ad ad

राजनीति


बादललाई वर्षमानको चेतावनी : चिडियाखानामा थुन्ने धम्की नदिनुस्, जनताले गल्लीमा घिसार्दा थाहा पाउनुहोला

बादललाई वर्षमानको चेतावनी : चिडियाखानामा थुन्ने धम्की नदिनुस्, जनताले गल्लीमा घिसार्दा थाहा पाउनुहोला

नेपालखबर
माघ २४, २०७७ शनिबार १३:१४,

 प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने बताएका छन्।

शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले निरंकुश शासन चलाउन खोज्ने ओली र परिवर्तनका पक्षधरलाई चिडियाखानामा थुन्छु भन्ने गृहमन्त्री थापालाई जनताले तह लगाउने बताएका हुन्।

ओली समूहले शुक्रबार राजधानीमा गरेको आमसभामा थापाले प्रचण्डलाई लक्षित गर्दै ‘मांशहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए। सरकारमा तीन वर्ष सँगै बस्दा थापाले जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै नेता पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै निन्दा गरे।

ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याउँन लागेको भन्ने अभिव्यक्ति दिएको भन्दै पुनले सबैभन्दा पहिला आफ्नो गुटले गरेका भ्रष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याएर देखाउन चुनौती दिए।

‘पार्टीका प्रवक्ता, सरकारका वरिष्ठ मन्त्रीले धुलो लागेका फाइलहरु छिट्टै टक्टक्याउँछौं भनेर धम्की दिनुभएको सुनें’, पुनले भने, ‘मित्र धुलो लागेका फाइलहरु तपाईंहरुका बढी छन्। ओम्नी काण्ड, यति काण्ड र अरु काण्डहरुका आफ्नै भ्रष्टाचार र कूकृत्यका फाइलहरु त्यहाँ छन्, धुलो टक्टक्याएर काम सुरु गर्नुस् जनताले स्वागत गर्छन्।’

सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता त्यस्ता नतर्सने उनको भनाइ थियो। विगतमा त्यस्तै धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने बताए। उनले सडकमा पञ्च¥याली शैलीमा प्रदर्शन गरेर अरुलाई धम्की दिनुको साटो जनताका पक्षमा लोकप्रिय काम गर्न सुझाब दिए।

‘केपी गुटको धम्कीले हामी डराएका छैनौं’, नेता पुनले भने, ‘ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन्। इतिहासमा कति शासकहरु लतारिए, कति मारिए हामीले धेरै देखेका छौँ। प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस्, नत्र धम्की नदिनुस्।’

एनले ओली समूहलाई राज्यको साधनश्रोत दोहन गरेर गुटका कार्यकर्ता पोस्ने काम बन्द गर्न चेतावनी दिए। आफैंले निर्वाचन घोषणा गरेको सरकारले आचार संहिताविपरीत ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्तालाई सह–सचिव सरहका सुविधा पाउने गरी भूमि आयोगको नियुक्ति दिइएकामाउनले आपत्ति जनाए। पुनले ओली समूहले व्यक्तिपिच्छे एकदेखि दुई हजार रुपैयाँ दिएर राजधानीमा मोटरसाइकल र्‍याली गरेको पनि आरोप लगाए।

‘पञ्च र ज्ञानेन्द्र शाहलेजस्तो राज्यको ढुकुटीबाट पैसा बाँडेर शासन गर्ने बाटोमा नलाग्नुसु, मति सुधार्नुस्’, पुनले भने, ‘पैसा बाँडेर सत्तामा टिकिरहन खोज्दा ठूल्ठूला तानाशाह पछारिए जसरी पछारिनुहोला।’

सत्तामा नहुनेले सडकमा प्रदर्शन र राज्यलाई खबरदारी गर्ने भन्दै पुनले ओली आफैं जुलुस लिएर हिँडेको भन्दै ब्यंग्य गरे। ‘सरकारमा बसेका ओलीले काम गर्ने हो, जुलुस गर्दै हिँड्ने होइन’, उनले भने, ‘महँगी नियन्त्रण, बलात्कारीमाथि कारबाही, राष्ट्रघाती सन्धिहरुको खारेजी, रोजगारी सिर्जना गर्नुस्। सरकारी कार्यालयमा जाँदा खुरुखुरु काम हुने वातावरण बनाउनुस्। कसैलाई गाली गर्नै पदैन, विरोधीहरु आफैं सिद्धिन्छन्।’

जनताले केपी ओलीलाई नभई नेकपालाई पाँच वर्ष सरकार चलाउन जनमत दिएको भन्दै पुनले विगतमा राजाहरुले जस्तै सार्वभौमसत्ता र राजकीय सत्ता आफैंमा निहीत रहेको दाबीसहित असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताए। पाँच वर्ष सरकार चलाउन नसक्ने ओलीको अक्षमताको शिकार संविधान र लोकतन्त्र हुन नसक्ने उनको भनाइ थियो।

‘पार्टीले पाँच वर्ष प्रधानमन्त्री चलाउन दिँदा केपी ओली अयोग्य भएर मैदानबाट भाग्नुभएको छ’, पुनले भने, ‘अप्ठेराहरुलाई मिलाउन सक्ने, फरक मतहरुलाई सँगै लिएर जान सक्ने मान्छे नेता हुन्छ। अप्ठ्यारो आएपछि भागेर हिँड्ने, आफ्नो घर आफैं आगो लगाएर हिँड्ने मान्छे नेता हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .