ad ad

समाज


बढ्यो मनसुनी गतिविधि, तीन दिनसम्म भारी वर्षाकाे सम्भावना

बढ्यो मनसुनी गतिविधि, तीन दिनसम्म भारी वर्षाकाे सम्भावना

नेपालखबर
साउन २०, २०७६ सोमबार १:२७,

मनसुन पुनः सक्रिय भएर आइतबार रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

विशेषगरी पश्चिम र पूर्वका तराई तथा पहाडी क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

‘पश्चिमी तथा पूर्वी तराईका केही स्थानमा भारी वर्षा पनि भएको हुनुपर्छ,’ पौडेलले नेपालखबरसँग भने, ‘पहाडी भेगमा पनि पानी परिरहेको छ।’

मौमस पूर्वानुमान महाशाखाले सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– देशको केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ पर्ने तथा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार आइतबार रातिदेखि मनसुन सक्रिय भएकाले देशभर मौसमी गतिविधि बढेको हाे। आज (सोमबार) पनि वर्षा जारी रहने सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

‘खासगरी पश्चिम र पूर्वका तराई क्षेत्रमा बढी वर्षा हुने देखिन्छ,’ उनले भने, ‘साथै यी क्षेत्रका पहाडी भेगमा पनि आज वर्षा जारी रहने सम्भावना छ।’

पहाडी भेगमा पहिरो जाने तथा चुेर क्षेत्रबाट बहने खोलानालाको बहाव बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन वरिष्ठ माैसमविद् पाैडेलकाे सुझाव छ।

यसैगरी काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ। आज पनि यो क्रम जारी रहने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ।

उनका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा आफ्नो स्थानबाट केही उत्तर नेपालतर्फ सरेको छ। यसले मनसुन पुनः सक्रिय भएको उनको भनाइ छ।

‘पूर्वतिर चाहिँ स्थानीय न्यून चापीय प्रणाली पनि विकास भएको छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘त्यतातिर त्यसले पनि वर्षा गराएको हो, साथै न्यून चापीय रेखाको प्रभाव पनि परेको हो।’

उनका अनुसार दिउँसो २/३ बजे केहीबेर वर्षा रोकिने सम्भावना छ। ‘अहिले खासगरी राति र बिहान उठ्नेबित्तिकै पानी पर्ने क्रम चलिरहेको छ,’ उनले भने।

हेरौं मौसम पूर्वानुमान महाशाखाको बुलेटिन पनि :

मौसम विश्लेषण
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर(नेपाल) तर्फ सरेको छ।
देशभर समग्र मौसमको अवस्था
हाल देशभर सामान्यदेखि पूर्णसम्म बदली छ। तराईका धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षा भैरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २० गते सोमबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थामा भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभर सामान्य बदली रही पश्चिमि भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

श्रावण २१ गते मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा वर्षा हुनेछ।
राति : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही धेरै स्थानमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

श्रावण २२ गते बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही धेरै स्थानमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .