ad ad

समाज


४० वर्षपछि भारतको जेलबाट छुटेर दुर्गाप्रसाद घर आइपुगेको दिन

४० वर्षपछि भारतको जेलबाट छुटेर दुर्गाप्रसाद घर आइपुगेको दिन

उजिर कार्की
चैत ८, २०७७ आइतबार १६:२४,

दुर्गाप्रसाद तिम्सिना आइनपुग्दै आइतबार उनको घरमा गाउँले र आफन्तको भीड जम्मा भइसकेको थियो। काकाका छोरा भाइ प्रकाशचन्द्र शर्मा तिम्सिनाका साथमा उनी अपराह्न घर पुगे।

४० वर्षअघि उनले छाडेका घर र गाउँ थिएनन्। तर उनीसँग त्यतिबेलाका याद भने ताजै रहेछन्। हतपत नबोल्ने दुर्गाप्रसादले निक्कै समयपछि पहिलेको घर र अहिलेको घर फरक ठाउँमा रहेको बताए।

उनले घर छाड्दा परिवारको बसाइ इलामको एकतपामा थियो। उनी हिँडेको २ वर्षपछि परिवार लुमाकमा बसाइ सर्‍याे। 

उनकी ८६ वर्षकी आमा धनमाया उनको पतीक्षामा थिइन्। दुर्गाप्रसादले आमालाई मिठाई खुवाए। वृद्ध धनमायालाई जेलको कुरा थाहा छैन। छोरो फर्किएकामा खुसी भएकी उनले अरूले भन्दा फरक नै अनुमान गरिरहेकी थिइन्।

केही समय छोरासँग बसेर आँगनमा पुगेकी धनमायाले भनिन्, ‘मान्छेले कति माया गर्दारहेछन्, मेरो छोरो जाति रहेछ। सबैले प्यारो गर्दारहेछन्।’

दुर्गाप्रसाद आएपछि उनलाई हेर्न त्यहाँ छिमेकी, आफन्तदेखि प्रहरीसम्म पुगेका थिए।

बारम्बार आग्रह गरेपछि ‘आमा’ भनेका दुर्गाप्रसाद त्यसपछि निक्कै समय बोलेनन्। धनमायाले एकतर्फी कुरा राखिरहिन्। आफैं राम्रोसँग कान सुन्न नसक्ने धनमायालाई छोरो बोल्यो बोलेन, राम्रोसँग भेउ पाइनन्।

आमा–छोरालाई भेट गराएर केही समयपछि आफन्त र गाउँले दुर्गाप्रसादसँग तस्बिर खिच्न थाले।

गाउँलेमध्ये एक युवकले सोधे, ‘तपाईंलाई किन जेलमा लगेको?’

बोलेनन् दुर्गाप्रसाद। तर प्रश्न थपिँदै गए।

‘पुलिसले कुट्यो?’

एकोहोरो हेरी मात्रै रहे उनी। जवाफै दिएनन्।

गाउँकै अलिक पाका पुरुषले भने, ‘अब के गर्नुपर्छ भने एक/दुई दिन फ्रेस हुन दिऊँ। अब एकपछि अर्को गर्दै बोल्दै जान्छ क्या !’

त्यही गाउँलेको भीडमा अर्को आवाज आयो, ‘सपना हो कि विपनाजस्तो भा’छ होला, कुन संसारबाट कुन संसारमा आ’को ।’

बिस्तारै भीड पातलिँदै गयो। दुर्गाप्रसादलाई हेर्न आउने भन्दा हेरेर फर्किने बढी हुन थाले। तर जो आउँथे, जवाफ नआए पनि दुर्गाप्रसादलाई बोलाउँथे।

दुर्गाप्रसादका भाइका छोरा गोपालले भने, ‘यत्रो वर्षपछि पनि बडाउले गाउँचैं ठ्याक्कै पत्ता लगाउनुभयो। कहाँबाट हराउनुभयो भन्दा एकतपा र अहिले कहाँ छौं भन्दा लुमाक नै भन्नुभो।’

यो परिवारमा धेरै जना बिरामी र अशक्त छन्। धनमाया वृद्ध भइसकिन्। दुर्गाप्रसादका भाइ धर्मानन्द मुटुको बिरामी हुन्। उनी पनि अहिलेसम्म पूरै ठीक भइसकेका छैनन्। बहिनी पनि मानसिक रोगी छिन्।

छिमेकी महेन्द्र ढुंगानाका अनुसार दुर्गाप्रसादको बोली बिस्तारै बढ्दै छ। आउनेबित्तिकै फिटिक्कै बोलेका थिएनन्। अहिले घरिघरि बोल्न थालेका छन्।

लामो समय जेल बसेकाले उनी कम बोल्ने भएका हुन्। मुद्दाको सुनुवाइबिनै ४० वर्षसम्म कोलकता जेलमा राखिएका दुर्गाप्रसाद शनिबार मुक्त भएका थिए। मानसिक अवस्थाको कारण देखाउँदै अदालतले उनलाई आफन्तको जिम्मामा छाडेको हो।

४० वर्ष पहिले तोरी बेच्न भनेर घरबाट हिँडेका उनी त्यतैबाट भारत गएका थिए। तर उनी दार्जिलिङमा हत्या अभियोगमा पक्राउ परे। त्यसपछि उनलाई विभिन्न जेलमा राखिए पनि परिवारलाई जानकारी भएन।

प्रकाशचन्द्रका अनुसार राधेश्याम दासले दोस्रोपटक जेल पर्दा पनि दुर्गाप्रसादलाई देख्दा उनी छक्क परेका थिए। गत असोजमा रिहा भएपछि दासले दुर्गाप्रसादका दुःख सार्वजनिक गरेका थिए।

उनले यो कुरा स्थानीय रेडियोमा सुनाएका थिए। रेडियो र क्लब हुँदै दुर्गाप्रसाद जेलमा रहेको कुरा परिवारसम्म पुग्यो। त्यसपछि दूतावास र कानुन व्यवसायीको पहलमा उनी छुटेका हुन्।

अन्ततः ४० वर्षपछि दुर्गाप्रसादले जेलबाहिरको संसार देख्न पाएका हुन्।

याे पनि :  ४० वर्षपछि आमाछोराको भेट भयो, तर बोल्दैनन् दुर्गाप्रसाद (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .