बेलायतवासी चलचित्रकर्मी ध्रुव दत्तद्वारा अभिनित लघु चलचित्र ‘शून्य’ सार्वजनिक भएको छ।
डीडी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र भिजन ‘संसार प्लस’को युटुब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो।
कृष्णबहादुर लाम्गादेको लगानीमा निर्माण भएको करिब ९ मिनेट लामो चलचित्रमा एकल नायक ध्रुव दत्तले अभिनय गरेका छन्। गोपी सापकोटाको कथामा बेलायतमै एकदिन लगाएर सन्तकुमार राईले छायांकन गरेको उक्त चलचित्रको सम्पादन तथा निर्देशन सनमकुमार बैरागले गरेका हुन्।
अङ्ग्रेजी सबटाइटलसमेत रहेको चलचित्रमा ज्ञानेन्द्र रावत, शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैरागलगायतले साथ दिएका छन्।
अहिले कोरोना महामारीका कारण भइरहेका सत्य घटनालाई चलचित्रमा कारुणिक तथा मार्मिक किसिमले देखाइएको छ।
चलचित्रमा नायकले आफ्नी आमा गुमाउँदासमेत लकडाउनका कारण नेपाल जान नसक्दा किंकर्तव्यविमूढ भई दिमाग नै ‘शून्य’ भएको अवस्थालाई चलचित्रमा प्रस्तुत गरिएको छ।
‘वर्तमान कोरोना महामाीका कारण यस्ता घटना जो कोहीलाई पर्न सक्छ, यो त एक प्रतिनिधि पात्र मात्र हो, अझ प्रवासमा बसिरहेकाहरूले नेपालमा आफ्नो परिवारजन गुमाउँदाको पीडा र छटपटीले कसरी भावविह्वल बनाइदिन्छ भन्ने कुरा चलचित्रमार्फत उजागर गर्ने प्रयत्न गरेका छौं,’ कलाकार ध्रुव दत्तले नेपालखबरसँग भने।
उनी करिब १ दशकअघि हङकङबाट बेलायत बसाइँ सरेका हुन। उनले तीन घुम्ती, वीरताको चिनो, उल्झन, आवेगजस्ता करिब डेढ दर्जन फिचर्स फिल्म तथा करिब दर्जन नै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।
प्रतिक्रिया