ad ad

समाज


भारतमा कोरोना बढेपछि स्वदेश फर्किनेको लर्को, सुदूरपश्चिमका दुई नाकाबाट एक सातामै आइपुगे ८ हजार

भारतमा कोरोना बढेपछि स्वदेश फर्किनेको लर्को, सुदूरपश्चिमका दुई नाकाबाट एक सातामै आइपुगे ८ हजार

गोकुल जोशी
चैत २०, २०७७ शुक्रबार ८:४४,

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नेपालको पश्चिमी सीमा नाकाबाट स्वदेश फर्किनेको लर्को लाग्न थालेको छ।

भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेको र कतिपय ठाउँमा लकडाउन समेत घोषणा हुन थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका हुन्।

भारतमा कोरोना संक्रमण फेरि तीव्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने त्रासले आफूहरु फर्किन बाध्य भएको कैलालीको टीकापुरका विवेक परियार बताए।

kanchanpurnaka12

‘७ महिनाअघि लकडाउनकैबीच कामको खोजीमा दिल्ली गएको थिएँ’, परियारले नेपालखबरसँग भने, ‘अहिले फेरि त्यता कोरोना संक्रमण बढिरहेको छ। त्यसैको त्रासका कारण घर फर्किएको हुँ।’

बाजुराका हरि रोकायाले कोरोनका कारण काम नपाइने अवस्था सिर्जना भएको र यता खेतीपातीको काम पनि सुरु हुन लागेको र नयाँ वर्ष (बिषु) पर्व नजिकिएका कारण स्वदेश फर्किएको बताए।

‘कोरोना बढ्न लाग्यो भनेर फेरि काम बन्द हुन थाल्यो। अन्य ठाउँमा पनि खासै राम्रो काम पनि पाइन छाड्यो’, उनले भने, ‘घरमा खेतीपाती मौसम सुरु हुन थालेको र चाडबाड पनि नजिएका कारण धेरथोर खर्च जुटाएर घर फर्किएका हौँ।’

kanchanpurnaka11

अहिले कोरोना संक्रमण तीव्र बनेका दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात र देहरादुन लगायत सहरबाट नेपालीहरु धमाधम स्वदेश फिर्ता हुन थालेका हुन्। अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपालीहरु स्वदेश फिर्ता भइरहेका छन्।

पछिल्लो एक साताको अवधिमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट ८ हजार १ सय ३५ जनास्वदेश फर्किएका छन्। यस्तै गड्डाचौकी नाकाबाट दिनहुँ दुई÷अढाई सयको संख्यामा भारततर्फ पनि गइरहेका छन्।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट पछिल्लो एक सातामा २ हजार ५ सय ३३ जना स्वदेश र गौरीफन्टा नाकाबाट ५ हजार ६ सय २ जना नागरिक स्वदेश फर्किएको प्रहरीको तथ्यांक छ।

यसरी फर्किनेहरुमा अधिकांस सुदूरपश्चिम र कर्णाली प्रदेशका रहेका छन्। भारतमा संक्रमण तीव्र देखिएकै ठाउँबाट ठूलो संख्यामा नेपाली फर्किरहेकाले सुदूरपश्चिममा कोरोनाको दोस्रो लहरको जोखिम रहेको स्वास्थ्यकर्मी बताउँछन्।

kanchanpurnaka22 

भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षण गर्दै अभिलेख राखेर घर पठाउने काम भइरहेको गौरीफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए।
‘हामीले नाकामै भारतबाट आउनेहरुको अभिलेख राखिरहेका छौँ। उहाँहरुको एन्टीजेन पनि परीक्षण भइरहेको छ’, उनले भने, ‘एन्टीजेन रिपोर्ट पोजेटिभ आए पछि तत्काल आइसोलेसनमा राखेर कोरोना परीक्षण गर्ने गरिरहेका छौँ।’

उनका अनुसार अहिलेसम्म गौरीफन्टा नाकामा एक हजार एक सय १० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

संक्रमण बढ्दै
भारतबाट फर्किनेहरु बढ्न थालेसँगै उनीहरुमा कोरोना संक्रमण पनि देखिन थालेको छ। भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनिरहेको बेला विभिन्न क्षेत्रबाट स्वदेश फर्किनेहरुमा कोरोना संक्रमण देखिन थालेकोले संक्रमित संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

kanchanpurnaka33

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय भारतबाट फर्किएका एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ हजार ११८ पुगेको छ। तीमध्ये १४ हजार संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .