ad ad

समाज


उडान बन्दः विदेशबाट नागरिक फर्काउने छैन कुनै योजना

उडान बन्दः विदेशबाट नागरिक फर्काउने छैन कुनै योजना

उजिर कार्की
बैशाख २३, २०७८ बिहिबार १५:९,

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छन्। राति १२ बजेपछि चार्टर्ड र उद्धार उडान बाहेक सम्पूर्ण उडान बन्द गर्ने निर्णय सरकारले गरिसकेको छ।

विदेशमा रहेका नेपाली श्रमिकमध्ये कतिपय तत्कालै स्वदेश फर्किनुपर्ने अवस्थामा छन्। करार अवधि सकिएका श्रमिक नफर्किए ओभरस्टे बापत जरिवाना नै तिर्नुपर्ने हुन्छ।

तर सरकारले भने अहिले श्रमिक फर्काउने कुनै योजना नरहेको जनाएको छ।

‘चार्टर्ड फ्लाइट हुन सक्ने भनिएको पनि श्रमिकका लागि होइन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘यो व्यापारिक र भइपरी आउनसक्ने अवस्थाका लागि मात्रै हो।’

अहिले वैशाख मसान्तसम्मनका लागि उडान बन्द गरिएको छ। तर यो अवस्था अझै लम्बिने देखिएको छ। परराष्ट्र मन्त्रालयले भने यो अवस्था छिट्टै अन्त्य होला भन्ने अपेक्षाले अन्य योजना नबनाएको जनाएको छ।

साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले वैशाख मसान्तसम्म मात्रै बन्द भन्ने जानकारी आएकाले त्यतिन्जेल नेपाली श्रमिकलाई सुरक्षित रहन भनिएको बताए। अहिले आपत परे पनि स्वदेश फर्किने विकल्प नरहेको उनले बताए।

‘अहिले नेपाल जाने कुनै विकल्प छैन, वैशाख मसान्तसम्म हो भन्ने सूचना आएको छ, त्यसपछिको अवस्था हेरेर थप जानकारी आउला भन्ने प्रतीक्षामा छौँ,’ उनले भने।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उडान बन्द गर्दा समस्या थेगिनसक्नु आउने भएकाले चाँडै नियमित उडान खुल्ला गर्न आग्रह गरिएको बताए।

‘श्रमिकका लागि आउजाउ गर्न चार्टर्ड उडान विकल्प हुनै सक्दैन, मैले त नियमित उडान चाँडै खुल्ला गर्न पत्र पठाइसकेको छु,’ राजदूत पाण्डेले भने, ‘यस विषयमा परराष्ट्रमन्त्री पनि सकरात्मक हुनुहुन्छ, छोटो समयका लागि हेरौं भन्नु भएको छ।’

गत वर्ष नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्दा विदेशमा नेपाली श्रमिकको बिचल्ली भएको थियो। कम्पनीले कामबाट निकालेपछि थुप्रै भोकभोकै सडकमै बास बस्न बाध्य भएका थिए।

पछि सरकारले चार्टर्ड उडान खुल्ला गरेपनि नियमित उडान खुल्ला नगर्दा महंगो मूल्य तिरेर उनीहरु नेपाल फर्किएका थिए। आफ्नो देश फर्किन पनि रोक्ने र गन्तव्य देशमा पनि व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भएको थियो।

यस पटक त्यस्तो अवस्था आउन नदिन सरकार सतर्क रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन्।

‘केही समय हेरौं, कुनै समस्या भयो भने दूतावासले जानकारी गराउँछन्। त्यसपछि जे व्यवस्था गर्नुपर्छ सरकारले गर्छ,’ उनले नेपालखबरसँग भनिन्।

कतिपय श्रम गन्तव्य भने नेपालभन्दा सुरक्षित देखिएका छन्। खोपको पूर्ण मात्रा लगाएर काममा खटिएका नेपाली पनि धेरै छन्। ती देशबाट अहिले तत्काल फर्किन चाहने नेपाली नरहेको सरकारको बुझाइ छ।

उडान बन्द भएसँगै विदेशमा ज्यान गुमाएका नेपालीका शव पनि रोकिने भएका छन्। चार्टर्ड उडान भए सम्भव भएसम्म ल्याउने भनिएपनि शव नआउने देखिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

‘यो आठदश दिन शव ल्याउन पनि गाह्रै होला, सकेसम्म ल्याउने व्यवस्था गर्छौँ। तर त्यो सम्भावना कम छ। केही समय कुर्नु पर्ने अबस्था हुनसक्छ,’ श्रेष्ठले भने।

अहिले पनि विदेशमा दैनिक दुईतीन जना नेपालीको मृत्यु भइरहेको छ। एकै पटक ल्याउनु पर्दा गाह्रो हुने भएपनि त्यसका लागि विदेशस्थित नेपाली नियोगहरुसँग संयोजन गरिरहेको उनले बताए।

‘लामो बन्द भयो भने साह्रै गाह्रो हुन्छ, गत वर्ष हामीलाई व्यवस्थापन गर्न एकदमै गाह्रो भयो,’ श्रेष्ठले भने, ‘यस पटक त्यस्तो नहुने गरी पर्यटन र परराष्ट्रसँग कुरा गरिरहेका छौं।’

उडान बन्द भएसँगै विदेशमा श्रमिकका लागि व्यवस्थापन गर्नु पर्ने अवस्था आउन सक्ने र त्यसका लागि दूतावासबाट सहयोग गर्नु पर्ने लेली आएमा बोर्डले सहयोग पठाउने उनको भनाइ छ।

दूतावासले सहजीकरण नगरे समयमै नफर्किएका कारण त्यहाँ रहेका नेपालीले थप जरिवाना तिर्नुपर्छ। अहिले जानका लागि भने कडाइ गरिएको छ। वैदेशिक रोजगार विभागले अनलाइनबाट मात्रै अन्तिम श्रम स्वीकृति जारी गरिरहेको छ।

पूर्व श्रम स्वीकृति भने केही समयदेखि प्रायः ठप्प छ। श्रम स्वीकृतिको म्याद तीन महिनासम्म रहने र उडान खुल्ला हुनासाथ जान सक्ने भएकाले अनलाइनबाट अन्तिम श्रम स्वीकृति दिइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .