ad ad

समाज


दुई महिनाकी गर्भवती थिइन् सुदीक्षा, उमेशले अस्पतालमा लिंग जँचाएका थिए

दुई महिनाकी गर्भवती थिइन् सुदीक्षा, उमेशले अस्पतालमा लिंग जँचाएका थिए

उजिर कार्की
पुस २७, २०७७ सोमबार १३:६,

टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा ज्यान गएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको शव फेला परेको थियो। उमेश ओछ्यानमा थिए भने सुदीक्षा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

यो हत्या–आत्महत्याको घटनामा नयाँनयाँ रहस्य बाहिरिने क्रम जारी छ।

उमेशको मृत्यु बुधबार राति भएपनि सुदीक्षाले बिहीबार साँझतिर मात्रै आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

प्रहरीलाई प्राप्त उमेशको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा ‘ब्लन्ट फोर्स इन्जुरी टु द हेड’ उल्लेख छ।

‘उमेशको सुतैकै ठाउँमा सिलौटाले कन्चटमा प्रहार गरेर हत्या गरेको देखिन्छ,’ एक प्रहरी अधिकारीले नेपालखबरसँग भने।

उनका अनुसार उमेशको शव फेला परेको स्थानमा लडाइँ भएको कुनै चिह्न भेटिँदैन। सिलौटामा भेटिएको कपाल, रगत लगायत अन्य प्रमाण फोरेन्सिक जाँचका लागि पठाइएको प्रहरीले जनाएको छ।

उमेश मृत भेटिएको बेडमै रगत लत्पतिएको सिलौटो पनि फेला परेको थियो। तर लोहोरो भने भान्साको धारानजिकै फेला परेको थियो।

Tokha Murder3

पतिको हत्यापछि फोनमा कुराकानी
उमेशको बुधबार राति नै मृत्यु भएको देखिए पनि सुदीक्षाले भने बिहीबार दिउँसोसम्म पनि विभिन्न व्यक्तिसँग फोनमा कुरा गरेको पाइएको छ। उनले अन्तिम फोन बिहीबार दिउँसो साढे ३ बजे दिदी शर्मिला गिरीसँग गरेको पाइएको छ।

शर्मिलाले नै सुदीक्षालाई कल गरेकी थिइन्। जसमा उनीहरुको ३७ मिनेट कुरा भएको छ। त्यसअघि सुदीक्षाले दिदीलाई कल गरेकी थिइन्।

कल रिपोर्ट अनुसार सुदीक्षाले बिहीबार अपरान्हतिर आत्महत्या गरेको अनुमान गरिएको छ।

‘साढे ३ बजेपछि दिदीसँग ३७ मिनेट कुरा गरेकी सुदीक्षाको त्यसपछि कल रिसिभ भएको छैन,’ अनुसन्धान अधिकृतले भने।

सुदीक्षाको मृत्युको कारण भने ‘झुण्डिएर’ देखिएको छ। शवको प्रकृति हेर्दा पनि त्यो कुरा पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन्।

Tokha Murder2

गर्भवती थिइन् सुदीक्षा  
पोस्टमार्टम रिपोर्टअनुसार सुदीक्षा २ महिनाको गर्भवती थिइन्। यही विषयमा उनीहरुको झगडा सुरु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। जसलाई पुष्टि गर्ने केही आधार समेत फेला परिसकेको प्रहरीको भनाइ छ।

‘सुदीक्षाको गर्भ कसको भन्ने विषयमा उनीहरुको बीचमा झगडा भएको हुनसक्छ, किनभने उमेशले आफ्नो यौनांग ग्रान्डी अस्पतालमा परीक्षण गराएको देखिन्छ,’ स्रोतले भन्यो, ‘अस्पतालको रिपोर्टले उमेशको यौनांगले राम्रोसँग काम नगर्ने आशंका गरेको छ।’

तर, यसैका आधारमा उक्त गर्भ उमेशको थिएन भन्ने अवस्था नभएको स्रोतहरूको भनाइ छ। उमेशका दाजु हिमेशले उमेश ग्रान्डीपछि ललितपुरको बीएन्डबी अस्पताल गएको बताए।

२१ गते मंगलबार बानेश्वरमा उमेश र हिमेशको भेट भएको थियो। त्यसबेला उमेशले बीएन्डबीमा डाक्टरसँग समय लिएको बताउँदै बाहिरिएको हिमेशले बताए। दाजुसँग उमेशले होलबडी परीक्षण गराउने बताएका थिए।

उमेश जनवरी १४ मा अमेरिका फर्किने तयारीमा थिए। विद्यार्थी भिसामा अमेरिका गएका उमेश पछिल्लो समय इटालियन खानाको रेस्टुरेन्ट सञ्चालन गर्थे। उनले ग्रिनकार्ड पनि पाइसकेका थिए।

परिवारसँग भने उमेशले अब प्रक्रिया पुरा गरेर सुदीक्षालाई पनि अमेरिका लैजाने बताएका थिए।

सन् २०१४ मा उमेश र सुदीक्षाबीच प्रेम विवाह भएको थियो। उनीहरुको विवाहमा दुवैतर्फका परिवार सहभागी थिएनन्। हिमेशले नेपालखबरलाई बताएअनुसार उमेशका साथीभाइबीच उनीहरुले मन्दिरमा विवाह गरेका थिए।

परिवारका तर्फबाट विवाहमा उमेशका दाइ हिमेश र सुदीक्षाकी दिदी शर्मिला मात्रै सहभागी थिए। उमेशले पछि मात्रै सुदीक्षालाई परिवारमा ल्याएका थिए। अहिले पनि चाडपर्वका बेला मात्रै उनी उमेशको घर जान्थिन्।

उमेश दशैंको अष्टमीका दिन नेपाल फर्किएका थिए। त्यसअघिसम्म दिदीसँग बस्दै आएकी सुदीक्षा उमेश फर्किएपछि भिल्लामा कोठा भाडामा लिएर बस्न थालेकी हुन्। दुई वर्षपहिले पनि उमेश नेपाल आएका थिए।

घटना भएको दिन उमेश साँझ झोँछेमा साथीभाइसँग बसेका थिए। उनी निराश मुद्रामा देखिएका साथीभाइ तथा परिवारका सदस्यले बताएका छन्। उनी चाँडै कोठा फर्केका थिए।

घटना भएको बेलुका उनीहरुले चाउचाउ मात्रै खाएको पाइएको छ।

हत्यामा तेस्रो व्यक्ति सहभागी भएको हुनसक्ने आशंका उमेशको परिवारको छ। शर्मिलाले थाहा पाएर पनि लामो समय घटनाबारे आफूहरुलाई जानकारी नगराएको उनीहरुको गुनासो छ।

प्रहरीले शर्मिलासँग पनि सोधपुछ गरिरहेको छ। उनले शुक्रबार बिहानै हत्याबारे थाहा पाए पनि प्रहरीलाई भने बेलुका मात्रै खबर पुगेको थियो।

यता उमेशका परिवारले भने शव उठाइसकेपछि मात्रै घटनाको जानकारी पाएको गुनासो गरेका छन्।

‘घटनाबारे कुनै रहस्य बाँकी भए फरेन्सिक रिपोर्ट र अन्य अनुसन्धानबाट पुष्टि हुन्छ,’ प्रहरी अधिकारीले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .