ad ad

समाज


गृहका दुई चरित्रः नेपाल प्रहरीमा दरबन्दी थप्ने, सशस्त्रमा खाली राख्ने

गृहका दुई चरित्रः नेपाल प्रहरीमा दरबन्दी थप्ने, सशस्त्रमा खाली राख्ने

उजिर कार्की
पुस १९, २०७७ आइतबार १६:२०,

केही दिनपहिले गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा समितिले सशस्त्र प्रहरीका ६ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरीमा रिक्त डीआईजीको दरबन्दी ७ जना भएपनि ६ जनालाई मात्र बढुवा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरीले १० हजार दरबन्दी थप गर्न माग गरेको छ। तर, सरकारले भएकै दरबन्दी पूर्ति गर्न पनि ध्यान दिएको छैन।

उनै गृहसचिव न्यौपाने नेतृत्वको बढुवा समितिले त्यसअघि नेपाल प्रहरीमा भावी नेतृत्वमा एकल दाबेदार रहने भएपनि डीआईजी विश्वराज पोख्रेललाई एआईजीमा बढुवा ग¥यो। एक त नेपाल प्रहरीमा एआईजीको दरबन्दी नै थिएन। दरबन्दी सिर्जना गरियो, र डेढ वर्षपछि नेतृत्व सुम्पिने गरी पोख्रेललाई अगाडि बढाइयो।

पोख्रेलका ब्याची केही डीआईजीले तत्काल बढुवा रिक्त राख्न जोडबल गरे। त्यो सम्भव नभए अर्को पनि दरबन्दी थप गर्न र आईजीपीमा प्रतिस्पर्धाको बाटो कायम राख्न पनि लबिङ गरे।

त्यसको कुनै सुनुवाइ भएन। द्रूतगतिमा एआईजी बढुवा गरियो। र, नेपाल प्रहरीको आगामी आईजीपी पोख्रेल नै हुने निश्चित बनाइयो।

सुरक्षा संगठनमा वरियता मात्रै हेरिँदैन, क्षमता पनि हेरिन्छ भन्ने एकाथरीको तर्क छ। नेपाल प्रहरीमा यही तर्क हाबी हुँदा केही प्रहरी अगाडि लागेका छन्। नेपाल प्रहरीका आईजीपी शैलेश थापाकै केही ब्याची अझै एसपी नै छन्। तर उनीभन्दा पछाडिको ब्याच एआईजीमा पुगिसक्यो।

नेपाल प्रहरीमा आईजीपीका दाबेदार नै एक मात्र हुने गरी बढुवा गर्न तयार सरकारले केही दिनपछि भएको सशस्त्र प्रहरीको बढुवामा भने दरबन्दी नै खाली राखेको छ।

६ डीआईजीका लागि एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी सिफारिस भएका छन्।

‘सशस्त्रमा सातौं कोटामा बढुवा हुने डीआईजी आफ्नो ब्याचबाट आईजीपी बन्ने सुनिश्चित जस्तै हुन्थ्यो, त्यही भएर अहिले रोकेर चैतमा बढुवा गर्ने तयारी भएको हो,’ सशस्त्रका एक उच्च अधिकारीले भने।

त्यसो त आईजीपीलाई असर नै नगर्ने प्रतिस्पर्धी एसएसपी नभएका पनि होइनन्। सशस्त्र प्रहरीको २०७५ मा एसएसपी भएका अधिकृत पनि छन्। तर उनीहरु पनि केही दिनपछि अवकाशमा जाने भएकाले उनीहरुलाई जाने बेलामा फुली लाइदिने निर्णय सरकारले गरेन।

कालिदास धौबजी र कुमार न्यौपाने डीआईजीका बलिया दाबेदार हुन्। उनीहरु २०७५ पुसमा सँगै एसएसपी भएका हुन्। बाँकी गत वैशाखमा एसएसपी भएकाहरु हुन्।

एसएसपीहरु इन्द्रराज कार्की, प्रेमराज पोख्रेललगायत यही पुसमा अवकाश हुँदैछन्।

सोही ब्याचका बाँकी एसएसपी आगामी चैतमा दुईभन्दा बढी दरबन्दी रिक्त भए डीआईजी हुने छन्। आगामी चैतमा ५ जना डीआईजीको दरबन्दी रिक्त हुनेछ। तर सरकारले उनीहरुको एक वर्ष कार्यकाल थप गर्न सक्छ। कार्यकाल थप गरिएन भने धौवजी र न्यौपानेसँगै पछिल्लो ब्याचबाट अरु तीन डीआईजी हुनेछन्। यो ब्याच नेतृत्वसम्म पुग्ने ब्याच हो। यही ब्याचका कारण सरकारले एसएसपीको दरबन्दी रिक्त राखेको सशस्त्रका उच्च अधिकारी बताउँछन्।

एक जुनियर एसएसपीले भने, ‘हाम्रो डीआईजी हुने समय नै भएको छैन, एसएसपीले गर्नु पर्ने धेरै तालिम बाँकी छ। तर आउँदो चैतमा रिक्त भएमा हामीलाई सरकारले बढुवा गर्न सक्छ।’

एसएसपी विदुर खड्का, भेषबहादुर साहलगायतको ब्याच पनि डीआईजीको दाबेदार हो।

यही व्यवस्था कायम रहे २ डीआईजी माघमा अवकाश हुनेछन् भने चैतमा दुई एआईजी रिक्त भएपछि बाँकी दुई डीआईजी एआईजीमा बढुवा हुनेछन्। एआईजी दाबेदारमा प्रवीण श्रेष्ठ, राजु अर्याल लगायत छन्। यो ब्याच २०७८ चैत २९ गते नेतृत्वमा पुग्नेछ। त्यसपछि नेतृत्वमा कमल गिरी, गणेश ठाडा मगरको ब्याचको दाबी हुनेछ।

बाँकी डीआईजी ३० वर्षे सेवाअवधिका कारण अवकाश हुनेछन्। सरकारले एक वर्ष अवधि थप गरेमा भने दुई डीआईजी मात्रै चैतमा बढुवा हुने सशस्त्र प्रहरी श्रोत बताउँछ। त्यो अवस्थामा २०७५ पुस २० गते एसएसपीमा बढुवा भएका कालिदास धौवजी र कुमार न्यौपाने मात्रै डीआईजी बन्ने छन्।

यस्तै आगामी पुस अन्तिममा एआईजी नारायणबाबु थापा अवकाश हुँदैछन्। उनको अवकाश सँगै एउटा एआईजीको दरबन्दी कटौती गर्ने सरकारले निर्णय गरिसकेको छ।

अन्य दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेलको कार्यकाल भने आगामी चैतसम्म कायम रहनेछ। त्यसपछि सशस्त्र प्रहरीमा दुई जना मात्रै एआईजी कायम रहनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .