ad ad

समाज


बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनु पर्ने सुझाव (तस्बिरहरू)

बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनु पर्ने सुझाव (तस्बिरहरू)

सरोज नेपाल
असोज ५, २०८१ शनिबार १६:४७, काठमाडौँ

तीव्र शहरीकरण र प्रदूषणको चपेटामा परेका बागमती तथा अन्य नदीहरु पुनर्जिवित तुल्याउन ती नदीका खण्डहरु स्थानीय समुदायलाई हस्तान्तरण गर्नु पर्ने सुझाव अभियानकर्मीले दिएका छन्। 

उनीहरूको भनाइमा बागमतीजस्ता संकटमा परेका नदी संरक्षण र व्यवस्थापनको जिम्मेवारी सामुदायिक वनहरूमा जस्तै सम्बन्धित क्षेत्रका स्थानीय समुदायलाई दिएमा उनीहरूले पनि नदीबाट आय आर्जन गर्दै नदीहरुको दिगो संरक्षणमा टेवा दिन सक्छ।  

विश्व नदी दिवस २०२४ को अवसरमा शनिबार बागमतीको उद्गम क्षेत्र सुन्दरीजल नदी किनारमा आयोजित सफाइ तथा संवादमा बोल्दै नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले भने, ‘हामीले वाग्मती र अन्य नदी जोगाउने हो भने अब नदी संरक्षणको जिम्मेवारी स्थानीयवासीलाई दिने कानुनी व्यवस्था गर्नु पर्छ।’

आले नेतृत्वको संस्थाले विगत २४ वर्षदेखि वाग्मतीमा डुंगा दौडाउने तथा सफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। राजधानीको मुटुबाट बग्ने वाग्मती किनारमा ३० भन्दा बढी हिन्दु तथा बौद्ध तीर्थस्थलहरू रहेका छन्। 

भिडिओ

तर बढ्दो जनसंख्याका कारण बागमती र त्यसका साखा नदीहरू शहरवासीले प्रशोधन नगरी विसर्जन गरेका ढलको नाल बोकेर बहन बाध्य छन् जसका कारण वाग्मतीको पानी जलचरका लागि समेत बाच्न मुस्किल हुने अवस्थामा पुगेर मृत प्राय भइसकेका छन्। 

त्रिभुवन विश्वविद्यालयको वातावरण विभागका अध्येता दीपनारायण शाहका अनुसार, पछिल्लो समय नदीमा फ्याकिएका प्लास्टिकले विकराल रुप लिएर माइक्रो अर्थात अती साना प्लास्टिक माछाहरुले समेत खाने क्रम डरलाग्दो भइसकेको पाइएको छ।

विगत झन्डै ६०० हप्तादेखि बागमती सफाइमा जुटिरहेको सफाइ महाअभियानका सबै नगरवासीले आफ्नो घरघरबाटै सफाइ अभियान थालेर आफ्ना घर टोल सफा राख्ने अभियान थालेमात्रै वाग्मतीमा सफा पानी बहन सम्भव हुने बताए।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी नेपाल प्रतिनिधी डा. मनोहरा खड्काले नदीनालाको संरक्षण गरेमा मात्रै दिगो भविष्य संभव हुने बताउँदै वाग्मती सफाइ तथा सौन्दर्यीकरणका लागि तीनै तहका सरकार स्थानीयवासी र अभियानकर्मीहरुले साझा पहल थाल्नु पर्नेमा जोड दिइन्। 

त्यस्तै, कदम नेपालमा प्रदूषित हुन थालेका अन्य शहरी नदीमा चाल्न ढिलो गर्न नहुनेमा अभियानकर्मीहरुले जोड दिएका छन्। 

बागमतीको किनारमै अवस्थित ओख्रेनी माध्यामिक विद्यालयका प्रधान अध्यापक देवराज भट्टराईले समुदायहरुलाई अघि सारेरै वाग्मती र अन्य नदी सफा गर्ने अभियान थालनी गरेमा त्यसले राम्रो परिणाम दिने र नदीहरुको दिगो संरक्षण गर्न सकिनेमा जोड दिए।

सुन्दरीजल स्थित बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले शिवपुरी निकुञ्जभित्र पर्ने वाग्मतीको मुहान क्षेत्रसमेत प्रदूषित हुन थालेकोमा चिन्ता व्यक्त गरे।

नेपाली कांग्रेसको वातावरण विभाग प्रमुख कल्याण गुरुङले पनि वाग्मती नदीको सफाइ तथा संरक्षण अभियानलाई वाग्मतीको मुहान रहेको वागद्वार क्षेत्रबाट थाल्न सबैजना एकजुट हुनु पर्नेमा जोड दिए। 

आइतबार सेप्टेम्बर २२ मा संसारै भर विश्व नदी दिवस मनाउने कार्यक्रम छ।

नेपालमा चाहिँ एक दिन अघि नै शनिबार मनाइएको कार्यक्रममा सुन्दरीजलको पुल नजिकै वाग्मती सफाइ गरिएको थियो जसमा ओख्रेनी माविका बालबालिकाले साथ दिएका थिए।

शनिबार बिहान बागमती नदीको उद्गम क्षेत्र सुन्दरीजल नदी किनारमा सफाइ तथा संवाद कार्यक्रम आयोजना भएको हो।  बागमती सफाइ महाअभियान, नेपाल नदी संरक्षण संस्था, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था, ओख्रेनी मावि लगायतको सहकार्यक्रमा कार्यक्रम अयोजना भएको हो। 

कार्यक्रममा प्रतिनिधि सभा सांसद निशा डाँगी पनि उपस्थित थिइन्।

नेपाल नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालका अनुसार, शनिबार बिहान आयोजित उक्त कार्यक्रममा ओखे्रनी माविका विद्यार्थी, शिक्षक र संस्थाका पदाधिकारीहरूले सुन्दरीजलस्थित बागमती नदी वरिपरि सफाइ गरेका छन्।

संवाद कार्यक्रममा बागमती सरसफाइ महाअभियानका सदस्यहरू पनि सहभागी भएका थिए। उक्त अभियानले प्रत्येक शनिबार बागमतीका विभिन्न क्षेत्रमा सरसफाइ गर्दै आएको छ। 

नदी दिवसको सुरुवात सन् २००५ मा संयुक्त राष्ट्रसंघमार्फत भएको थियो। 

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .