ad ad

खेल


सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन

सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १४:१३,

सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन युवा तथा खेलकूद मन्त्रालयले गरेको खेलकूद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी गराएका हुन्। यससँगै सागका पदक विजेता खेलाडीलाई घोषित पुरस्कार प्रदान गर्न बाटो खुलेको छ।

संशोधित कार्यविधिअनुसार सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य विजेतालाई रु तीन लाख पुरस्कार दिने उल्लेख छ। एउटाभन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण रु ११ लाख पाउनेछन्। सो पुरस्कारबाट चार स्वर्ण जितेकी गौरिका सिंह र दुई स्वर्ण विजेता आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ लाभान्वित हुनेछन्।

यस्तै सामूहिक खेलमा स्वर्ण विजेतालाई जनही रु पाँच लाख, रजत विजेतालाई रु तीन लाख, कास्य जित्नेलाई रु दुई लाख तथा स्वर्ण जितेको खेलका प्रशिक्षकलाई रु पाँच लाख पुस्कार दिने व्यवस्था गरिएको छ।

गत मङ्सिर तेस्रो साता नेपालमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो। साग सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .