ad ad

समाज


मदन भण्डारी राजमार्गको डीपीआर शुरु

मदन भण्डारी राजमार्गको डीपीआर शुरु

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ८:४१,

पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण शुरु भएको छ।

पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डीपीआरको काम शुरु गरिएको हो। पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेसनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी, बेनिघाटको १३२ किलोमिटर सडकलाई केन्द्रमा राखेर डीपीआरको काम शुरु गरिएको छ।

विसं २०५१ मा ट्र्याक खोलिएको सडकको शुरु बिन्दु बड्डीचौर तथा अन्तिम बिन्दु गुटु हुँदै सिमीचौरसम्म दुई लेनको हुनेछ। सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डीपीआर सर्भेका लागि परामर्शदाता कम्पनी सिल्ट सीआरसी जिओकम जेभी ललितपुरले काम शुरु गरिसकेको जानकारी दिए। उनका अनुसार कम्पनीलाई सर्भे गर्न ५० दिनभित्र २५÷२५ मिटर दायाँबायाँ क्षेत्रफलमा सर्भे गर्नेछ।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले मदन भण्डारी राजमार्ग निर्माण भए पश्चिम सुर्खेतको मुहार फेरिने बताए। सडक र बिजुली विकासको मेरुदण्ड भएकाले संघीय सरकारले ढिलासुस्ती गर्न नहुने उनको भनाइ थियो। पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले २०५१ सालमा खोलिएको ट्र्याकले अहिले पूर्णता पाउँदा खुशी लागेको बताए। ‘त्यतिबेला जन्मिएको बच्चा अहिले तन्नेरी हुँदैछ भने सडक बुढो भएको छ’, उनले भने, ‘स्थानीय तहमा आउने बाधा अवरोधको सहजीकरण गर्न सदैव तयार छौँ।’

सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले मंसिर महिनाभित्र डीपीआर सम्पन्न गर्न कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए। सडक स्तरोन्नतिका लागि संघीय सरकारसँग रु चार अर्ब बजेट माग गरिएको जानकारी उनले दिए। १३२ केभी कोहल्पुर सुर्खेत प्रसारणलाइन विस्तार, बड्डीचौर बेनिघाट सडक, काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव, पुल लगायतका योजनालाई सञ्चालन गर्न सफल भएको उनको भनाइ छ।

सर्भेका क्रममा आइपर्ने विभिन्न समस्या समाधानको नेतृत्व स्थानीय सरकारले लिनुपर्ने भन्दै सांसद रावतले मंसिरभित्र डीपीआर सक्ने, माघभित्र वातावरणीय प्रभाव मूल्यांकन गर्ने, चैत महिनामा टेन्डरको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .