ad ad

समाज


कलंकी दुर्घटनाः यसरी गयो ३ जनाको ज्यान, भाग्यले बाँचे ट्याक्सीचालक

कलंकी दुर्घटनाः यसरी गयो ३ जनाको ज्यान, भाग्यले बाँचे ट्याक्सीचालक

उजिर कार्की
पुस १, २०७७ बुधबार १०:३०,

सोमबार बिहान काठमाडौं ढुंगेअड्डास्थित कालिका पेट्रोल पम्पपछाडि सडकमा कच्याककुचुक भएको ट्याक्सी क्रेनले उचाल्दै थियो। एक जना अधवैँशे पुरुष ट्याक्सीका टुक्राटुक्री उठाएर क्रेनको पछाडि लोड गर्दै थिए।

क्रेनले उचाल्दै गर्दा ट्याक्सीका पाटपुर्जा भुइँमा खस्न थाले। त्यतिबेलै उनको उनको मोबाइलको घण्टी बज्यो। फोन उठाएर उनी भन्न थाले, ‘गाडी सबै ध्वस्त भयो, म ट्वाइलेट गा’कोले बाँचेँ।’

बा २ ज २०४० नम्बरको ट्याक्सी चालक गंगाराम थापा आफ्नो गाडीको हालत त्यस्तो हुँदा पनि बाँच्न सफल भए। भाग्यवश दुर्घटनाको बेला उनी शौचालय गएका थिए।

गत शुक्रबार साँझ हेटौंडाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको प्रदेश नं २–०३–००१ ख १४२० नम्बरको ट्रकले ढुंगेअड्डाबाट एक्कासि बाटो मोड्दा तीन जनाको ज्यान लियो। आउनु पर्ने कलंकीतर्फ, तर ट्रक लाग्यो पेट्रोल पम्पपछाडिको थापागाउँ जाने भित्री सडकतर्फ।

ट्रकले सडकमा रोकिएका गाडीहरुलाई ठक्कर दिन थाल्यो। गंगारामको ट्क्यासी पनि त्यही ट्रकले किचेको थियो।

उनको ट्याक्सीलाई ठक्कर दिएर पनि ट्रक रोकिएन। अरु मोटरसाइकल, स्कुटी र गाडीलाई पनि ठक्कर दिँदै १५ मिटर अगाडि रहेको वीरेन्द्र रञ्जीतको घरको पेटीमा पुग्यो। ट्रकको ठक्करबाट रञ्जीतको घरको सिँढी नै भत्किएको छ।

राजकुमार घलेको खाजा घरमा समेत क्षति पुग्यो। दुर्घटनाका प्रत्यक्षदर्शी वीरेन्द्र रञ्जीतकी श्रीमतीले भनिन्, ‘हामीलाई त सुरुमा भूकम्प आएजस्तो भो। पूरै घर हल्लियो, धुवाँधुलोले केहीपनि देखिएन। पछि मान्छेहरु चिच्याउन थाले। म पनि बालबच्चाभएको ठाउँमा पुगें।’

ट्रक डिलमाथिबाट सिँढी भत्काएर घरमा ढेस्सिन आइपुगेको थियो। अगाडिको खाजा घरमा मनिसहरु चिया खाँदै थिए। सक्नेजति भागे। शारीरिक रुपमा अशक्त शंकर दमाइ भने भाग्न सकेनन्। ट्रकको ठक्करबाट त्यहीँ उनको ज्यान गयो।

एक वर्ष पहिलेसम्म सहचालकको काम गर्ने शंकरको दुर्घटनामा खुट्टो गुमेको थियो।। त्यसपछि उनको बास सडक नै बनेको थियो। ओखलढुंगाका ३० वर्षीय शंकर एक वर्षदेखि मागेर ज्यान पालिरहेका थिए।

131093891_220688116365638_5284378360447352035_n.jpg

धादिङ थाक्रेका राजु पौडेल पनि त्यही दुर्घटनामा मारिए। आफन्तको बिहेमा गएर आएका शंकरको घरमा बिजुलीको चिम बिग्रिएको थियो। घरबाट उनी चिम किन्न जान्छु भनेर विवाहमा जाँदा लगाएको कपडा समेत नफेरी निस्केका थिए।

ट्रक आएपछि सिँढीतर्फ भागेका उनी त्यहाँपनि जोगिन सकेनन्। दुर्घटनामा उनी मारिएको आफन्तले भोलिपल्ट मात्रै थाहा पाए।

थाक्रे गाउँपालिका ७ का ४० वर्षीय राजुको शव भोलिपल्ट ट्रकमुनि भेटियो। उनी चन्द्रागिरि नगरपालिका १५ मा मनोज स्टाफ होटल सञ्चालन गर्थे।

दिनभर घरको रंगरोगन गरेर फर्किंदै गरेका सप्तरीका रञ्जीत चौधरी पनि त्यहीँ मारिए। ट्रकको ठक्करबाट घाइते भएका रञ्जीतलाई तत्काल उद्धार गरेर सहिद मेमोरियल अस्पताल लगिएको थियो। तर शनिबार बिहान उनको मृत्यु भयो।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकीका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्कीकी सन्ध्या थिङ छन्। उनीहरुको उपचार भइरहेको छ।

प्रत्यक्षदर्शी भन्छन्: चालकले ठूलो दुर्घटना छले
कलंकीतर्फ जाम थियो। पेट्रोल पम्पनजिकै ठूला बसले यात्रु ओराल्दै थिए। त्यही ओरालोमा ट्रक हुरिएर आयो। चालकले प्रारम्भिक बयानमा प्रहरीलाई भनेका छन्, ‘ब्रेक लाग्दै लागेन, त्यसपछि बायाँतर्फको भित्री सडकमा गाडी मोडेँ।’

kalanki_accident_37.jpg

प्रत्यक्षदर्शी भन्छन्, ‘यदि त्यो गाडी मुख्य सडकतर्फ यसैगरी गएको भए दर्जनौँ मान्छेको ज्यान लिन्थ्यो। चालकले बुद्धि पुर्‍याएर गाडी बायाँतर्फ मोड्दा कम क्षति भयो।’

प्रहरीले ट्रक दुर्घटनाको कारणबारे प्राविधिक जाँच भइरहेको बताएको छ।

‘प्रारम्भिक रुपमा ब्रेकफेल भनिएको छ, घटनास्थल हेर्दा त्यस्तै देखिन्छ,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश बिष्ट भन्छन्, ‘वास्तविकता के हो भन्ने अनुसन्धानपछि निर्क्यौल हुन्छ।’

दुर्घटनामा सामान्य घाइते भएका चालक रामबहादुर रखल मगर अहिले कालिमाटी प्रहरी वृत्तको नियन्त्रणमा छन्। ट्रकको ठक्करबाट दुई वटा मोटरसाइकल, एउटा स्कुटर, एउटा ट्याक्सी, एउटा पिकअपभ्यान र एउटा बसमा क्षतिपुगेको छ।

७ वटा गाडीमा क्षतिपुगेको उक्त दुर्घटनामा मारिएका तीनै जना पैदल यात्रु हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .