बालुवाटार जग्गा प्रकरणका एक आरोपित वरिष्ठ अधिकारी पाँच लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक (सहसचिव) अशोकनाथ उप्रेतीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले बुधबार आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, शान्तीसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उप्रेतीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो।
अदालतले माग गरेको धरौटी बुझाएर उनी बुधबार नै रिहा भएको सुरक्षा स्रोतले जनाएको छ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
ललिता निवासको जग्गा हिनामिना गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ र अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ती मध्ये ११० जनालाई भ्रष्टाचारको कसुर र ६५ जनालाई जग्गा जफत गर्ने भन्दै प्रतिवादी बनाइएको छ।
बालुवाटारको बहुमुल्य जग्गा व्यक्तिको नाममा दर्ता गराउने र बेचविखन गर्ने कार्यमा उनीहरुको संलग्नता रहेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
प्रतिक्रिया