ad ad

समाज


भागरथी हत्या प्रकरण : अनुसन्धानमा दुई टोली सक्रिय, शंकास्पद व्यक्तिमाथि निगरानी बढाइयो

भागरथी हत्या प्रकरण : अनुसन्धानमा दुई टोली सक्रिय, शंकास्पद व्यक्तिमाथि निगरानी बढाइयो

गोकुल जोशी
माघ २४, २०७७ शनिबार १३:३२,

भागरथी हत्या प्रकरणको अनुसन्धानको लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय नेतृत्वको अनुसन्धान टोली घटनास्थल बैतडी पुगेको छ।

घटनालाई गम्भीर रुपमा लिँदै सुदूरपश्चिम प्रदेश प्रहरीले जिल्लाको अनुसन्धान टोलीलाई सघाउन एसएसपी पाण्डेयको नेतृत्वमा ४ सदस्यीय छुट्टै अनुसन्धान टोली गठन गरेको थियो। जसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी पनि रहेका छन्।

शुक्रवार राति बैतडी पुगेको एसएसपी पाण्डेय नेतृत्वको अनुसन्धान टोलीले पनि घटनाको सूक्ष्म अनुसन्धान अगाडि बढाएको हो। यो टोलीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीको अनुसन्धान टिमलाई प्राविधिक पाटोमा सघाइरहेको छ।

याे पनि :  निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

डीएसपी अधिकारी र एसएसपी पाण्डेय नेतृत्वको अनुसन्धान टोली घटनाको सूक्ष्म अनुसन्धानमा सक्रिय छ। प्रहरीका अनुसार शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर सोधपुछ गर्ने काम भइरहेको छ।

‘घटनास्थलबाट उठाइएका सबुत प्रमाणहरुमाथि अनुसन्धान टोलीले गहन विश्लेषण गरिरहेका छन्’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले नेपालखबरसँग भने, ‘सन्दिग्ध बुझ्ने काम भइरहेको छ। शंकास्पदलाई ल्याउने, सोधपुछ गर्ने काम गरिरहेका छौँ।’

घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको उनले बताए। ‘घटनास्थलबाट संकलित सबुत, प्रमाणमध्ये केही त्यहीँ विश्लेषण भइरहेको छ। केही परीक्षणलाई काठमाडौँ पठाउने तयारी पनि भइरहेको छ’, एसएसपी सिंहले भने।

मृतक भागरथीसँग नजिक तथा घटनाबारे थाहा भएकाहरुमाथि निगरानी बढाइएको हो। ‘मृतकको सम्पर्कमा रहेका, अन्तिम पटक देख्ने लगायत शंकास्पद व्यक्तिहरुसँग घटनाबारे सोधपुछ भइरहेको छ’, जिप्रका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले नेपालखबरसँग भने।

प्रहरीले अनुसन्धानमा किशोरीले प्रयोग गर्ने मोबाइल पनि पछ्याइरहेको स्रोत बतायो। घटनास्थलमा भेटिएको किशोरीको मोबाइल, सिमकार्डमाथि पनि अनुसन्धान टोलीले विश्लेषण गरिरहेको छ। धनगढीबाट मगाइएको तालिमप्राप्त कुकुरले घटनास्थलबाट मोबाइल र सिमकार्ड फेला पारेको थियो।

बुधवार विद्यालय गएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्ट (भूमिका) कोे बिहीबार साँझ घर नजिकैको लबलेक सामुदायिक वनमा झाडीमा हत्या गरी फालेको अवस्थामा शव भेटिएको थियो। घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीका अनुसार युवतीको शरीरभरि नीलडाम र घाउ छन् भने कपडा पनि च्यातिएको छ। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ।

‘अहिले पोस्टमार्टम भइरहेको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाबारे केही खुल्ला’, प्रहरी निरीक्षक धामीले भने। 

याे पनि : युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

भागरथी भट्टका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .