दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि ११ लाख ८५ हजार रुपैयाँ सहयोग जुटेको छ।
सामाजिक अभियन्ता कृष्ण घोताने गुरुङले फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो। देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहेका व्यवसायी घोतानेले बताए।
‘कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्छु,’ उनले भने।
विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा डायलासिस भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको भन्दै विभिन्न अनलाइन मिडियामा समाचार प्रकाशन प्रसारण भएका थिए।
सोही समाचार पढेर पीडितका लागि आफूले केही पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग सङ्कलनका लागि अभियान चलाएको घोतानेले बताए। पीडितको उपचारका लागि सङ्कलित रकम शनिबार भरतपुरमा रहेको तीनखोले गुम्बामा एक औपचारिक कार्यक्रम गरी पीडितलाई हस्तान्तरण गरिएको छ। रासस
Shares
प्रतिक्रिया