ad ad

समाज


वडाध्यक्षलाई बाइपास गरेर वडा कार्यालय शिलन्यास

वडाध्यक्षलाई बाइपास गरेर वडा कार्यालय शिलन्यास

गोकुल जोशी
मंसिर ३०, २०७७ मंगलबार १५:५३,

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ कार्यालयको भवन वडाध्यक्षसँगको समन्वयबिनै निर्माण हुन थालेको छ। वडाध्यक्ष लालबहादुर शाहीलाई ‘बाइपास’ गर्दै नगरपालिकाले मंगलवार वडा कार्यालय भवन शिलन्यास गरेको छ।

भीनपा–१३ साझा चौराहमा आयोजित वडा कार्यालयको शिलन्यास कार्यक्रममा मंगलवार वडाध्यक्ष शाही उपस्थित भएनन्। वडा कार्यालय शिलान्यास बारे आफूलाई कुनै जानकारी नआएकाले कार्यक्रममा उपस्थित नभएको वडाध्यक्ष शाहीले बताए।

‘वडा कार्यालय शिलन्यास र प्राविधिक पठाउँदा नगरपालिकाले वडासँग समन्वय गरेन। हामीसँग समन्वय नै नगरी भवनको शिलन्यास भएको छ’ उनले भने, ‘स्थानीय तहकै एक अंगसँग समन्वय नगरी भवन निर्माण गरिनु विधि अनुरुप छैन।’

साझा चौराहामा निर्माण हुन लागेको भवन स्थानीय तहको भवन मापदण्ड विपरित रहेको उनको दाबी छ। ‘वडासँग समन्वय नगरी अवैध तरिकाले भवन निर्माण भइरहेको छ। मापदण्ड अनुसार नै छैन। त्यहाँ जमिन सानो छ। भवन निर्माण भइसकेपछि पार्किङको स्थान नै छैन’ उनले भने, ‘भवन बनाउँदा त वर्षौंसम्मका लागि बनाउनु प-यो नि!’

कार्यपालिका बैठक अवरुद्ध
भीमदत्त नगरपालिका–१३ को भवन निर्माणमा ‘नगरपालिकाले वडा कार्यालयसँग समन्वय नै नगरी मनोमानी’ रुपमा प्रक्रिया थालेपछि विवाद चर्किएको छ। यो विवादका कारण मंगलवार बसेको भीनपाको ५३ औँ कार्यपालिका बैठक अवरुद्ध समेत भएको छ। बैठकमा कार्यपालिका सदस्य तथा भीनपा–१३ का वडाध्यक्ष शाहीले यो बिषयमा प्रश्न उठाएका छन्।

२ बजे सुरु हुनुपर्ने बैठक वडा कार्यालय निर्माणमा समन्वय नगरेको लगायतका बिषयमा असहमती जनाउँदै वडाध्यक्ष शाहीले अवरुद्ध पारेका थिए।

‘वडा कार्यालय निर्माण हुँदा वडाध्यक्ष लगायत कुनै पनि जनप्रतिनिधिलाई जानकारी छैन। यो विधिसम्मत भएन भनेर बैठकमा कुरा उठाएको छु’ वडाध्यक्ष शाहीले भने।

समितिबाट राजीनामा
नगरपालिकामा विधि अनुसार काम नभइरहेको भन्दै वडाध्यक्ष शाहीले आफू आवद्ध नगरका दुई समितिबाट राजीनामा दिएका छन्। उनी साधन परिचालन समिति र विधेयक समितिमा सदस्य रहेका छन्। मंगलवारको कार्यपालिका बैठकमा दुवै समितिबाट राजीनामा दिएको वडाध्यक्ष शाहीले जानकारी दिए।

भीनपाले भन्योः काम रोकिन्छ
उता भीमदत्त नगरपालिकाले वडा कार्यालयको भवन शिलन्यास भएपनि तत्काल काम अगाडि नबढ्ने जनाएको छ। वडा समिति, सरोकारवाला निकाय तथा जिम्मेवार पक्ष बसेर कार्यालयको स्थान लगायतका विषयमा छलफल गर्ने कार्यपालिका बैठकमा सहमति भएकाले अहिले काम अगाडि नबढ्ने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए।

‘शिलन्यासका लागि नगर पालिकाकातर्फबाट जिम्मेवार व्यक्ति कोही गएका छैनन्। यो विषयले कार्यपालिका बैठक पनि अवरुद्ध भएको थियो’ उनले भने, ‘वडाका जिम्मेवार मानिस बसेर छलफल गर्ने सहमति भएको छ। काम अहिले सुरु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .