसीले जुलाईमा स्कटल्यान्डमा हुने नेपाल र नामिबिया सम्मिलित सिरिजको लागि भने हाल सम्बन्धित पक्षसँग छलफलमा रहेको जनाएको छ।
यस्तै मलेसियामा २६ जुनदेखि २ जुलाईसम्म मलेसियामा हुने आईसीसी टि ट्वान्टी विश्वकप छनोटका खेल पनि स्थगित भएको जनाएको छ।
प्रतिक्रिया