ad ad

समाज


संसद भवन अगाडि पत्रकार महासंघको धर्ना

संसद भवन अगाडि पत्रकार महासंघको धर्ना

नेपालखबर
असोज १३, २०७६ सोमबार १४:५४,

नेपाल पत्रकार महासंघले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको पूनर्बहाली तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासन गरिएका पत्रकारको पूनर्बहाली गर्नुका साथै सम्पूर्ण सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सांकेतिक रुपमा विरोध गरिएको बताए। उनले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन भए नभएको बारेमा महासंघले असोज १० गते देखि विभिन्न सञ्चारमाध्यममा गएर अनुगमन गरी सञ्चालकहरुलाई ऐनको कार्यान्वयनका लागि दवाव दिएको बताए।

यसैगरी महासंघका उपाध्यक्ष दिलिप थापामगरले दश वर्षसम्म काम गरेका पत्रकारलाई निष्कासन गरी आफ्ना कार्यकर्ता भर्ती गरेका कारण महासंघ आन्दोलनमा उत्रिएको बताए। उनले निष्कासित पत्रकारलाई तत्काल पूनर्बहाली नगरिए महासंघ कडा आन्दोलनमा जान बाध्य हुने बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन वमले निष्ठापूर्वक काम गरिरहेका पत्रकारलाई निष्कासन गरेपछि सुरु भएको आन्दोलन आज चालिस दिन बितिसक्दा समेत सुनुवाई नभएको बताए। उनले श्रमजीवी पत्रकार ऐन विपरित निष्कासन गरिएको भन्दै निष्कासित पत्रकारलाई विना सर्त पूनर्बहाली गर्नु पर्ने बताए।

नेपाल प्रेस यूनियनमा अध्यक्ष बद्रि सिग्देलले नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको अवस्था बारे अन्तर्रााष्ट्रय संघ संस्थाले नेपालमै आएर नेपाल सरकार तथा विभिन्न निकायसंग भेटेर अध्ययन गरिरहेको भन्दै नेपाललाई बदनाम हुनबाट रोक्न सरकारलाई आग्रह गरे।

नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष दुर्गा फुयाँलले महासंघको आन्दोलनमा रेडियो नेपाल कर्मचारिको तर्फबाट ऐक्यवद्धता रहेको बताए। उनले निष्कासित पत्रकारको पूनर्बहाली नभएसम्म आन्दोलन जारी राख्नुपर्ने बताए।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले श्रमजीवी पत्रकारलाई व्यवस्थित गर्नुपर्नेमा सरकारले निष्कासन गरेर लोकतन्त्र तथा मानवीयताको हिसाले त्रुटि गरेको बताए। उनले पत्रकारलाई निष्कासन गरि अपमान गरेको भन्दै क्षतिपूति सहित पूनर्बहाली गरिनुपर्ने धारणा राखे।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले देशको लोकतान्त्रिक आन्दोलनमा पत्रकारको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि सरकारले पत्रकारहरुलाई पटक पटक दुःख दिइरहेको बताए। उनले निष्कासित पत्रकारको पूनर्बहाली गर्नुका साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि महासंघको आन्दोलनमा सधै साथ रहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .